site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहितको अर्धशतकमा भारतले इंग्ल्यान्डलाई दियो १७२ रनको लक्ष्य 

काठमाडौं । कप्तान रोहित शर्माको अर्धशतकप्रेरित भारतले आईसीसी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डसामु १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार गुयनामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको हो ।

भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । उनले यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका थिए ।

इंग्ल्यान्डविरुद्ध भारत ४०–२ को अवस्थामा हुँदा रोहितले तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ७३ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । अर्धशतक बनाउन तीन रनले चुकेका सूर्यले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन थपे ।

यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे ।

भारतका अर्का ओपनर विराट कोहली भने आज पनि चल्न सकेनन् । नौ बलमा नौ रन बनाएर आउट हुनुअघि विराटले एउटामात्र छक्का प्रहार गरे । यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पनि विराट ‘डक’ भएका थिए ।

इंग्ल्यान्डविरुद्ध भारतका शिवम दुवे ‘गोल्डेन डक’ भए । ऋषब पन्तले चार रन थप्दा अक्षर पटेलले १० रन थपे । अर्शदीप सिंह एक रनमा अविजित रहे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले समान एक विकेट हात पारे ।

वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि भारतले आठ ओभरमा ६५ रन बनाउँदा पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ००:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro