site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कन्सर्टका घाइते भेट्न अस्पताल पुगे दुर्गेश, तीन महिनाको सबै खर्च व्यहोर्ने 

काठमाडौं । गायक दुर्गेश थापाले आफ्नो कार्यक्रमको भीडमा घाइते भएका व्यक्तिलाई सहयोग गरेका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा केही दिनअगाडि भएको कार्यक्रममा बार भत्किएर चारजना घाइते भएका थिए । 

ठूलो भीडले बारलाई धक्का दिएपछि बार भत्किँदा चारजना घाइते भएका थिए । “चारजनामध्ये तीनजनाको अवस्था सामान्य छ । एकजनाको खुट्टा फ्याक्चर भएको छ । उहाँलाई मैले महाराजगञ्जस्थित टिचिङ अस्पताल नै पुगेर भेटेँ,” दुर्गेश बाह्रखरीसँग भन्छन् । 

धनगडीका ती घाइतेलाई चिकित्सकले दुई महिना आराम गर्न सुझाएका छन् । चिकित्सकले आराम गर्न भनेपछि ती घाइतेलाई दुर्गेशले आर्थिक सहयोग पनि गरेका छन् । 

“उहाँका बुवा/छोरा नै मेरो फ्यान हुनुहुँदो रहेछ । म आज जे छु, दर्शककै कारण छु । त्यसैले मैले सबै काम छोडेर टिचिङ पुगेर भेटेँ । चिकित्सकले दुई महिना आराम गर्न भन्नुभएको रहेछ,” दुर्गेशले भने, “मैले त्यहाँ हालसम्म खर्च भएको पैसा दिएर तीन महिनाको कोठा भाडा र रासन दिन्छु भनेको छु । बाँकी अस्पतालको खर्च आयोजकलाई बोलाएर व्यहोर्न भनेको छु ।” 

आयोजकको कमजोरीका कारण घटना भएकाले त्यसको जवाफदेही पनि आयोजक हुनुपर्ने दुर्गेशको भनाइ छ ।

घाइतेका छोराको तीन महिनाको विद्यालयको शूल्क पनि आफूले तिरिदिने दुर्गेशले जानकारी दिए । 

“मेरा फ्यान मलाई प्रत्यक्ष हेर्न र सुन्न आएका बेला समस्यामा पर्नुभयो भने म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ,” दुर्गेश अगाडि थप्छन्, “मेरा शुभेच्छुक र दर्शक/स्रोताको मायाले नै म आज देशभर कार्यक्रम गर्न हिँडिरहेको छु ।” 

दुर्गेश पछिल्लो समय दिनकै स्टेज कार्यक्रम गरिरहेका छन् । ‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित हुँदा उनको लोकप्रियता पनि चुलिएको छ । दुर्गेशका हरेक कार्यक्रममा हजारौँ दर्शक उनीसँगै रमाइलो गर्न पुग्छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro