site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल र जय ट्रफीले जगाएको आशा, महिलाका निम्ति स्मरणयोग्य

काठमाडौं । पछिल्लोसमय नेपाली खेलकुदअन्तर्गत क्रिकेट प्रगतिपथतर्फ अघि बढिरहेको छ भन्दा त्यसमा दुईमत हुँदैन ।

हुन पनि घरेलु क्रिकेटदेखि अन्तर्राष्ट्रियसम्मको गतिविधिका निम्ति नेपाली क्रिकेटको अभिभावक निकाय नेपाल क्रिकेट संघ (क्यान)ले चालेको कदम प्रशंसनीय छ । वर्ष २०८१ को पात्रो फेरिँदा नेपाली क्रिकेटका निम्ति यो वर्ष उत्साहजनक रह्यो ।

एनपीएलले थपेको उत्साह, बहुदिवसीय प्रतियोगिता ब्युँतिएको वर्ष
वर्ष २०८१ मा घरेलु क्रिकेटतर्फ नेपाली समर्थकले पाएको सबैभन्दा ठूलो प्रतियोगिता हो, नेपाल प्रिमियर लिग (एनपीएल) । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न यस प्रतियोगितामा कुल आठ टोलीको सहभागिता थियो ।

आर्थिक तथा रणनीतिक साझेदारमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा आयोजना भएको नेपाल टी–२० नामको फ्रेन्चाइज प्रतियोगिता चर्को विवादमा परेपछि क्यान आफैँले लिग गर्ने निर्णय लिएको थियो ।

मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जित्यो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच विकेटले हराउँदै पहिलो संस्करणको उपाधि चुमेको थियो ।

n17-1734783418.jpg
पुरस्कार राशीका आधारमा पनि एनपीएल नेपाली खेलकुदले पाएको हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता बन्यो । क्यानले प्रतियोगिताको विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थानको टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो ।

गएको वर्ष नेपाली क्रिकेटले लामो समयपछि बहुदिवसीय प्रतियोगिता पायो– जय ट्रफी इलाइट कप । नेपाली क्रिकेटका संस्थापक जयकुमार थान शाहको नाममा २०३७ सालदेखि सुरु भएको यो प्रतियोगिता दुई दशक आयोजना बन्द भयो । क्रिकेटको इतिहास पल्टाउने हो भने वर्ष २०८१ अघि जय ट्रफीको पछिल्लो संस्करण २०५८ सालमा भएको पाइन्छ । यसर्थ नेपाली क्रिकेटले गएको वर्ष २३ वर्षपछि बहुदिवसीय प्रतियोगिता पायो ।

मधेस प्रदेशका दुई जिल्ला पर्सा र धनुषामा आयोजित प्रतियोगितामा दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै वाग्मती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरेको थियो । माघ २३ देखि फागुन ४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

NPC-1737014211.jpg
पहिलोपटक प्रतियोगिताको सबै खेल मोफलसमा आयोजना हुँदा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको उपाधि पनि पुलिसले नै जित्यो । फागुन २५ गतेदेखि सिद्धार्थनगर, भैरहवा र लमहीमा भएको प्रतियोगिता चैत १४ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टिमको सहभागिता थियो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले वर्ष २०८१ मा नै १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा चुनौती प्रस्तुत गर्‍यो । अमेरिका र वेस्ट इन्डिजमा जेठ १९ देखि असार १५ गतेसम्म भएको प्रतियोगितामा नेपालले समूह ‘डी’ मा चार खेलमा चुनौती प्रस्तुत गर्दा तीन खेलमा हार र एक खेल विनानतिजा टुंगिएको थियो । दक्षिण अफ्रिकाविरुद्ध एक रनको साँघुरो हार बेहोर्दा विश्व क्रिकेटमा नेपाली टिमले चर्चा पाएको थियो ।

नेपालले कात्तिक १ देखि ५ गतेसम्म अमेरिकाविरुद्ध उसैको मैदानमा ट्वान्टी–२० शृंखला खेल्यो । उक्त शृंखलामा नेपालले ‘ह्वाइट वास’ गरेको थियो । यस्तै, वर्षको अन्त्यमा चैत २७ देखि ३१ गतेसम्म हङकङमा आयोजित चारदेशीय ट्वान्टी–२० शृंखलामा प्रतिस्पर्धा गर्‍यो । हङकङ, कुवेत र कतार सम्मिलित शृंखलामा नेपालले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिड्न्तमा भने कुवेतसँग तीन रनले पराजित भयो ।

