
काठमाडौं । अमाडोउ डिओपेको निर्णायक गोलप्रेरित काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित निकालेको छ ।
काठमाडौंले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटबल लुम्बिनी एफसीविरुद्ध १–० को कठिन जित निकालेको हो ।
काठमाडौंलाई जित दिलाउन डिओपले ८९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइननजिकबाट उनको प्रहारलाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् ।
प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो । जितसँगै चार खेलमा पाँच अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ । पराजित बुटवल समान खेलबाट एक अंकका साथ पुछारमा छ । प्रतियोगितामा बुटवल अझै जितविहीन छ । यससँगै बुटवलको प्ले अफ सम्भावना कमजोर बनेको छ ।
७१औँ रक्षक सुमन श्रेष्ठले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बुटवल १० खेलाडीमा समेटियो । काठमाडौंका अलिजोन अलिजोनोभलाई मुक्का प्रहार गरेपछि फिफा रेफ्री प्रज्वल क्षेत्रीले सुमनलाई सिधै रातो कार्ड देखाएका थिए ।