
काठमाडौं । नेपालका प्रसिद्ध राजनीतिज्ञ एवम् साहित्यकार बीपी कोइरालाको देहावसानको करिब ४३ वर्षपछि उनको जीवनकथामा आधारित ऐतिहासिक उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको छ । यसका लेखक सुभाष घिमिरे हुन् ।
घिमिरेको अमेरिका अनुभूति (२०७९), मौन विद्रोह (२०८०) र द साइलेन्ट रिबेलियन (२०८०) लगायतका कृति प्रकाशित छन् । उनले बीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अंग्रेजी भाषामा अनुवाद पनि गरेका छन् ।
‘सान्दाजु’ बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । बीपी कोइरालाका विचार, जीवनसंघर्ष, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण घडीहरूमा उनले प्रदर्शन गरेको साहस यस उपन्यासमा प्रस्तुत गरिएको जनाइएको छ ।
सुन्दर स्वदेश पब्लिकेशनले यस उपन्यासलाई प्रकाशित गरेको हो । नयाँ वर्षको आगमनसँगै यो ऐतिहासिक उपन्यास प्रकाशनमा आएको प्रकाशक ऋषिराम पाण्डेले जानकारी गराएका छन् ।