वर्ष २०८१ मा नेपाली क्रिकेट टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा कुल दुई त्रिदेशीय शृंखला खेल्यो । नेपालले भदौ ३१ देखि असोज ८ गतेसम्म क्यानडामा त्रिदेशीय शृंखला खेलेको थियो । उक्त शृंखलामा चार खेल खेल्दा नेपालले तीन खेलमा हार बेहोरेको थियो । नेपाल र ओमानबीचको अन्तिम खेल भने मौसमका कारण रद्द भएको थियो ।

cricket-team-1730684324.jpg
त्यसको अर्को महिना नेपाली टिमले लिग–२ शृंखलाकै निम्ति अमेरिकाको भ्रमण गर्‍यो । अमेरिका र स्कटल्यान्ड सम्मिलित शृंखलामा नेपालले चार खेल खेल्दा एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । नेपाल र स्कटल्यान्डबीचको खेल भने रद्द भएको थियो ।

युवातर्फ नेपाली टिमले एसीसी एसिया कपमा चुनौती प्रस्तुत गर्‍यो । कात्तिक १३ देखि २३ गतेसम्म युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको प्रतियोगितामा नेपालले अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो । समूह चरणमा तीन खेल खेल्दा नेपालले बाँकी दुई खेलमा भने हार बेहोरेको थियो ।

cricket-u19-latest-1744131621.jpg
वर्षको अन्तिम महिना नेपाली युवा टिमले अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्यो । चैत २१ देखि २६ गतेसम्म मूलपानी क्रिकेट मैदानमा भएको यो शृंखलामा अफगानिस्तानविरुद्ध नेपाल २–१ ले पराजित भएको थियो ।

महिलातर्फ...
महिलातर्फ वर्ष २०८१ झनै उत्साहजनक रह्यो । नेपाली सिनियर महिला टिमले एसिया कपमा चुनौती प्रस्तुत गर्दा भारत र पाकिस्तानजस्ता बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पाए । साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टिमले तीन खेल खेल्दा एक खेलमा जित निकाल्न सफल रह्यो । नेपालले भारत र पाकिस्तानसँग क्रमशः ८२ रन र नौ विकेटको हार बेहोर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको थियो ।

nepali-womans-cricket-1741516711.jpg
नेपाली महिला टिमले दुई अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा खेल्ने अवसर पाए । नेपालले माघ १९ देखि २५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो । घरमै प्रतियोगिता भए पनि नेपाल जितविहीन रह्यो ।

यस्तै, नेपालले फागुन २४ देखि चैत ३ गतेसम्म युगान्डामा भएको चारदेशीय ट्वान्टी–२० शृंखलामा प्रतिस्पर्धा गरेको थियो । युगान्डा, नामिबिया र हङकङसम्मिलित प्रतियोगितामा नेपालले ६ खेल खेल्दा दुई जित र चार हार आत्मसात गरेको थियो ।

घरेलु क्रिकेटमा ललितपुर मेयर कपले वैशाख ६ गते नयाँ विजेता पाउँदा विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो । माघ १ देखि १२ गतेसम्म फाप्ला क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पनि एपीएफले नै उचाल्यो । यो प्रतियोगितामा दुई विभागीय र सात प्रदेशगरी कुल नौ टिमको सहभागिता थियो ।

महिलातर्फ उमेरसमूहमा पनि नेपाली युवा टिमले आईसीसी यू–१९ विश्वकप र एसिया कपमा प्रतिस्पर्धाको अवसर पाए । मंसिर ३० देखि पुस ७ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सञ्चालन भएको प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको सनसनीपूर्ण जित निकालेको थियो । सात टोली सहभागी प्रतियोगितामा नेपालले समूह चरणमा एक जित र एक हारसहित (दुई खेल रद्द भएको) चार अंक जोडेको थियो ।

Nepal-U19-1734341943.jpg
क्वालालम्पुरमै माघ ५ देखि २० गतेसम्म भएको प्रतियोगितामा नेपालले चार खेल खेल्दा तीन खेलमा हार बेहोर्‍यो । नेपाली युवा टिमले मलेसियाविरुद्ध भने सात विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro