
काठमाडौं । चितवनको रामपुरमा अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पूरा गर्न वाग्मती प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ ।
प्रदेससभामा आज भएको २०८०/०८१ को बजेट भाषणमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले अलपत्र अवस्थामा रहेको रंगशाला निमार्णका लागि पाँच करोड विनियोजन गरेको घोषणा गरेका हुन् ।
“चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गर्न रु पाँच करोड विनियोज गरेको छु,” बजेट भाषणमा मन्त्री लामाले भने ।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले २०७५ साल माघ २० गतेदेखि रंगशालाको निमार्ण कार्य सुरु गरेको थियो । तर, रकम अभाव भएपछि फाउन्डेसनले रंगशाला निमार्णबाट हात झिक्दै सरकारलाई स्वामित्व लिन आग्रह गरेको थियो । फाउन्डेसनले रंगशाला निमार्णका क्रममा १६ करोड ऋण लागेको भन्दै २०७८ असोज पहिलो सातादेखि काम रोकेको थियो ।