
मेरा पूर्वपरिचित मित्रतुल्य विश्वनाथ भट्टराईजी शिक्षा अधिकारी भएर खोटाङ आउनुभएकोमा म अत्यन्त खुसी थिएँ । दुवैजना मिलेर राम्रोसँग जिल्लालाई अगाडि बढाउँला भन्ने सोच थियो ।
उहाँ आउनु अगाडि जिल्ला शिक्षा समितिको बैठकले केही विद्यालयहरूलाई फर्निचरबापत अनुदान दिएको थियो, त्यस्तै ४–५ लाख होला । विद्यालयको रकम हिनामिना होला भनेर सम्बन्धित स्कुलको खातामा जम्मा गरेको र अनुगमन पनि राम्रै भइरहेको थियो ।
मलाई थाहा भएसम्म ती स्कुलहरूलाई फर्निचरका लागि ठूलो राहत भएको थियो । परन्तु कसैले उहाँलाई सुनाएछ, “यो रकम कहीँ बाँडिएको होइन । जिल्ला समितिका सभापति र प्रजिअहरूले बाँडेर खाएका हुन् ।”
जब कि कसैले चूनदाम खाएका थिएनन् र खाने वातावरण थिएन । उहाँको पालामा भएको पनि होइन । जिल्ला शिक्षा समितिको हरेक बैठक र भेटघाटमा यही कुरा बरोबर उठाइरहनुभएकाले कसैसँग पनि उहाँप्रति सद्भाव रहेन ।
अनि, आउन लाग्यो–उहाँ स्कुल निरीक्षण गर्न जाँदाका हाँसउठ्दा घटनाहरू । कतिपय स्कुलमा थाहै नदिई निरीक्षण गर्न जाने र स्कुलको झ्यालबाट कक्षा कोठामा हामफाल्ने ।
कहीँ फूलमाला नपाए मारचक्कर गाली गर्ने । उहाँका यस्ता उट्पट्याङ गतिविधिहरू जिल्लाको शैक्षिक वृत्तमा हाँसो र ठट्टाको विषय भयो ।
म ती सबै खबर पाइरहन्थेँ । कर्मचारीको प्रतिष्ठाको विषय भएकाले मैले उहाँलाई सम्झाउने प्रयास गरेँ । तर, मेरा अगाडि ठिक र पछाडि गएपछि बोक्सी लागेजस्तो हुने ।
मलाई एक दिन यसै भन्नुभयो, “तपाईं पनि सेकेन्ड क्लास, म पनि सेकेन्ड क्लास । तपाईंलाई गार्ड छ, मलाई खै ?”
मलाई हाँस उठ्यो । भनिदिएँ, “तपाईं शिक्षा मन्त्रालयमा गार्डका लागि अनुरोध गर्नुहोस् ।”
“तपाईंले सिफारिस गरिदिनुपर्छ,” उहाँले भन्नुभयो । मैले विचार गरूँला भनी टारिदिएँ ।
शिक्षा अधिकारी मेरा लागि टाउको दुखाइ हुनुभयो । आफ्नो साथी, साहित्यिक व्यक्ति भनेर मैले कहिल्यै कुभावना राखिनँ । तर, उहाँ त आगोको ज्वाला लिएर बस्नुभएको रहेछ । कस–कसले के–के कुरा लाइदिएका हुन् मैले बुझ्न सकिनँ र बुझ्ने कोसिस पनि गरिनँ ।
त्यही बेला अर्को घटना घट्यो । सगरमाथा अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ खोटाङ आउनुभयो प्रशासनिक निरीक्षणका लागि । त्यही अवसरमा जिल्ला पञ्चायतको कार्यालयमा कर्मचारीहरूका लागि यौटा पुस्तकालय, वाचनालय समुद्घाटनको कार्यक्रम राखियो ।
सबै कार्यालय प्रमुखहरूसँग चिनाजानी र जिल्लाका समस्याहरूबारे छलफल पनि त्यहीँ सम्पन्न गरियो । शिक्षा अधिकारीको पालोमा उहाँले सिधै भन्नुभयो, “जनक शिक्षाका निःशुल्क वितरण हुने पाठ्यपुस्तकहरू सबै बजारमा सशुल्क बिक्री भइरहेछन्, यसमा सीडीओले ध्यान दिएका छैनन् ।”
गुरुङजीले सोध्नुभयो, “यसको रिपोर्टिङ तपाईंले सीडीओलाई गर्नुभएको छ ?”
उहाँले “छैन” भन्नुभयो । अनि, “यो काम कसको हो ? तपाईंको कि सीडीओको ?”
सभामा सबै हाँसे । किनभने, उट्पट्याङ कुराबाहेक उहाँलाई अरू आउँदैन भनेर सबैले थाहा पाइसकेका नै थिए ।
ग्रह दशा लागेपछि बौद्धिक मान्छेको बुद्धि पनि भ्रष्ट हुँदो रहेछ भन्ने थाहा पाएँ । तपाईंलाई दशा लागेको रहेछ, होस गर्नुहोस् भनेर पनि सम्झाएँ । तर, दिन आएपछि कसैको केही नलाग्ने रहेछ ।
अञ्चलाधीशज्यूको टोली हलेसी महादेवको दर्शन गर्दै उदयपुर जाने कुरा आयो । मैले उहाँलाई साथ दिनैपर्ने भयो । शिक्षा अधिकारीले म पनि जान्छु भन्नुभयो, तर अञ्चलाधीशले भन्नुभयो, “तपाईं किन जाने ? मसँग सीडीओ, प्रहरीहरू जाँदै छन् ।”
“होइन, मेरा धेरै गोप्य कुराहरू छन् हजुरलाई सुनाउनुपर्ने – म जान्छु,” उहाँ कस्सिनुभयो ।
मैले केही बोल्ने ठाउँ थिएन । तर, बाटोमा उहाँको आफ्नै घोडाले उहाँलाई नराम्रोसँग लडाइदियो । शरीरका सबै अंगमा चोट लाग्यो । उहाँलाई उपचारका लागि हेल्थ सेन्टर पठाई हामी हलेसीतर्फ लाग्यौँ ।
त्यही साँझ मैले स्वयम् खर्च गरी सानो भोज दिएको थिएँ । अञ्चलाधीशज्यूलाई राम्रैसँग बिदाइ गरियो । हलेसी महादेवस्थानको महत्त्व, ऐतिहासिकता, हालका समस्याहरू र भावी मेरा योजनाहरूका सम्बन्धमा ब्रिफिङ गरेँ ।
उहाँले “अगाडि बढ्नोस्, म साथ दिन्छु” भन्नुभयो । तर, मलाई जहाँसम्म सम्झना छ – ‘देशान्तर’ पत्रिकामा मैले धुमधाम चन्दा उठाएर, धुमधाम भोज दिएको समाचार छापिएछ । जहाँ पनि एकजना छुस्के हुँदा रहेछन् भन्ने लाग्यो ।
अब अर्को महाभारत बाँकी नै रहेछ । असार २०३७ तिर मेरो फुपूको छोरीको बिहेका लागि हामी भोजपुर बजारतिर लाग्यौँ, जम्मा ४–५ दिनलाई । आफ्नो जन्मस्थान नगएको १० वर्षभन्दा बढी भएको थियो । बाटोमा ट्याम्के डाँडा, दिल्पा, छिनामखु, दाँवा हुँदै जाँदा निक्कै रमाइलो अनुभूति भयो ।
आफूले देखेको, चिनेको ठाउँ र परिचित मान्छेहरूसँग भेटघाट गर्न पाउँदा मनमा यसै गुलाफको फूल फुल्दो रहेछ । केही दिन आफ्ना इष्टमित्र, छरछिमेकी, परिवारका अग्रजहरूलाई भेटेर फर्कें ।
त्यो बेलासम्म मेरो क्वार्टर थिएन । दिक्तेल बजारछेउको वृषबहादुर राईको घरमा डेरा गरी बस्थेँ । राति पुग्यौँ । धेरै थाकेकोले सुतेँ ।
भोलिपल्ट बिहानै चिया खान के लागेको थिएँ, बाहिर बजारमा ठूलो होहल्ला सुनियो, “मार मार... ठोक ठोक” भन्ने ।
बाहिर बार्दलीमा निस्केर हेरेँ । अचम्म ! शिक्षा अधिकारी भट्टराई अगिअगि ज्यान जोगाउन कुदिरहेका छन् । पछिपछि एक हुल युवा उनीमाथि ढुंगामुढा गरिरहेका छन् ।
शिक्षा अधिकारी मेरो निवासमा ज्यान जोगाउन आएका रहेछन् । उनलाई भित्र कोठामा थुनी गार्डलाई सजग राखेँ । लखेट्नेहरू मास्टरहरू रहेछन् ।
इन्स्पेक्टरलाई तुरुन्त खबर गरी मैले मास्टरहरूको त्यस ठूलो जनमानसलाई सोधेँ, “तपाईंहरूलाई के भयो ? म त जिल्लाबाहिर थिएँ...?”
उहाँहरूले भन्नुभयो, “आषाढ मसान्त आउनै लाग्यो । सरकारी आर्थिक सहायताको अन्तिम किस्ता लिन आएको, शिक्षा अधिकारीले बजेट छैन, सीडीओले स्वीकृति दिएन भन्दै सबै रोकेर राखेका छन् । हामी दुर्गम ठाउँबाट आई यहाँको महँगीमा कुरेको पाँच–सात दिन भयो । हाम्रो माग अरू केही होइन, स्कुलको पाउने बजेटको अन्तिम किस्ता तुरुन्त दिलाई पाऊँ भन्ने मात्रै हो । शिक्षाले नदिनुका कारण केही चलखेल र षड्यन्त्रजस्तो लाग्यो ।”
सीडीओ भएर पनि मलाई यी सब कुरा बिल्कुल थाहा थिएन । किनभने, यो काम पूर्णतया शिक्षा अधिकारीको थियो । मैले जनमानसलाई सम्झाएँ, “तपाईंहरूले चिन्ता गर्नु पर्दैन । अहिले १० बजेपछि बजेटको अन्तिम किस्ता बाँडिने छ ।”
सबैजना ताली दिएर फर्के । मैले सहायक जिशिअलाई बोलाई रकम दिनलाई आदेश दिएँ । नपुग ८–१० लाख हुने रहेछ, त्यो जिल्ला सभा कोषबाट सापटी मिलाइदिएँ ।
ज्यानको सुरक्षाका लागि जिशिअ भट्टराईजीलाई दिनभरि जिल्ला प्रहरी कार्यालयमा बस्न भनेँ । दिनभरि चेक बाँडेपछि समस्या हल भयो । म भने शिक्षा अधिकारीले पाएसम्म मलाई असफल पार्ने कोसिस गरिरहेका छन् भन्ने निर्णयमा पुगेँ ।
उहाँको सरुवाका लागि शिक्षा मन्त्रालयमा चिठी पठाएँ । काठमाडौं गएका बेला तत्कालीन शिक्षा सचिव तेजबहादुर प्रसाईंसँग मौखिक अनुरोध पनि गरेँ ।
अब अर्को काण्ड सुरु भयो । जिशिअले मेरो नाममा भए÷नभएका उजुरी सिधै राजदरबार र शिक्षा मन्त्रालयमा पठाउनुभएको रहेछ । ती घुमीफिरी स्पष्टीकरणका लागि मकहाँ आउन लागे ।
सुरक्षाका लागि एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेकोलाई उहाँले सीडीओले अनावश्यक रूपमा थुन्यो भनेर उजुरी दिनुभएछ । यस्तै, जिल्ला सभा कोषको रकम मैले र तत्कालीन सभापति दीपबहादुर राईले मिलेमतो गरी खाएको र अन्य यस्तै प्रमाणहीन उजुरीकै थुप्रो ।
अति भएपछि मैले एक दिन आफ्नो कार्यालयमा बोलाई प्रस्ट सोधेँ, “तपाईं मेरो साथीभाइ ! तपाईंलाई म सधैँ माया गर्छु । तपाईं किन मेरो पछाडि लाग्नुभएको हो ?”
उहाँले एक वचन बोलेको होइन । खालि आँखाबाट धुरुधुरु आँसु निकाली रोइरहनुभयो । मैले धेरै सम्झाएँ, “तपाईं पनि सीडीओ हुन सक्नुहुन्छ । किन ममाथि यसरी खनिनुभएको हो ? मैले त केही बुझ्न सकिनँ । तर, यौटा कुरा स्पष्ट भन्छु– अब म पनि तपाईंको विरुद्धमा लाग्छु है । कि तपाईंको जागिर चट् कि मेरो चट् ।”
उहाँले माफी माग्नुभयो । “अब म यस्तो झगडा गर्दिनँ” भन्नुभयो ।
“त्यसो भए तपाईंले दिएका उजुरीहरूउपर तपाईंले राजदरबारमा यी असत्य हुन्, मैले यसै लेखेको भनेर बिन्तीपत्र दिनुहोस् । यसको एक प्रति नक्कल म पनि पाऊँ । हाम्रो अनावश्यक मनमुटाव हटाऊँ ।”
उहाँले अब नाटक सुरु गर्नुभयो, “आज म माफी मागेर पठाउँछु, भोलि पठाउँछु ।”
कहिले “मैले पठाइसकेँ, यहाँकहाँ सोको नक्कल ल्याइदिन्छ...” आदि इत्यादि । एक महिना यसरी नै बित्यो । उहाँको अभिनय समाप्त भएन ।
त्यही बेला जनमतमा सहयोग नगर्नेहरूको सूची अञ्चलाधीश कार्यालयबाट माग भयो । मलाई पनि लाग्यो, भीरबाट लड्न खोज्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।
त्यस सूचीमा मैले सिफारिस गरेँ । अञ्चलाधीशबाट पनि अगाडि बढेपछि उहाँको जागिर गयो । मलाई भने अवश्य नराम्रो लाग्यो । तर, म पनि विवश थिएँ ।
अब विश्वास लाग्छ, मान्छेको भाग्यमा । २०४७ पछि जब कांग्रेसी सरकार बन्यो, उहाँको जागिर मात्र थमौती भएन, शिक्षाका महत्त्वपूर्ण ठाउँहरूमा केही वर्ष जागिर खाई उमेरको हदका कारण अवकाश लिनुभयो ।
उहाँ त ठूलो कांग्रेसी महान् प्रजातान्त्रिक योद्धा हुनुहुँदो रहेछ । म छक्क परेँ । यो राष्ट्रको विडम्बना ! दुर्भाग्य अरू के हुन सक्थ्यो ।
म विराटनगरमा वाणी प्रकाशनको अध्यक्ष भई काम गर्दाको कालखण्डमा उहाँहरूकै संस्था भट्टराई सेवा समाजले मलाई धुमधाम सम्मान ग¥यो । उहाँ सभाको पछिल्लो कुर्सीमा बसी एकोहोरो टोलाइरहनुभएको देखेँ ।
मप्रति गरिएको सम्मान उहाँलाई मन परेको छैन भन्ने बुझेँ । मलाई पनि लाग्यो, एकपटक उहाँसँग भेटेर भलाकुसारी गरौँ कि भनेर । तर, अन्तरमनले मानेन ।
आजभोलि म सोच्तछु, यो हाम्रो प्रतिष्ठा र अहम्को लडाइँ थियो जस्तो लाग्छ ।
निजामती सेवामा रहँदा कर्मचारी र प्रहरीका कारण आफूले धेरै सास्ती खानुपर्ने रहेछ । धेरै कर्मचारीले यस्ता घटना भोगेको हुनुपर्छ ।
(आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)