site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बदलाभावविनै बदला पूरा गरेको जनकपुर 

काठमाडौं । प्रश्न थियो, ‘तपाईंले यसअघि प्रि-म्याच प्रेस मिटमा फाइनलमा बदलाको सोच छैन भन्नुभएको थियो । तर, आजको जितले बदलाजस्तै देखाउँछ । यसबारे के भन्नुहुन्छ तपाईं ? जवाफमा आसिफले भने “बदला लिएको हैन । मैले हिजो पनि भनेको थिएँ, राम्रो र स्तरीय क्रिकेट खेल्छौँ । बदला लिएजस्तो कुनै पनि विचार छैन हाम्रो ।”

माथिको यो सवाल–जवाफ हो, शनिबार नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली जनकपुर बोल्ट्सका कप्तान आसिफ सेख र खेलकुद पत्रकारबीचको ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भरिभराउ समर्थकमाझ भएको फाइनलमा पहिलो संस्करणमै चिर–प्रतिद्वन्द्वी बनेको सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच विकेटको जित निकाल्दै जनकपुर बोल्ट्स उपाधिको हकदार बन्यो । 

खेलमा टस जितेर ब्याटिङको गर्ने कप्तान दीपेन्द्रसिंह ऐरीको निर्णय सुदूरपश्चिमका निम्ति पहिलो इनिङमा सही सावित बन्यो ।

सुदूरपश्चिम पहिलो पावर प्लेमा ४८, १० ओभरमा ९७ र २० ओभरमा १८४ रनको विशाल योगफलसम्म पुगेको थियो । जसमा प्रमुख भूमिका निर्भाह गरे, ओपनिङ जोडी विनोद भण्डारी र सैब जैबले । यी दुईले पहिलो विकेटका निम्ति १२ ओभरमा ११७ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । 

तर, दोस्रो इनिङमा लहिरु मिलान्था चम्किएपछि जनकपुरले यो लक्ष्य चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो । 

फाइनलमा सुदूरपश्चिमको जस्तो सुरुआत थियो, जनकपुरले उस्तै जवाफ फर्कायो । टिमलाई उत्कृष्ट सुरुआत दिलाएका आसिफ र मिलान्थाको ओपनिङ जोडीको साझेदारी तोडिँदा जनकपुरले सात ओभरमा ७३ रन जोडिसकेको थियो । पहिलो विकेटको रूपमा ओपनर तथा कप्तान आसिफलाई गुमाए पनि जनकपुरका ब्याटरले यो आक्रामक शैलीमा कुनै परिवर्तन गरेनन् । यसैकारण जनकपुरलाई खेल अन्तिम ओभरमा पुग्दा जितका निम्ति तीन रनको मात्रै आवश्यकता थियो । जसलाई अविजित रहेका हर्ष थाकेर र मयन यादवले पहिलो दुई बलमै पूरा गरे ।

बदला नलिई बदला पूरा 

मयनले २०औँ ओभरको दोस्रो बलमा दुई रन लिएपछि डगआउटमा रहेका आकाश त्रिपाठी, हेमन्त धामी र शेर मल्ल खुसीसाथ दौडिँदै मैदान आउँछन् र सुदूरपश्चिमका विकेटकिपर विनोद भण्डारीनजिकै रहेका तीनवटै ‘स्टम्प’ उखाल्छन् । एक हातमा ब्यान्डेज लगाएका जनकपुरका नियमित कप्तान अनिल साह पनि यो खुसीको माहोलमा सामेल हुन पछि पर्दैनन् । उनी मैदानमा आउँछन् र आफ्ना खेलाडीसँग खुसियाली साट्छन् । 

यो जित जनकपुरका खेलाडी र समर्थक दुवैका निम्ति निककै विशेष छ । कारण, सुदूरपश्चिम त्यही टिम हो, जसले जनकपुरलाई प्रतियोगितामा यसअघि दुईपटक निराश बनाएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध प्रभावशाली जित निकालेको थियो । प्रतियोगिताको लिग चरणमा सुदूरपश्चिमले ७२ रनको र पहिलो क्वालिफायरमा आठ विकेटको जित निकालेको थियो । 

यसअघि दुईपटक निराश बनाएको टिमलाई फाइनलमा पराजयको स्वाद चखाउनुजस्तो ‘सटिक’ बदलाले दिएको खुसी जनकपुरका समर्थकका लागि सायदै अरू केहीले देला । जनकपुरको यो जित अंग्रेजीको एक उखान ‘भिक्ट्री इज स्विट बट रिभेन्ज इज स्विटर’लाई दुरुस्त चरितार्थ गरेको छ ।

तर, जितपछि जनकपुरका कप्तान आसिफ सेखले भने यो जितलाई बदला भन्न चाहेनन् । 

“यो बदला हैन । हिजो पनि स्तरीय क्रिकेट खेल्छौँ भनेका थियौँ । त्यो आज सबै पूरा भयो । बलिङमा बलरहरूले राम्रो गरे । यसअघि ब्याटिङमा शीर्ष क्रम चलेको थिएन । आज त्यो पनि राम्रो भयो । खुसी लाग्यो,” आसिफले भने । 

सपना देखिरहेका मधेशका युवा अवसर 

जनकपुर प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गरेको थियो । आठ जिल्ला समावेश मधेशमा चुरे क्षेत्रमा बलियो क्रिकेटको क्रेज पाइँदैन । तर, यी आठै जिल्लाका दक्षिणतर्फका अधिकांश भेगमा क्रिकेटप्रति बलियो लगाव पाइन्छ । तराईका देहात (अविकसित ग्रामीण क्षेत्र)का युवाहरू क्रिकेटप्रति गहिरो रुचि राख्छन् । जनकपुरले जितेको यो उपाधिले क्रिकेटमा भविष्य बुनिरहेका सबै युवाहरूलाई अवसर खोज्ने बाटो दिएको बताउँछन्, आसिफ ।

“मधेसको त्यो (देहात) क्षेत्रमा क्रिकेट कल्चर धेरै राम्रो रहेका पाइन्छ । त्यहाँका बच्चाहरू क्रिकेटमा धेरै रमाउँछन् । उनीहरूका लागि पनि यो एउटा मञ्च र अवसर हो । राम्रो खेले भने उनीहरूले पनि यहाँ खेल्न पाउँछन् । पछि नेपालकै प्रतिनिधित्व गर्ने अवसरसम्म पाउन सक्छन् । यो उपाधिले नेपालको त्यो क्षेत्रमा पनि क्रिकेट खेलिरहेका छ भन्ने सन्देश गएको छ,” आसिफले भने ।

पहिले दाइले जिस्क्याउनुहुन्थ्यो अब मेरो पालो !

नेपाली क्रिकेटले पाएको निकै कम दाजुभाइ खेलाडीमा पर्छन्, आसिफ र आरिफ सेख । राष्ट्रिय टिमबाट समेत एकसाथ खेलिसकेका यी दुईले एनपीएलमा भने फरक टिमको प्रतिनिधित्व गरे । आसिफ जनकपुरमा अनुबन्धित हुँदा आरिफ भने सुदूरपश्चिममा आबद्ध थिए । एकै परिवारको भए पनि शनिबारको फाइनलमा यी दाजुभाइको उपाधि लक्ष्य एउटै टोलीको थिएन । 

पत्रकारसँगको कुराकानीमा भाइ आसिफले आफ्नो दाइको रमाइलो किस्सा सुनाए । उनले यसअघि सुदूरपश्चिमले जनकपुरलाई दुईपटक हराउँदा दाइले निकै जिस्क्याउने गरेको खुलाउँदै अब आफ्नो पालो भएको बताए । 

“परिवारको नजरबाट त जसले जिते पनि राम्रै हो । तर, हामीले टिमका लागि जित्न एकदमै जरुरी थियो । दाइलाई बाहिर भेट्दा पनि मलाई एकदमै गाह्रो बनाइरहेको थियो । जहिल्यै जिस्क्याउनुहुन्थ्यो । त्यसले गर्दा मलाई रिस पनि उठिरहेको थियो । अब म जिस्क्याउछुँ,” आसिफले भने ।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro