site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बादलभित्र लुकेको साइपाल

साइपालको नाम विद्यार्थी जीवनमै सुने पनि जाने आँट कहिल्यै गरिएन । बझाङतिरका मानिस काठमाडौंमा भेटिँदा साइपालकै चर्चा हुन्थे । आफू नपुगे पनि हरेक बझांगीले साइपाल राम्रो भनिदिन्थे ।

बझाङवासीमा मैले नजिकबाट चिनेका देउडा गायक नन्दकृष्ण जोशीको मुखबाट पनि साइपालको महिमागान धेरै सुनेको थिएँ । जाऊँजाऊँ गरी भन्ने उनको वाक्कला निकै राम्रो थियो । पर्यटन पूर्वाधार बन्ला अनि जानुपर्ला भन्दा भन्दै एक दशक बितेको पत्तै भएन ।

साइपाल हिमाल गुराँस हिमशृंखलाअन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो । स्थानीय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ । यो गुराँस हिमालमा पर्ने अपि हिमालपछि दोस्रो अग्लो हिमाल हो ।

गत साल साइपाल हिमाल आरोहण सफल भएको समाचार पढेपछि भने पुनः साइपाल जाऊँजाऊँ लाग्यो । तर, भरपर्दो सम्पर्क सूत्र नपाएकाले आँट गर्न सकिरहेको थिइनँ ।

बागबजारमा हिँड्दै गर्दा विश्वामित्र कुइँकेलसँग अचानक भेट भएपछि साइपालकै बारेमा निकै मिठो चिया गफ भयो ।

‘आवश्यक समन्वय म गरिदिन्छु, तिमी आफ्नो टोली लिएर आऊ’ भन्ने कुरा बझाङकै प्रमुख जिल्ला अधिकारीले भनेपछि मलाई ‘के खोज्छस्...’ उखान भनेझैँ भयो । मैले तुरुन्त सहमति जनाए ।

हाम्रा साथीहरूको समूहसँग आवश्यक छलफल गरेर विश्वामित्रलाई जेठ ८ गते ५ जनाको टोली बझाङका लागि काठमाडौंबाट हिँड्ने जानकारी गराएँ ।

निर्धारित समयमा म, प्रकाश आचार्य, कृष्ण थापा, बद्री अर्याल र देविका देवु काठमाडौंबाट बझाङका लागि प्रस्थान गर्‍यौँ । ९५५ किलोमिटरको यात्रा हामीलाई बसमा तय गर्नु थियो । उत्साह थियो साइपालको भूमि टेक्ने, तर झन्झटिलो पनि थियो ।

कहालीलाग्दो सकसपूर्ण सडक यात्रा । यसमा उत्साहले जित्यो । सकस व्यहोर्न हामी मनैबाट तयार भइसकेका थियौँ ।

बैतडीको भूगोलसम्म हामी नयाँ थिएनौँ । खोड्पेसम्म अपि जाँदा गइसकेका थियौँ । अपि र साइपाल जाने बाँटो खोड्पेबाट छुट्टिने रहेछ । त्यसपछि हामी धारी, विजयपुर, म्याफु, विन्द्रावन, गाजरी, मोतिनगर, नाग्नथली, सिगास, बाजापानी, ढोल्यामोड, श्रीभाखा, सिगाइन, बित्थड, देउलेख, जडविला, चिसापानी, खालापाटा, धरान, रूपैल, सुनकुडा, वागथला, देउराबजार, नारुगाड, रायल, आनन्दपुर (पौडीबजार), झोटा, सुडीखोला, मौरीबगर, भाडेबजार, भण्डारीगाँउ, भ्यागुतेखोला, बन्दरगाउँँ, तमैल, कुनाली खोला, सुवेडा, सिमखेतजस्ता ठाउँ पार गर्दै अन्ततः बझाङ – चैनपुर पुग्यौँ, जेठ ९ गतेको राति ९ बजे ।

लामो यात्राले लखतरान थियौँ । होटेलमा गएर नुहाइधुवाइ गरेर फ्रेस भएपछि बालसखा विश्वामित्रको साथमा मिठो खाना खाएपछि ज्यान तुरुन्तै चंगा भयो । भोलिबाट साइपालको यात्रा गर्ने जोस र जाँगर बढेर आयो । त्यही सुखमा मिठो निद्रा सुतियो ।

हामीले बिहान ६ बजे नै उठेर साइपाल जाने तयारी गर्‍यौँ । कुवासम्म चार घण्टाको जीप यात्रा तय गरेर ढलौनसम्म हिँड्ने तालिका तय गरिएको थियो । साथी विश्वामित्रले साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसँग हाम्रा बारेमा कुरा गरिसकेकाले हामीलाई कुनै झन्झट थिएन । डोल्माजीले पनि हाम्रो बासको प्रबन्ध वडाअध्यक्ष नरेन्द्र धामीसँग समन्वय गरेर ढलौनमा मिलाइदिएकी थिइन् ।

बिहान ८ बजे हामी विश्वामित्रसँग बिदा भएर कुवातर्फ लाग्यौँ । सुनिगाड, धमेना, तल्कोट, रूपातोला, पनाल्ताजस्ता विभिन्न गाउँठाउँ पार गर्दै हामी चार घण्टामा कुवा पुग्यौँ । बाटो सुरुमा पक्की त्यसपछि कच्ची रहेछ । सोही मार्ग हुँदै हामी कुवा पुगेका थियौँ । बाटोमा रमणीय गाउँँघर देख्नेबित्तिकै जीप रोक्दै फोटो खिच्दै कुवासम्मको यात्रा गरेका थियौँ ।

कुवा पुग्दा १२ बजिसकेको थियो । त्यहीँ खाना खाएर ढलौनतिर लाग्यौँ । भर्खर खाना खाएकाले हिँड्न गाह्रो होला कि भन्ने थियो, तर पदमार्ग ओरालो भएकाले खासै गाह्रो भएन । जंगलको बाटो शीतल नै थियो ।

त्यहाँसम्म जान सडक र पदमार्ग दुवै थियो । हाम्रो रोजाइमा पदमार्ग नै पर्‍यो । सिँढी ओर्लंदै ३० मिनेट हिँडेपछि तीनवटा घर भएको ठाउँ आयो । त्यही घरको आँगनबाट पदमार्ग सकियो ।

अब सडक नै सडक हिँडेर तल लिस्तीगाड पुलमा पुग्नुपर्ने थियो । यो पुरानो पदमार्ग मासेर डोजर बाटो बनाइएको हुनुपर्छ !

करिब ३० मिनेट हिँडेर हामी पुलमा पुग्यौँ । पुलपारि अजंगको पहाड खडा थियो, जसलाई जाडलेक भनिँदो रहेछ । हेर्दै कहालीलाग्ने पहाड । तैपनि, हिँड्नुको विकल्प थिएन । रफ्तार जारी नै थियो ।

पुलपारि डोजरले बनाएको बाटो नै थियो । अलि पर पुगेपछि छोटो उकालो आयो । हामी उक्लियौँ । ३० मिनेट चढेपछि फेरि तीनवटा घर आयो । सँगै धारो पनि रहेछ । धारोमा खाली भएको बोतल भर्‍यौँ पानीले । त्यो घरमा पसल पनि रहेछ । आपत्विपत् पर्दा बास बस्न पनि मिल्दो रहेछ ।

१० रुपैयाँमा कालो चिया खाएर सडक छोडेर पुनः उकालो यात्रा सुरु भयो । यो बाटोमा गिट्टी नै गिट्टी भएकाले उकालो चढ्न निकै कठिन भयो । सडक खन्दा भीर बनेकाले निकै डरलाग्दो थियो, उकालो ।

जेनतेन उकालो चढेपछि निकै मनमोहक भन्ज्याङमा आइपुगियो । केही बेर विश्राम आवश्यक ठान्यौँ र बस्यौँ । यहीँ पानी खाइयो । फोनको टावर राम्रो भएकोले आउन नसकेका साथीहरूलाई फोन पनि गरियो ।

अबको बाटो ओरालो थियो । पारि डाँडाको काखमा ढलौन गाउँ ढल्किरहेको थियो । गहुँ रोपिएको एउटा पाखो सुन टल्किएजस्तै थियो । त्यही सुन्दरता हेर्दै ओरालो झर्न थाल्यौँ । सानासाना ढुंगा र गिट्टीको कारणले ओर्लिन पनि निकै सकस थियो ।

तथापि, साइपाल हेर्ने धोकोको अगाडिका बाधा सामान्य ठान्दै अविरल ओर्लिरह्यौँ । करिब एक घण्टा ओर्लेपछि मात्रै दुईवटा सानासाना झुप्रा देखिए । टी हाउस रहेछ । त्यहाँ पनि कालो चिया खाएर हामी अगाडिको बाटो लाग्यौँ ।

तल गनइगाड देखियो । झोलुंगे पुल तरेर पारि गयौँ । त्यसपछि निकै कडा उकालो आयो । चढ्नु थियो, त्यसैले विस्तारै चढ्यौँ । सल्लाको पातले वन पनि आयो ।

यहाँ पदमार्ग निकै सजिलो बनाइएको रहेछ । हिँड्न सजिलो भयो । तेर्सो तर हल्का उकालो बाटो हिँड्दै गएपछि मात्रै करिब दुई घण्टामा तीनवटा धारा भएको एउटा ठाउँ देखियो ।

फेरि यहाँ खाली बोतल पुनः भर्ने काम भयो । अलि पर केही घर देखियो । त्यहाँ पुगेर सोधपुछ गर्दा ढलौन त्यही रहेछ भन्ने थाहा भयो ।

मुख्य गाउँँचाहिँ अलि पर थियो । त्यहीँबाट वडाघ्यक्ष नरेन्द्र धामीलाई कल गर्‍यौँ । उनले वडा कार्यालयमै हाम्रो बासको प्रबन्ध गरिदिएका रहेछन् । वसन्त बोहरालाई खानपिनको व्यवस्थाका लागि भनिदिएका रहेछन् ।

माथि डाँडाबाट वसन्त भाइको कल आयो । उनैले बताएको बाटो हिँड्दै हामी वडा कार्यालय पुग्दा साँझको ७ बजिसकेको थियो । वडा कार्यालय पुग्ने बाटो पनि कडा उकालो रहेछ । उक्लिनै एक घण्टा लाग्यो ।

यो बाटोमा निकै राम्रो खोल्सो र झरना पनि रहेछ । त्यो रात हामी वडा कार्यालयमै बस्यौँ । वसन्त भाइले निकै मिठो खाना खुवाए । अनि, मिठो निद्रा सुतेर बिहान ५ बजे झिसमिसेमै उठेर कालो चिया खाएर उकालो समायौँ ।

बिहानी जोसजाँगर भएकोले हिँड्न कुनै कठिनाइ थिएन । बाटोमा यार्सा टिप्न हिँड्नेको लर्को थियो । बाटो भने त्यति राम्रो थिएन । ढुंगैढुंगा असरल्ल छरिएका थिए ।

हिँड्न निकै बाधा दिने खालका ढुंगा देख्दा निकै दिक्क लाग्यो । तर, साइपालले हामीलाई तान्न छाडेको थिएन । दुःखपछि नै सुख आउँछ भन्ने आशामा पाइला लम्किरहेका थिए । बीचमा पुलिस चौकी आयो । यार्साको खोजीमा हिँड्नेहरू पर्ची काट्न लामबद्ध थिए । हामी घुम्न मात्र आएकाले पर्ची काट्नु परेन ।

तलकोटबाट अघिल्लो दिन हामीले लिफ्ट दिएका बाबुछोरी फेरि भेटिए । उनीहरूसँग गफ गर्दै हामी नाग्नातिर उकालो लाग्यौँ । यहाँ त जति माथि पुग्यो उति कठिन उकालो !

ढलौन गाउँलाई तल हेर्दै हामी हिँडिरह्यौँ । ५० पाइला हिँड्दै पछाडि हेर्दै गर्नुको विकल्प थिएन । यहीँ नै एक हुल भेडा पनि उकालो चढिरहेका थिए ।

यहाँ भेडाको बथानमा हामी पनि मिसियौँ ! भेडा हामीभन्दा निकै बलिया र छरिता निक्ले ! बल्लबल्ल उकालो सकियो ।

एउटा विश्रामगृहसहित दुइटा होटेल भेटियो । यार्सा यात्रुहरू चिया खाजा खाँदै थिए । हामी पनि त्यहीँ थपियौँ । कालो चिया र बिस्कुट खायौँ । अनि, एकछिन आराम गरेर काकरकोटतिर लाग्यौँ ।

अबको बाटो ओरालो ओरालो थियो । भूगोल पनि थोरै फरक लाग्दै थियो । एउटा ठूलो तर पारिजातजस्तै फूल फुल्ने नौलो रुख भेटियो । बाटैभरि त्यही रुख रहेछ । निकै शीतल अनुभव भयो ती रुखमुनि हिँड्दा ।

बेनामे त्यो रुख निकै मन पर्‍यो । स्थानीयले पनि त्यो रुखको नाम भन्न सकेनन् । लगभग दुई घण्टा झरेपछि हाम्रो समूह काकरकोट पुग्यो । एउटा होटेलमा भोक र थकाइ मार्न अडियौँ । एक घण्टामा बल्ल खाना तयार भयो ।

खाना खाएर हामी पुनः ओरालो लाग्यौँ । त्यहाँबाट ३० मिनेट झरेपछि एउटा खोला आयो । बाटो त्यही खोलाको ढुंगामा टेक्दै हिँड्नुपर्ने रहेछ । कृष्णजी झन्डै लडेका ! खोलाको त्यो अप्ठ्यारो पार गरेपछि मात्रै सजिलो बाटो आयो । हाम्रा पाइला लम्किरहेकै थिए, निरन्तर ।

दुई घण्टा सेतीको तिरैतिर हिँडेपछि एउटा पुल आयो । लोकन्ते पुल भन्दा रहेछन् यो ठाउँलाई । पुलपारि पनि बाटो सजिलै थियो, सुरुमा । विस्तारै बाटो घरी डाँडामाथि र तल हुन थाल्यो ।

बाटो सजिलो अप्ठ्यारो दुवै । एक ठाउँमा त भिरालो परेको ढुंगामा टेकेर पो हिँड्नुपर्ने । एउटा गल्तीले जिन्दगी खतम पार्ने ! १० फिट तल सेतीको छालमाथिको यो बाटो खतरा !

बाफरे ! पसिना नै आयो मलाई । निकै डर लाग्यो, तैपनि पार गरेँ । त्यसपछि निकै सजिलो बाटो आयो । यसरी करिब दुई घण्टा हिँडेपछि लामाखोला आयो । भोक लागेको थियो । त्यहीँ रहेको होटेलमा चाउचाउ बनाउन लगाएर खायौँ ।

अब हामीलाई दोधले पुग्नु थियो । बाटो अझै तीन घण्टाजति बाँकी थियो । उस्तै जंगल उस्तै बाटो । घरी डरलाग्दो घरी आनन्द आउने । यद्यपि, हामी हिँडिरहेका थियौँ ।

केही बेरपछि ढार्के झरनामा पुगियो । निकै आकर्षक रहेछ यो झरना । त्यहाँबाट अगाडि लाग्दा एउटा निकै डरलाग्दो भीरको बाटो आयो । डराइडराइ हिँडिरहेको अवस्थामा भेडाको बथान पनि त्यही बाटोमा आइपुग्यो । साइड दिनै सकस, तैपनि दिनै पर्‍यो । जेनतेन दिइयो । त्यो कठिन मोड पार गरेपछि मात्रै दोधालेको पुल देखियो ।

दोधाले जक्सन रहेछ । माझा कालापानी, औलागाड राइढुंगी जान मिल्ने । दोधलेबाट बिहान ४ बजे नै हेडटर्च बालेर हामी हिँड्यौँ । सुरुमा सेतीगाडको तिरैतिर तेर्सो बाटो थियो । आहा ! क्या सजिलो हुने भयो अब भन्ने सोचियो ।

तर, १० मिनेट पनि लागेन, उकालो आफ्नै अगाडि तेर्सिनलाई ! सोचेजस्तो कहाँ पाइन्छ र ! लक्ष्यमा पुग्न उकालो नै सही, चुनौती स्वीकार त गर्नैपर्छ । राति पानी परेकोले बाटो चिप्लो पनि थियो । र, निकै सानो पनि ।

कीरा टिप्ने टोली हिँडेको पाइला पछ्याउँदै हामी पनि हिँड्यौँ । सेतीगाडलाई छोडेर उकालो लागेको निकै बेरपछि सेतीको आवाज आउन छोड्यो । यहाँबाट घनघोर जंगलमा पसियो । तैपनि, उकालो सकिने नामै पो लिँदैन बा ! निकै अत्यास लाग्ने बाटो रहेछ ।

