site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुल्सन र रोहितको अर्धशतकप्रेरित नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सन र रोहितले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो ।

नेपाली टिमको स्कोरबोर्डमा गुल्सनले ५४ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो पहिलो अर्धशतक हो ।

यस्तै, रोहितले ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रन थपे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पाँचौँ अर्धशतक हो ।

१० ओभरको समाप्तिमा ६०–४ को कठिन अवस्था रहँदा यी दुईले पाँचौ विकेटका लागि ४२ बलमा ७८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई सम्मानजनक योगफलसम्म पु¥याएका थिए । ११ ओभरमा ६१ रन जोडेको नेपालले पछिको नौ ओभरमा १२३ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ३१ रन थपे । अन्त्यमा करण केसीले ६ बलमा एक चौका र दुई छक्कासहित २० रन जोडे ।

ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ’ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

छनोटको फाइनल प्रवेश गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान निश्चित गरिसकेका छन् । फाइनल प्रवेशका क्रममा नेपालले सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमानले बहराइनलाई हराएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro