site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘अनु दिदीबाट प्रेरित भएँ, उहाँजस्तो खेलाडी नेपाली फुटबलले सायदै पाउँछ’
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाली महिला फुटबल पछ्याउनेहरूका निम्ति रेनुका नगरकोटे नयाँ नाम होइन । सन् २०१० मा भएको साफ महिला च्याम्पियनसिपका दौरान नेपाली टिमबाट ‘डेब्यु’ गरेकी रेनुका त्यसयता नेपाली महिला टिमकी नियमित सदस्य हुन् । उनले साफ च्याम्पियनसिपका दुई संस्करणमा नेपाली महिला टिमको नेतृत्व समेत सम्हालिन् ।

रौतहटको चन्द्रपुर–४ स्थित शेरबहादुर दर्लामी स्मृति फुटबल मैदानकी उत्पादन रेनुकासँगै अधिकांश नेपाली महिला फुटबलरले पछ्याउने नाम हो, अनु लामा । सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेकी अनुले बुधबार राष्ट्रिय महिला लिग–२०२४ को अन्तिम खेलपछि सदाका निम्ति बुट झुन्ड्याउने निर्णय लिइन् । अर्थात ३७ वर्षीय अनुले अब व्यावसायिक फुटबल पनि नखेल्ने भइन् ।

mahila-li-(1)-1738172734.jpg
अनु लामा अर्थात नेपाली महिला फुटबलले पाएको पहिलो ‘स्टार’ खेलाडी । जन्मथलो मकवानपुर भए पनि अनुले पनि फुटबल प्रशिक्षण भने रौतहटको शेरबहादुर दर्लामी स्मृति मैदानबाटै गरिन् । स्व. शेरबहादुर दर्लामीमा रहेको महिला फुटबललको हुटहुटीलाई साकार बनाउने पहिलो ‘ब्याच’मा पर्छिन्, अनु । यसैले पनि अनु रौतहटको उक्त मैदानमा प्रशिक्षण गर्ने सबै महिला फुटबलरको ‘आइडल’ बनेकी छन् ।

“अनु दिदीबाट प्रेरित भएर फुटबलमा आएकी हुँ । दिदी आज खेल्नु भयो र गोल पनि गर्नु भयो । यसबाट दिदीभन्दा धेरै म खुसी छु । उहाँले पहिलेदेखि नै लिगको अन्तिम खेलपछि सन्न्यास लिन्छु भन्नुभएको थियो । म उहाँलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूकै कारण नेपाली फुटबल आज यहाँसम्म छ । अनु लामा जस्तो प्लेयर त सायद अब आउँदैन पनि होला,” अनुलाई आर्दशपात्र मानेर फुटबलमा अलग पहिचान बनाएकी रेनुकाले उनको सन्न्यासपछि बताइन् ।

अनु नेपाली टिमबाट दोस्रो सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत हुन् । उनको नाममा ३५ अन्तर्राष्ट्रिय गोल गरेको रेकर्ड छ । नेपालबाट अनुअघि सावित्रा भण्डारी मात्रै छिन् । साफ महिला च्याम्पियनसिपमा भने अनु नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले साफ च्याम्पियनसिपमा २१ गोल गरेकी छन् । यो कीर्तिमानमा पनि सावित्रा समान गोलसहित अनुसँगै छिन् ।

mahila-li-(6)-1738172738.jpg
२०६० सालदेखि फुटबलमा होमिएकी अनुको फुटबल करियर नै दुई दशकभन्दा लामो छ । नेपाली फुटबलमा एक युग बिताएपछि बुट थन्क्याउने निर्णयमा पुगेकी उनी नेपालले विश्वकप खेल्न सक्ने बताउँछिन् ।

“हामीले फुटबल सुरु गर्दा महिला खेलाडीलाई निकै कठिन थियो । त्यो हेरेर अहिले धेरै परिवर्तन भएको छ । अहिले महिला खेलाडीप्रति हेर्ने समाजको नजर नै फराकिलो बनेको छ,” अनु भन्छिन्, “२०–३० वर्षमै महिला फुटबल सुरु गरेर विश्वकप जितेको धेरै कहानी छन् । महिला फुटबलमा थोरै मात्रै विशेष ध्यान दिने हो भने हामी विश्वकप खेल्न सक्छौँ ।”

बुधबार पुलिसविरुद्ध ८५औँ मिनेटमा मैदान प्रवेश गरेकी अनुले आफ्नो अन्तिम खेललाई झनै स्मरणयोग्य बनाइन् । खेल एपीएफले ४–० ले आफ्नो पक्षमा पार्दा करिब १० मिनेट मैदानमा बिताउँदा अनुले अन्तिम खेलमा गोलसमेत गरिन् ।

mahila-li-(4)-1738172736.jpg
खेलाडीको रूपमा करियरको अन्त्य गरे पनि अनुको फुटबल छोड्ने मनसाय भने छैन । उनी आफूलाई आगामी दिनमा प्रशिक्षकका रूपमा नेपाली फुटबलमा स्थापित गराउनेमा दृण छिन् ।

आफ्नो भविष्यबारे अनु भन्छिन्, “म फुटबलमै हुन्छु । मेरो बी लाइसेन्स पनि छ । एक प्रशिक्षकको रूपमा म नेपाली फुटबलमा हुनेछु ।”

mahila-li-(5)-1738172737.jpg

mahila-li-(3)-1738172736.jpg

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro