-1744289900.jpg)
काठमाडौं । श्री टुसाल युवा क्लबविरुद्ध बुधबार ब्रिगेड ब्वाइज क्लबले १–० को जित निकालेसँगै सहिद स्मारक ‘बी’ डिभिजन लिगको पाँचौँ चरण पूरा भएको छ ।
लिगमा पाँचौँ चरणका खेलहरू चैत २५ देखि २८ गतेसम्म सातदोबाटोस्थित एन्फा मुख्यालय परिसरमा रहेको मैदानमा सञ्चालन भएको थियो । जसमा कुल सातवटा खेल भएका थिए । समग्रमा लिगले पाँचौँ चरणको नतिजा पाइसक्दा कुल ३५ खेल समाप्त भइसकेका छन् ।
अपराजित प्लानिङ, कुमारी संघर्षरत
लिगमा प्लानिङ ब्वाइज युनाइटेडले पाँचौँ चरणसम्म प्रत्येक खेलमा जित हासिल गर्दै आफ्नो अपरााजित यात्रा कायम राखेको छ । गएको मंगलबार प्लानिङ ब्वाइजले पाँचौँ जित निकाल्ने क्रममा सरस्वती युथ क्लबलाई ३–० ले पराजित गरेको थियो । यो जितबाट तीन अंक बटुल्दै प्लानिङले कुल १५ अंक बनाएको छ । तालिकामा प्लानिङलाई पछ्याइरहेको श्री भगवती क्लब पनि प्रतियोगितामा अपराजित छ । लिगमा भगवतीले तीन खेल र दुई बराबरीसहित ११ अंक जोडेको छ ।
अघिल्लो संस्करणमा १०औँ स्थानमा रहँदै लिग टुंग्याएको कुमारी यस संस्करणको मध्यसम्म आइपुग्दा पनि संघर्षरत छ । प्लानिङ उच्च लयमा हुँदा संघर्षरत श्री कुमारी क्लबले भने पाँचौँ चरणसम्म आइपुग्दा पनि एक खेलमा मात्र जित निकालेको छ । यसले कुमारीमाथि रेलिगेसनको दबाब बढाएको छ । कुमारी एक जित र चार हारसहित अंक तालिकाको पुछारमा तीन अंकमा सीमित छ ।
कुमारीसँगै नयाँबस्ती, मध्यपुर र रानीपोखरी कर्नर टिम (आरसिटी)ले पनि पाँच खेलमा समान एक खेलमा जितमात्र निकालेका छन् । रेलिगेसन क्षेत्र (१३औँ स्थान)मा रहेको मध्यपुरले चार अंक जोड्दा आरसिटीको पनि समान अंक छ ।
उच्च गोलकर्तामा फागुराम थारु
दुई वर्षभन्दा लामो समय रोकिएर सुरु भएको ‘बी’ डिभिजन लिगको यस संस्करणले हालसम्म कुल ७८ गोल पाइसकेको छ । जसमा तालिकाको शीर्ष स्थानमा आसिन प्लानिङ व्वाइजले १३ गोल गरेका छ । यस्तै, भगवतीले आठ गोल गर्दा अरु तीन टिमले समान सात गोल गरेका छन् ।
प्रतियोगिताको उच्च गोलकर्ता बन्ने दौडमा प्लानिङकै फागुराम थारु सबैभन्दा अघि छन् । उनले पाँच चरणमा कुल पाँच गोल गरेका छन् । उनले च्यासलविरुद्ध दुई गोल गर्दा झापा, मध्यपुर र सरस्वतीविरुद्ध समान एक गोल गरेका छन् ।
फागुरामलाई पछ्याइरहेका बाँसबारीका बिक्की राईले तीन गोल गरेका छन् । यो दौडमा रहेका झापाका प्रदीप बुढाथोकी, आरसिटीका सुदीप लामा, सरस्वतीका धीरेन्द्रबहादुर शाह, ब्वाइज युनियनका सन्जीव लामा, श्री भगवतीका सुलेमान थापा मगर, विशालविक्रम सिलवाल, श्री कुमारीका यमन महर्जन, बाँसबारीका सन्दीप लामा, ब्रिगेड ब्वाइजका आशिष गुरुङ, विजय उर्न, प्लानिङ ब्वाइजका सुजन डंगोल, बिरगन्जका कृपाकान्त महतो थारु र आरसिटीका प्रज्वल गुरुङले समान दुई गोल गरेका छन् ।
यसबाहेक प्रतियोगितामा हालसम्म ४१ खेलाडीले समान एक गोल गरेका छन् । यस्तै, पाँचौँ चरणसम्म कुल तीन आत्मघाती गोल भएका छन् ।
कुल आठवटा रातो कार्ड
सरस्वती क्लबका संंकल्प खरेलले छैटौँ चरण गुमाउने भएका छन् । पाँचौँ चरणमा प्लानिङ ब्वाइजविरुद्धको खेलमा रातो कार्ड पाएपछि पोखरेलले छैटौँ समीकरण गुमाउने भएका हुन् ।
संकल्पले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड प्राप्त गरेका थिए । रातो कार्डका कारण उनले अब मध्यपुर युथ एसोसियसनसँग हुने खेल खेल्न पाउने छैनन् । मध्यपुर र सरस्वतीबीच यही चैत ३१ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रतिस्पर्धा हुनेछ ।
यसअघि ब्वाइज युनियनका शेखर जिम्मी, नयाँबस्तीका रेवतराम भण्डारी र आरसिटीका समीर राई, मध्यपुरका विरोचन तामाङ र सजिन थापामगर, बाँसबारीका निशान रावल र सरस्वतीका निर्दाेष थिङले रातो कार्ड पाएका छन् ।
यस्तो छ अंक तालिका
पाँचौँ चरणसम्म आइपुग्दा अंक तालिकामा प्लानिङ ब्वाइज युनाइटेड पहिलो चरणदेखि नै शीर्षमा छ । प्लानिङ ब्वाइजले पाँच खेलबाट १५ अंक बनाउँदै पहिलो स्थान कायम राख्दा ११ अंकसहित श्री भगवती क्लब टोखा दोस्रो स्थानमा छ । समान आठ अंक जोड्दै वीरगन्ज युनाइटेड र च्यासल युथ क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौँ र छैटौँ स्थानमा रहेका झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब ब्वाइजले समान सात अंक बनाएका छन् ।
ब्वाइज युनियन ६ अंकसहित सातौँ स्थानमा रहँदा समान अंकसहित बाँसबारी क्लब, श्री टुसाल युवा क्लब र सरस्वती क्रमशः आठौँ, नवौँ र १०औँ स्थानमा छन् । नयाँबस्ती युथ क्लब पाँच अक बटुल्दै ११औँ स्थान छ । रानीपोखरी कर्नर टिम (आरसिटी) चार अंककासाथ १२औँ स्थानमा छ । रेलिगेसन जोनमा रहेका मध्यपुर युथ एसोसियसन र श्री कुमारी क्लबले समान तीन अंक जोडेका छन् ।