
उपन्यासकार शैलेन्द्र अधिकारीद्वारा लिखित ‘अर्हत्’ उपन्यास बौद्धकालीन समाजको आँखीझ्यालका रूपमा देखापरेको छ । यस उपन्यासमा सिद्धार्थ गौतमले कसरी ‘अर्हत्’ प्राप्त गर्न सफल भए र गौतम बुद्ध बने भन्ने धार्मिक इतिहासको बोध गरी रसास्वादन लिन सकिन्छ ।
उनले उपन्यासमा म पात्रमार्फत सिद्धार्थ गौतमको जीवन गाथालाई प्रस्तुत गरेका छन् । उपन्यासमा म पात्र अर्थात् गौतम बुद्धको जन्मथलो वर्तमानको लुम्बिनीदेखि महापरिनिर्वाण प्राप्त गरेको स्थान कुशीनगरसम्मको नक्सांकन समेत प्रस्तुत गरेर अर्हत्लाई बुद्धमय बनाएका छन् । उनको यस उपन्यासले बुद्धकालीन समाजकोे सग्लो चित्र प्रस्तुत गरेको छ ।
वर्तमान समयमा बुद्धको ज्ञान र उपदेशको महत्त्व दिन प्रतिदिन बढिरहेको छ । यही समयमा बुद्ध बुझ्ने र उनको दर्शनलाई सरलीकृत रूपमा बुझाउन सक्ने आख्यान लिएर शैलेन्द्र अधिकारी आएका छन् । अर्हत् उपन्यासमा प्राञ्जल भाषामा बुद्ध र बुद्ध जोडिएका विषयहरू विषय बनेर प्रस्तुत भएका छन् । यो हरेक किसिमका पाठकका लागि उपयुक्त र पढ्नैपर्ने किताब हो ।
उपन्यासकारले म पात्रमार्फत विभिन्न उपशीर्षक राखेर अर्हत्लाई अगाडि बढाएका छन् । आदाहनोत्सव उपशीर्षकबाट सुरु गरिएको अर्हत् क्रमशः संस्तवन, आयुसंस्कार, सदानिरा, उदिग्नता, अग्निज्वाला, प्रज्ञान, मरुद्यान, दुःखबोध, सर्वत्याग, बुभुक्षा, उग्रपथ, विवर्तन, पदानुग, भोगनिवृत्ति, निःश्रेयसोन्मुख, सोत्सव, दौर्हृदय, सत्पथ, कर्मविपाक, नृपाभिमान, दीपास्था, विषयभोग, अंश, दातृता, अपमार्ग, उपस्थाता, हन्ता, विबोधन, कामाग्नि, विमुक्ति, मृत्युपर्यन्त, बीजवपन, प्रणाश, नृमांश, प्रमुदिता, प्रेमार्त, दूषण, मनःपूत, जातदर्प, दुर्नियति, प्रतिहनन्, विहत, अपकर्ष, विच्छेदन, विलयन, स्वप्नदर्शन, विदेह र परिपूरण गरी उनन्चासवटा उपशीर्षक रहेका छन् ।
त्यसपछि शब्दार्थ, पात्र परिचय र शब्दपुष्पार्पणम् जस्ता शब्दले समापन गरिएको छ ।
आजको समयमा बुद्ध धर्म र दर्शनको आयतन निकै फराकिलो र व्यापक बनेको छ । विश्वव्यापी रूपले यसका प्रभाव सकारात्मक रहेको तथ्यलाई कसैले नकार्न सक्तैन । यो जीवनसँग जोडिएको धर्म पनि हो । शैलेन्द्र अधिकारीले आफ्नो पुस्तक अर्हत्मा बुद्ध धर्म र दर्शनका सूक्ष्म विषयलाई पनि निकै सरल र रोचक ढंगमा पस्किएका छन् ।
अर्हत् उपन्यासमा बुद्धदर्शन त आएकै छ, सँगसँगै बुद्ध धर्म र भिक्षु सङ्घ कसरी स्थापना भयो, कपिलवस्तुको पतनको कारण के थियो भन्ने कुराको पनि यहाँ विशद चर्चा गरिएको छ ।
आदाहानोत्सवबाट सुरु भएको उपन्यास आयुसंस्कार उपशीर्षकमा आइपुग्दा गौतम बुद्ध म पात्रका रूपमा देखा पर्दछन् । यही परिच्छेदमा उनका अति विश्वासपात्र आनन्द र म पात्रका बीचमा संवाद गराएको प्रसंगले शील, प्रज्ञा र समाधिको पूर्णता महापरिनिर्वाणको दिन, समय र स्थान समेत म पात्रले आनन्दलाई बताएका छन् । गौतम बुद्धको महाभिनिष्क्रमण अनोमामै आरम्भ भएको थियो भने ज्ञानको अन्वेषणले सिद्धार्थकी माता मायादेवी र गौतम बुद्धकी आमा अनोमा हुन् भनिएको छ ।
अग्निज्वालामा यशोधरा र माता प्रजावतीबीच संवाद भएको छ । यशोधराले अलापविलाप गर्दै आश्चर्य र प्रश्नैप्रश्न गर्न थालेको प्रसंग उपन्यासमा चित्रित छ । हे विधाता ! हे नियति, के दोष छ मेरो ? के गल्ती गरेँ मैले ?... भन्दै यशोधरा एक्लै बोलिरहेको कारुणिक अवस्थाको चित्रण गरिएको छ ।
उपन्यासमा त्रिशरणको व्याख्या गरिएको छ । सङ्घको स्थापना र यसको महत्त्वलाई उपन्यासमा उजागर गरिएको छ । गौतम बुद्धको सालो देवदत्तको प्रसंगको चित्रण गर्दै उपन्यासमा तत्कालीन समयमा सङ्घभित्र भएको शक्ति संघर्षलाई देखाइएको छ भने केही भिक्षुहरूको अवसरवादी चरित्रलाई पनि प्रस्ट्याइएको छ । स्त्रीहरूलाई पनि प्रव्रजित हुने अवसर दिनुपर्ने विषय प्रसंगले तत्कालीन समयको नारीवादी चिन्तनको पनि खोज गरेको छ ।
अर्हत्ले कपिलवस्तु राज्यको पतनको कथा पनि भन्दछ । कपिलवस्तुका राजा महानाम शाक्यको जातदर्पको प्रसंग उपन्यासमा रोचक ढंगले आएको छ । कोशल नरेश विड्डुभ कपिलवस्तु आएको र छोइछिटोबाट कपिलवस्तुलाई जोगाउनका लागि राजा महानामले शौचबारेको नाटक गरेर एक्लै खाना खान बाध्य पारेको, पछि ऊ बसेर खाना खाएको स्थानमा दूधले पखालेको, विड्डुभले त्यो कुरा थाहा पाएर रगतले पखालेर शुद्ध पार्ने बदला लिने प्रण गरेको र यही कारण कपिलवस्तु विनाशको जग बसेको कुरा उपन्यासमा सविस्तार वर्णन गरिएको छ ।
अर्हत् उपन्यासमा पाली भाषाका केही तर अत्यन्त महत्त्वपूर्ण बुद्ध वचनलाई जस्ताको त्यस्तै राखिएको छ, जसले गर्दा उपन्यास थप गम्भीर र महत्त्वपूर्ण बन्न पुगेको छ । बुद्धको जीवनसँग जोडिएका हरेक पात्र र विषयलाई उपन्यासमा उत्तिकै प्रधानताका साथ प्रस्तुत गरिएको छ ।
अन्त्यमा शब्दार्थ र पात्र परिचयखण्डले उपन्यास बुझ्न थप सरल र सहज बनाएको छ । यस उपन्यासका शीर्षकहरू र बेलाबेलामा आउने संस्कृतका पाञ्जल शब्दहरूले उपन्यासको सौन्दर्यमा थप मलजल मिसाएको छ ।
वर्तमान समयको बुद्ध धर्म र दर्शनका प्रणेता गौतम बुद्ध नै हुन् । उनैको ज्ञानबाट यो धर्म र दर्शन अभिसिञ्चित भएको छ । तिनै बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विभिन्न कृतिहरू लेखिएका छन् । कसैले धर्मलाई प्राथमिकतामा राखेर लेखे, कसैले दर्शनलाई ।
तर, बुद्धलाई नै केन्द्रमा राखेर आख्यानको रचना नेपालीमा ज्यादै कम भएको छ । नेपाली भाषामा बुद्ध असाध्यै कम लेखिएका छन् । अंग्रेजी, नेपाल वा तिब्बती भाषामा बुद्धमाथि तुलनात्मक रूपमा धेरै नै लेखिएका छन् र विमर्श पनि भएको छ । शैलेन्द्र अधिकारीले त्यो रिक्त स्थानलाई भर्ने काम गरेका छन् ।
सिद्धार्थ गौतमको बाल्यकालदेखि महापरिनिर्वाणसम्मका विषय केन्द्रीय कथ्य बनेको अर्हत् उपन्यासले बौद्धकालीन समाजको यथार्थ चित्र चित्रण गरेको छ । यसमा बुद्धको असीवर्षे जीवनगाथा स्वयम् म पात्रले प्रस्तुत गरेको छ । यसमा गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नका लागि भए गरेका सम्पूर्ण गाथा प्रस्तुत गरिएको छ ।
सिद्धार्थ गौतमको बाल्यकाल, शिक्षादीक्षा, विवाह, ज्ञान प्राप्ति, सङ्घको निर्माण र ज्ञानको प्रसार, कपिलवस्तु राज्यको पतन, बुद्धको महापरिनिर्वाणजस्ता अनेकन् विषयले अर्हत् परिपाकपूर्ण बनेको छ । यसले बौद्ध धर्मावलम्बीहरूलाई बुद्धको जीवनी साथै बुद्ध धर्म र संघका बारेमा धार्मिक ज्ञान अवगत गराउँछ ।
त्यस्तै, अन्य धर्मावलम्बीहरूलाई पनि जीवन र जगत्का बारेमा ऐतिहासिक रूपरेखाको बोध गराउन सक्छ । उपन्यासकार अधिकारीले अर्हत्मा बुद्ध र बुद्धकालीन समाजको सग्लो चित्र प्रस्तुत गरेका छन् । त्यसैले यस उपन्यासलाई बुद्धकालीन समाजको आँखीझ्याल हो भन्न सकिन्छ ।