site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजविरुद्ध ३९ रनमै समेटियो युगान्डा, एक ब्याटरबाट मात्रै दोहोरो अंकमा रन 

काठमाडौं । दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले आईसीसी ट्वान्टी–२० विश्वकपमा लगातार दोस्रो जित निकाल्ने क्रममा अफ्रिकी प्रतिद्वन्दी युगान्डालाई ३९ रनमै समेटेको छ । 

आइतबार बिहान भएको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डा १२ ओभरमा ३९ रनमै समेटिएपछि वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो । 

जारी विश्वकपमा कुनै पनि टिमले बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । युगान्डाका जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटर वेस्ट इन्डियन बलरसामु टिक्न सकेनन् । युगान्डाका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । युगान्डालाई सस्तैमा रोक्न वेस्ट इन्डिजका अकेइल हुसैनले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका हुसैनले ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट तीन पनि कटेन । अल्जारी जोसेफले दुई विकेट लिए । रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेस मोतीको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाएका थिए । आन्द्रे रसेलले ३० र कप्तान रोभमन पावेलले २३ रन थप्दा निकोलस पुरन र सेरफन रुथरफोर्डले समान २२ रन जोडे । ब्रान्डन किंगले १३ रन बनाए । 

युगान्डाका ब्रियन मासाबाले दुई विकेट लिए । अल्पेस रामजानी, दीनेश नकर्णी र कोस्मोस क्युवुटाले समान एक विकेट हात पारे । 

जारी प्रतियोगितामा वेस्ट इन्डिजको यो लगातार दोस्रो जित हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पाँच विकेटको जित निकालेको थियो । दुई खेलबाट चार अंक जोडेको वेस्ट इन्डिज तालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको युगान्डाको भने यो दोस्रो हार हो । 

युगान्डाले यसअघि पहिलो खेलमा अफगानिस्तानविरुद्ध १२५ रनको हार बेहोर्दा दोस्रो खेलमा भने पीएनजीविरुद्ध तीन विकेटको जित निकालेको थियो । तीन खेलबाट दुई अंक जोडेको युगान्डा तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro