site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बर्दी

बाह्रौं बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन पर्‍यो, किनभने पहिलेपहिलेका बलात्कारीहरूले जस्तो यसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो) ।

उसले पहिलेपहिलेका बलात्कारीहरूले जस्तो बलात्कृतका खाँबामा बाँधेका हातखुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न अन्य बलात्कारी साथीहरूको सहयोग–सहभागिता लिनुपर्ने भएन ।

उससँग गरिबगुरूवा र बेसहाराको मद्दतका लागि अफिसले दिएको लाइट थियो । उसले त्यो बालेर हेर्‍यो–बलात्कृत नेपालको हिमाल, लेक, बेँसी र हरिया फाँटजस्ती छ । अनुहारमा अनन्त शान्ति छ ।

त्यो देखेर बलात्कारी मुग्ध भयो । ऊ आफ्नो कर्तव्यबोधले झन्झन् प्रेरित हुन लाग्यो । आलिङ्गन, चुम्बनका लागि अग्रसर भयो ।

उसले एघारौँ बलात्कारीको विसर्जन वक्तव्य सम्झ्यो, ‘ठाउँमा आइसकी । बदमासी गर्न छाडिसकी । निर्धक्क भै गए हुन्छ । गजबकी छ ।’

अतःएव ऊ निर्धक्क भएर पूर्ववत् क्रियामा संलग्न भयो ।

उसले बर्दी लगाएको थियो । यसअघि उसले बर्दी लगाएर बलात्कार गरेको थिएन, अतः हिच्किचायो । उसले आफैँसँग सोध्यो, ‘बर्दी लगाएर बलात्कार गर्नु हुन्छ कि हुन्न ?’ 

उसलाई थाहा छैन ! तालिममा कसैले बताएको होइन ! काममा कसैले सिकाएको होइन ! कसरी जान्ने ! उसले सम्झने प्रयत्न गर्‍यो । बर्दी लगाएर सबै थोक गरेको सम्झ्यो– सबै कुकर्म गरेको सम्झ्यो ।

उसले आफैंलाई जवाफ दियो, ‘बर्दी लगाएपछि जे गरे पनि हुन्छ, सब फिरी !’

एक झम्टामा उसले काम सिद्धायो । मुर्दा–शान्त नदीमा पौडेर पारि पुग्यो । बाहिर निस्केर घोषणा गर्‍यो, ‘हलचल गर्दिनँ ।’

प्रतीक्षारत बलात्कारीले क्रुद्ध भएर सोध्यो, ‘मन तातो छ कि छैन तेरी आमाको ?’

‘मन त तातै छ,’ उसले जवाफ दियो, ‘तेरी आमाको ।’

‘धुकधुकी बाँकी छ कि छैन ?,’ अर्को प्रतीक्षारतले सोध्यो ।

‘धुक–धुकी... बाँकी नै होला ।’

प्रतीक्षारत बलात्कारीहरू अधीर भइसकेका थिए, अतः पहिलेपहिलेजस्तो एक्लाएक्लै नगएर तँछाड मछाड गर्दै एक बथान भित्र पसे । भन्दै थिए, ‘मन तातो भए भै हाल्छ नि...’

लाग्थ्यो, ऊ विषम परिस्थितिमा जन्मेकी थिई : विषमतर परिस्थितिमा हुर्किएकी थिई र विषमतम परिस्थितिबाट गुज्रँदै थिई ।

उसबारे कसैलाई केही थाहा थिएन । उसले एकपटक आफ्नो नाउँथरसम्म बताएकी हो– कुन्नि के अरे ! 

देब्रे पाखुरामा पनि आफ्नो नाउँथर खोपाएकी रहिछ । नाउँचाहिँ बुझिँदैन, तर थर प्रस्ट छ– नेपाल ।

(रचना, २०४० वैशाख–जेठ)
(घिमिरेको ‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’बाट ।) 

 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro