site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महानगरको जरिवाना एमालेले तिरेन, राप्रपासहित २२३ संस्था र व्यक्तिले तिरे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले लगाएको एक लाख जरिवाना तिरेको छ । महानगरले जरिवानापत्र बुझाएको २४ घण्टा नपुग्दै आज सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत महानगरको कार्यालयमै पुगेर जरिवाना बुझाएका हुन् ।
 
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाखको जरिवाना पत्र काटेको थियो ।

महानगरको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड, बिरुवा र रेलिङमा भौतिक क्षति पुर्‍याएको उल्लेख थियो । 

महानगरलाई एक लाख जरिवाना बुझाएपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको राय व्यक्त गरेका छन् । 

“हामी राप्रपा सुशासन मान्छाैँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ दिदीबहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगरपालिकाको निर्णयलाई हामी स्विकार्दछौँ । एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छाैँ,” शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
 
महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले ज्ञानेन्द्र शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको बताए । “आज उहाँहरू आएर एक लाख जरिवाना बुझाउनुभयो,” भण्डारीले भने । 

राप्रपाले जरिवाना बुझाएको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० चैत्र २७ गते राप्रपाले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । 

सो क्रममा विभिन्न ठाउँमा फोहोर गरेको र ट्राफिक आयरल्यान्डमा क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई पाँच हजार जरिवाना तिराएको थियो ।

एमालेको अटेरी

२४ घण्टाभित्रै राप्रपाले जरिवाना बुझाउँदा सत्तारुढ नेकपा एमालेले भने महानगरले पत्र काटेको साढे तीन महिना बित्दा पनि एक लाख जरिवाना बुझाएको छैन । 

गत मंसिर ७ गते एमालेले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।  

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो । 

एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै आएका छन् । एमलेले महानगरले तोकेको जरिवाना नतिर्ने अडान लिएको छ । 

त्यसबेला जरिवानापत्र बुझाउन महानगरको नगरप्रहरी टोली नै एमाले पार्टी कार्यालय पुगेको थियो । तर, एमालेले जरिवानापत्र बुझ्न मानेन । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ‘औचित्यहीन चिर्कटो’ भन्दै महानगरको जरिवाना नतिर्ने बताएका थिए । 

गौतमले भनेका थिए, “चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गरियो । कार्यक्रम सकिएलगत्तै हाम्रा स्वयंसेवकले कार्यक्रमस्थल सरसफाइ पनि गरिसकेका छन । यस्ता वाहियात चटकको एमालेले सम्बोधन गर्दैन ।” 

एमाले नेता तथा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वमन्त्री महेश बस्नेतले बालेन पूर्वाग्रही बनेको बताएका थिए । एमालेविरुद्ध बालेन परिचालित भएको आरोप नै नेताहरूले लगाएका थिए । 

एमाले नेता महेश बस्नेतले मेयर बालेनले एमालेबाट एक लाख भिख मागेको समेत आरोप लगाए । बस्नेतले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत रहेको टिप्पणी गरेका थिए । 

पछिल्लो समय मेयर बालेन र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक–अर्काविरुद्ध शब्द प्रहार गरिरहेका छन् । बालेनले फेसबुकमार्फत ओली नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन् । ओलीले पनि आफ्ना भाषणहरूमा बालेनको शैलीप्रति टिप्पणी गर्दै आएका छन् । 

महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश पोख्दै आएका छन् । महानगर महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । 

महानगरले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोस्टर टाँस्ने, निर्माण सामग्री जथाभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रमक नीति लिँदै आएको छ । 

नगरप्रहरी निरीक्षक भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/०८२ माघदेखिको अहिलेसम्म संस्था तथा व्यक्तिहरूलाई जरिवाना गराइएको छ । 

नगरप्रहरी निरीक्षक भण्डारीका अनुसार अहिलेसम्म राप्रपासहित २२३ संस्था तथा व्यक्तिलाई सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेकै कसुरमा जरिवाना तिराइएको छ । 

जसमध्ये २१६ जनालाई जनही पाँच हजारका दरले १० लाख ३० हजार जरिवाना तिराएको उनले बताए । 

त्यस्तै, विभिन्न ६ वटा क्लिनिक तथा अस्पताललाई ५० हजारका दरले तीन लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । 

जरिवाना तिर्नेमा एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिक र धुम्बाराहीस्थित एसियन रेज मेडिकेयर सेन्टर लगायत ६ वटा अस्पताल रहेका छन् । 

महानगरले चिकित्साजन्य फोहोर जथाभावी फालेको भन्दै उनीहरूलाई ५० हजार जरिवाना तिराएको थियो । 

महानगरले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा फोहोर तथा वातावरण प्रदूषण गर्दा जरिवाना तिराउँदै आएको छ । 

महानगरले एमालेलाई पनि जरिवाना तिराएरै छोड्ने जनाएको छ । “फोहोरमैलाको विषयमा जरिवाना नतिरी सुखै छैन । एमालेले जरिवानापत्र बुझ्नै मानेको छैन । अब हुलाकमार्फत पत्र पठाउने तयारी छ,” भण्डारीले बाह्रखरीसँग भने । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro