
काठमाडौं । नेपाली चलचित्र ‘शिरफूल’ विसं. २०८१ मा सबैभन्दा थोरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । ०८१ मा रिलिज भएका ६२ वटा नेपाली चलचित्रमध्ये ‘शिरफूल’ले सबैभन्दा थोरै कलेक्सन गरेको हो ।
‘शिरफूल’ले जम्मा १८ हजार ५०० रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टमा उल्लेख छ । ८९ वटा टिकट बिक्री हुँदा यो चलचित्रको कलेक्सन १८ हजार ५०० रुपैयाँ भएको तथ्यांक छ ।
‘शिरफूल’ साउन १८ गते रिलिज भएको थियो । यो सँगै अर्को नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज भएको थियो ।
बलिउड सिनेमा ‘औरों में कहाँ दम था’ र हलिउड मुभी ‘डेडपूल एण्ड वुल्भरिन’ सोही दिन रिलिज भएका थिए ।
कमल एक्चै मगरको निर्देशन रहेको ‘शिरफूल’ सामाजिक कथावस्तु उठान गरेको बनेको चलचित्र थियो । निर्माण भएको लामो समयपछि यो चलचित्र रिलिज भएको थियो ।
यसमा मरिष्का पोखरेल, रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनील रोका, नमिता तामाङलगायत कलाकारको अभिनय रहेको थियो । अभिनेत्री मरिष्का विशेष भूमिकामा थिइन् ।
बढ्दो आधुनिकताको प्रभावले युवा पुस्तामा देखिने सांस्कृतिक विकृतिलाई यो चलचित्रले चित्रण गरेको थियो ।
सँगै रिलिज भएको शंकर कोइरालाले निर्देशन गरेको ‘मोदीबेनी’ले भने १२ लाख ६१ हजार ग्रसकलेक्सन गरेको तथ्यांक छ ।