site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलमा कर्णालीको पहिलो जित, रोमाञ्चक खेलमा चितवन ६ विकेटले पराजित 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले ६ विकेटको सहज जित निकालेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३१ रनको मध्यम लक्ष्य कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा कर्णालीको यो पहिलो जित हो । 

कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध तीन विकेटले पराजित भएको थियो ।

कर्णालीलाई अन्तिम दुई ओभरमा जितका निम्ति ११ रनको आवश्यकता थियो । हातमा सात विकेट भए पनि कर्णालीले चितवनबाट १९औँ ओभर बलिङ गर्न आएका सोहेल तान्विरको ओभरमा दुई रनमात्र जोड्न सक्यो । यसपछि कर्णालीलाई अन्तिम ओभरमा जितका निम्ति नौ रनको आवश्यकता थियो । 

चितवनबाट अन्तिम ओभर बलिङ गर्न आएका रिजन ढकालले पहिलो बलमा दुई रन खर्चिए । कर्णालीका अर्जुन घर्र्तीले रिजनको दोस्रो बलमा पनि दुई रन नै जोडे । तेस्रो बलमा पनि अर्जुनले दुई रन नै जोडेपछि कर्णालीलाई जितका निम्ति अन्तिम तीन बलमा तीन रनको आवश्यकता थियो । 

रिजनले चौथो बलमा अर्जुन घर्तीलाई रनआउट गराउँदै पभेलियन फर्काएपछि कर्णालीलाई अन्तिम दुई बलमा तीन रनको आवश्यकता थियो । पाँचौ बलमा जिसान मक्सुदले चौका प्रहार गरेपछि कर्णालीले अन्तिम बल बाँकी छँदा ६ विकेटको रोमाञ्चक जित निकालेको हो । मक्सुद १२ रनमा अविजित रहे ।

कर्णालीको जितमा ओपनर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा चार चौका र एक छक्का प्रहार गरे । धवनले पहिलो विकेटका निम्ति ओपनर देव खनालसँग ५३ रनको साझेदारी गर्दै कर्णालीलाई बलियो सुरुआत दिलाएका थिए ।

कर्णालीको खातामा अर्का ओपनर देव खनालले ३४ बलमा एक चौका र एक छक्कासहित २५ रन थपे । देवलाई चितवनका कप्तान कुशल मल्लले १०औँ ओभरको पाँचौं बलमा एलबीडब्लूको धरापमा पारेका थिए । यस्तै, धवन भने १६औँ ओभरको दोस्रो बलमा जान निकोल लोफ्टी इटोनबाट ‘कट एन्ड बोल्ड’ भए ।  

त्यसअघि धवनले ५३–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति पनि चान्डविक वाल्टनसँग ५१ रनको साझेदारी गरेका थिए । १७औँ ओभरको दोस्रो बलमा रवि बोपाराबाट एलबीडब्लूको धरापमा पर्नुअघि वाल्टनले १९ बलमा तीन छक्कासहित ३० रन थपे ।

चितवनका कुशल मल्ल, जान निकोल लोफ्टी इटोन र रवि बोपाराले समान एक विकेट लिए ।

पहिलो इनिङ : बोपाराको अर्धशतक 
त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो ।

चितवनका मध्यक्रम ब्याटर रवि बोपाराले अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४० बलमा सात चौका र एक छक्का प्रहार गरे । योसँगै बोपारा एनपीएलमा दुई अर्धशतक बनाउने पहिलो ब्याटर बने । उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

कप्तान कुशल मल्लले २३ रन थपे । २७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका कुशललाई १३.२ ओभरमा जिसान मक्सुदले गुल्सन झाबाट क्याच गराएका थिए । 

विपीन रावलले ११ रन थपे । यसबाहेक, चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अमर रौटेला र जान निकोल लोफ्टी इटोनले समान नौ रन जोडे । दीपक बोहराले आठ रन थप्दा ओपनर लुक बेन्केन्स्टाइन र सोहेल तान्विर ‘डक’ भए । 

शरद भेषवाकर ६ रनमा अविजित रहे ।

चितवनविरुद्ध कर्णालीका विपीन शर्माले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले २१ रनमात्र खर्चिए । उनले चितवनका लोफ्टी इटोन, सोहेल तान्विर र अमर रौटेलाको विकेट लिएका थिए । 

यस्तै, जिसान मक्सुदले दुई विकेट लिए । कप्तान सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट लिए ।

प्रतियोगितामा चितवनको भने यो पहिलो हार हो । चितवनले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro