site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’

काठमाडौं । लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक विशेष समारोहमा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे । 

कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरियो ।

लेखक बस्नेतले पुस्तकले अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । "यो पुस्तक सीधा यात्रा संस्मरण होइन, रहस्यमय स्थानको रोचक शिल्प पनि हो," उनले भने, "यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जोकसैलाई मोहनी लगाउँछ ।"

लामिछानेका यसअघि प्रकाशित कृतिभन्दा यो फरक शैलीमा लेखिएको पनि बस्नेतले जनाए ।

"यसमा लेखकले लेखनमा फरक शैली अपनाउनुभएको छ," उनले भने,"संस्मरणमा नयाँ प्रयोग गरेर पुस्तकको थप ओज बढाउनुभएको छ ।" चिसो स्थानका कथा भए पनि यसले लेखनको न्यानोपन आभास गराउने बस्नेतको भनाइ छ ।

हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक जीवा लामिछानेले बताए । "म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ," उनले भने, "फर्किएर आएपछि केही स्रोतसामग्री अध्ययन गरें । र पुस्तक लेखनलाई तीव्रता दिइहालें ।"

त्यसैले पनि एक वर्ष हाराहारीको समयमा पुस्तक ल्याउन सम्भव भएको लामिछानेले जनाए ।

‘अक्षत अन्टार्कटिका’मा लेखकले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गरेका छन् ।  

अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा–वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य–चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।

नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।

पुस्तक पढिसकेपछि थाहा हुन्छ, अन्टार्कटिकामा चिसो मात्र छैन, सौन्दर्य पनि छ । के त्यो चमत्कृत पार्ने सौन्दर्यलाई हामीले भावी पुस्ताका लागि सुरक्षित राखिदिन सक्छौं ? यो पुस्तक पढिरहँदा पाठकको मन–मस्तिष्कमा यही प्रश्नले हस्तक्षेप गरिरहन्छ ।

को हुन् जीवा लामिछाने

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुन् । सन् २०११ र २०१८ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा नियुक्त लामिछाने नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवाश्री (सन् २०१३) र कीर्तिमय राष्ट्रदीप (सन् २०२३) बाट विभूषित छन् । 
बैङ्किङ, जलस्रोत, शिक्षा, स्वास्थ्य, बिमा, होटललगायत व्यवसायमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी गर्नुभएका उहाँले खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान स्थापना गरी नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याइरहेका छन् । 
संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासङ्ग्रह प्रकाशित छन् । आज लोकार्पित हुने पुस्तक ‘अक्षत अन्टार्कटिका’उनको तेस्रो कृति हो ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro