site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादी अभियानमा छ कि छैन कांग्रेसको हिन्दुराष्ट्र अभियान ? 

काठमाडौं । नेपाली कांग्रेसको सनातन हिन्दुराष्ट्र अभियानका संयोजक शंकर भण्डारीले काठमाडौंमा आइतबार (फागुन २५)को प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मलनिवास पुर्‍याउने र्‍यालीका रूपमा हेर्न नहुने बताएका छन् । हाल राजावादीले गरिरहेको अभियानको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा उनले जोड दिए ।

भण्डारीले अभियानलाई केही राजावादीको लहडका रूप मात्र बुझ्न नहुने उल्लेख गरे । “नेपाली सेनाको फरक भूमिका देखिँदै छ । छिमेकी मुलुकको भूमिका पनि फरक हुँदै छ,” भण्डारीले बाह्रखरीसँग भने, “नागरिक निराश छन् । गणतन्त्रले जनतालाई छुन सकेको छैन ।”

यस्तो बेला कांग्रेसले अगुवाइ गर्दै परिवर्तनको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । “यो अभियानको नेतृत्व नै नेपाली कांग्रेसले गर्नुपर्छ । यो देश र कांग्रेसको हितका लागि अनिवार्य छ,” उनले भने, “यो आकस्मिक रूपमा आएको अभियान होइन । तर, अझै पनि यसमा बलियो शक्तिले बोक्न आवश्यक छ ।”

जालझेलबाट ०७२ सालमा गलत संविधन जारी गरिएको उनले जिकिर गरे । यसको विकल्प ०४७ सालको संविधान हुने उनले बताए । “अहिलेको संविधान जालझेलबाट आएको हो । त्यस बेला जनताको सुझाव नै नसुनिएकाले अहिलेको अवस्था आएको हो,” भण्डारीले भने, “यो देशलाई दुर्घटनाबाट जोगाउन र कांग्रेसलाई पनि संकटबाट जोगाउन ०४७ सालकोे संविधान पुनर्स्थापित गर्नुपर्छ ।”

कांग्रेसको हिन्दुराष्ट्र अभियानका सहसंयोजक लोकेश ढकालले भने आफूहरू आजको प्रदर्शनमा सहभागी नभएको बताए । तर, हिजो हालका गणतन्त्रवादीको बलमा धर्मनिरपेक्षता र गणतन्त्र स्थापित नभएको र परिवर्तनको सम्भावना अझै रहेको उनको विश्वास छ ।

“हिजो पनि तत्कालीन भारतीय संस्थापनको चाहनाअनुसार देशमा धर्मनिरपेक्षतासहितको गणतन्त्र आएको थियो । अहिले भारतीय संस्थापनको चाहना त्यो नभएकाले फेरि परिवर्तन हुनसक्छ,” ढकालले भने, “परिवर्तन भएर पनि त्यसलाई स्थिरता प्रदान गर्न र देशलाई सही बाटोमा हिँडाउन बलियो शक्तिको आवश्यकता हुन्छ । त्यसमा कांग्रेसले नै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।”

त्यस्तो अभियानलाई राजावादी भनेर नखुम्च्याउन उनी आग्रह गर्छन् । देशको हितका निम्ति सोच्नेलाई राजावादी मात्र भनेर बुझ्न नहुनेमा उनी जोड दिन्छन् । “त्यहाँ सानो संख्या राजावादीको होला, ठूलो संख्या नेपालवादीको छ, राष्ट्रवादीको छ,” उनले भने, “हामीले हाम्रो मौलिकता जोगाउन मौलिक व्यवस्था ल्याउने अभियानमा लाग्नु राजावादी हुनु होइन । नेपालवादी हुनु हो नि !”

उक्त अभियानले गत वर्ष फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको कांग्रेस महासमिति बैठकका क्रममा एक हजारभन्दा धेरै हस्ताक्षर बुझाएर नेपाललाई हिन्दुराष्ट्र घोषणाको माग गरेको थियो । महासमिति सदस्यको उक्त हस्ताक्षर संयोजक भण्डारीले पार्टीमा बुझाएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro