
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा सहरिया प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडविरुद्ध जित निकालेपछि रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफू टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका छन् ।
रियालले मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा एट्लेटिकोविरुद्ध २–१ को जित निकालेको थियो । जहाँ दोस्रो हाफमा ब्राहिम डियाजले गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफमा रोड्रिगोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए पनि हुलियन आल्भारेजको गोलमा एट्लेटिको पहिलो हाफमै खेलमा फर्किएको थियो ।
“यो च्याम्पियन्स लिगको फाइनल र सेमिफाइनल सरहको अन्तिम–१६ को खेल हो । एट्लेटिको युरोपको उत्कृष्ट टिम हो । हामीले पहिलो लेगमा सानो अग्रता बनाएका छौँ । यसले हामीले दोस्रो लेगमा केही आत्मविश्वास दिनेछ । सँधै झैँ यो एकदमै कठिन खेल थियो,” रियालका प्रशिक्षक एन्सेलोट्टीले खेलपछि भने ।
यी दुई टिमबीचको दोस्रो लेग मार्च १३ मा एट्लेटिको मड्रिडको मैदानमा हुनेछ ।