छिटफुट मान्छे भेटिए पनि एक्लै हिँड्ने बानी नपरेकालाई यो बाटो त्यति सहज हुँदैन । उकालो निकै कडा थियो । जंगल पनि निकै बाक्लो र अँध्यारो । विस्तारै झिसमिसे उज्यालो भयो ।

अब हेडटर्च नचाहिने भयो । घाम नलागे पनि पसिना बगिरहेको थियो । लगभग डेढ घण्टा हिँडेपछि मात्रै एउटा खोल्सो भेटियो । खोल्सोलाई पूरै बरफले ढाकेको रहेछ । ३५ सय मिटरको उचाइमा नै, त्यो पनि असार मासमा बरफ देख्दा छक्क परेँ म ।

यसअधिका आधार शिविर यात्रामा यति थोरै उचाइमा यस्तो दृश्य देखिएको थिएन । नौलो अनुभूति भइरहेको थियो । बरफ नकुल्ची पारि जान सम्भव थिएन । कहीँ कतै पुलफड्के केही थिएन ।

यो यात्रा निकै जोखिमपूर्ण लागिरहेको थियो । नयाँ भूगोल, यस विषयमा केही थाहा थिएन । हातले छाम्यौँ, निकै कडा रहेछ बरफ । दुईचारवटा ठूलाठूला ढुंगा फाल्दा पनि बरफ नफुटेपछि हिँड्दा केही नहोला भन्ने निष्कर्षमा हामी पुग्यौँ ।

त्यसपछि बरफमा टेकेर पानीको खोल्सो तरियो । तल पानी बगेको आवाज सुनिएको थियो । यो मेरो लागि नितान्त नौलो अनुभव थियो । जसोतसो पारि पुगेपछि उकालो झन् कडा महसुस भयो । चढ्न निकै गाह्रो । चढ्नु थियो, जसोतसो चढियो ।

चढेर पाँच मिनेटजति तेर्सो हिँडेपछि पहिलो खर्क आइपुगियो । तल्ला थागंवा भनिँदो रहेछ यसलाई । त्यसउप्रान्त करिब पाँचवटा फुटबल मैदान बनाउन पुग्ने चौर आयो । चौरमा दुईवटा पाल टाँगिएका थिए, चौरभरि सयौँको संख्यामा भेडाच्यांग्रा चरिरहेका थिए । गोठालाका रूपमा दुईवटा कुकुर थिए । मान्छे कोही थिएनन् ।

चौर पनि रायोको साग रोपिएजस्तो देखिने, अचम्म ! कुनै किसानले ठूलै लगानी लगाएर साग रोपेजस्तो लाग्यो । यो पहिलो चौर नाघेर अलि पर पुगेपछि त्योभन्दा पनि ठूलो तर भिरालो चौर फेला पर्‍यो ।

यसलाई मल्ला थागंवा भनिँदो रहेछ । त्यसको दृश्य पनि त्यस्तै । चौरभरि भेडाच्यांग्रा । तर, मान्छे कोही छैनन् । चौरभरि यतिका सम्पत्ति छोडेर कसरी जान सकेका होलान् ? म जिल्ल परिरहेको थिएँ ।

अक्करे भीरमुनि तेर्साे बाटो हिँड्दै गएपछि तेस्रो चौर आयो । चौर अलि सानो भए पनि त्यहाँ भने मान्छे नै भेटिए । ती बाजुरातिरबाट आएका रहेछन् । भेडा चराउने अनि जडीबुटी संकलन गर्ने उद्देश्यले ती आएका रहेछन् ।

हामी त्यो चौर पनि नाघेर परै गयौँ । अलि पर पुगेपछि पुनः सेतीगाड नै नाघेर पारि गयौँ । सेतीलाई पनि बरफले ढाकेको थियो । त्यहाँ पुल भएकाले पारि जान खासै सकस भएन । सानो गल्छी, दुवैतिर हिउँ बोकेका ठूला पहाड ।

हामी निकै आकर्षक ठाउँमा पुगेका थियौँ । यसलाई ढुंगेसाधु भनिँदो रहेछ । हामी पुलपारिको उकालो चढ्दै गयौँ । यति बेला भने जति माथि गयो उति राम्रो दृश्य देखिन थाल्यो ।

३० मिनेटजति उकालो चढेपछि यसो पछाडि फर्किएर हेरेको त तल दुईवटा साना तर निकै आकर्षक पोखरी देखिए ।

पर क्षितिजमा कालापानी र माझाखर्क पनि देखिएको थियो । यसरी जतिजति माथि गयो उति राम्रो भूगोल देखिँदै थियो । तर, हिँड्न बहुतै सकस । तर पनि राम्रो कुरा हेर्न दुःख गर्नैपर्छ भन्ने मान्यता बोकेर कठिन यात्रा वहन गर्दै थियौँ ।

लगभग डेढ घण्टा हिँडेपछि पर कतै पालहरू टाँगिएको देखियो । अलि मैदानी भाग पनि आयो । क्रमशः उपत्यका ठूलो हुँदै गइरहेको भान भयो । त्यहाँ वरिपरि झरना नै झरना देखिरहेको थियो । यी दृश्य हेर्दै अघि हामी बढिरहेका थियौँ ।

हामी एउटा छाप्रोनजिक पुग्यौँ । त्यहीँ भेटिए ज्योति क्षेत्री । हामीलाई आफ्नो होटेलमा बस्न आग्रह गरे । बिहानभरिको यात्रामा बल्ल बोल्न खोज्ने एक पात्र भेटेका थियौँ । उनको आग्रहलाई तत्काल स्वीकार गर्‍यौँ । उनी आफ्ना हराएका च्यांग्रा खोज्न त्यहाँ आएका रहेछन् ।

अनि, उनीसँग गफिँदै हिँड्न थाल्यौँ हामी पनि । करिब ४५ मिनेटको यात्रापछि उनको होटेलमा पुग्यौँ । र, झोला बिसाएर खाजाको अर्डर गर्‍यौँ ।

चाउचाउ सुप खाएर त्यो दिन त्यहीँ बसियो । यो तल्लो राइढुंगी थियो । दिउँसो २ बजेको समयमा हामी त्यहाँ पुगेका थियौँ । तल्लो राइढुंगीको बसाइ निकै आनन्ददायक भयो । दिउँसै बास बसेकाले शरीरमा तागत मजैले भरिएको थियो ।

भोलिपल्ट एकाबिहानै राइढुंगीबाट ताल जान हिँडियो । सुरुमा सजिलो बाटो अनि ठाडोगाढ खोलाको किनारैकिनार हिँड्न थाल्यौँ । नदीको छाल, स–साना झरना, खोल्सा हेर्दै टाउकोमा हेडटर्च बालेर डेढ घण्टा हिँडेपछि मात्रै बल्ल उज्यालो सर्वत्र फैलियो ।

पर क्षितिजमा एउटा थुम्को देखियो । थुम्कोछेउबाट नदी बगिरहेको थियो । पक्कै ताल त्यहीँ पारि हुनुपर्छ भन्ने अनुमान गरियो । हाम्रा पाइला लम्किरहेका थिए ताल भेट्न । पथप्रदर्शक भाइ धनञ्जय बोहराले निकै राम्रो र सजिलो ठाउँ खोज्दै हिँडाइरहेका थिए ।

बनिबनाउ बाटो थिएन । ऊ त्यहीँ पर ताल छ भन्दै डाँडा चढ्नुबाहेक अरू विकल्प थिएन । डाँडाको फेद नै फेद हिँड्दै थियौँ हामी ।

लगभग एक घण्टा हिँडेपछि खोला तर्नुपर्ने भयो । नतरी जाँदा निकै कठिन उकालो उक्लनुपर्थ्यो । उकालो जान सक्ने अवस्था नै थिएन । त्यसैले खोला तर्ने सजिलो ठाउँ खोजेर पारि गयौँ ।

पारि गएपछि माथिल्लो राइढुंगीबाट आउने बाटो भेटियो । यतिखेर निकै सजिलो चौर नै चौर भएर हिँडियो । कीरा टिप्न हिँडेका एक टोलीसँग यहाँ पनि भेट भयो । केही बेर उनीहरूसँगै कीरा पनि खोज्यौँ । तर, हामी कीरा खोज्न आएका थिएनौँ । त्यसैले आफ्नो बाटो समाएर तालतिरै लाग्यौँ ।

यो चौर सकिएपछि निकै डरलाग्दो भीर आयो । तल ठाडोगाड बगिरहेको, माथि भीरबाट हामी हिँड्नुपर्ने । घाँसे बुच्कामा गोडा अँठ्याएर हिँड्नुपर्ने । कहालीलाग्दो बाटो । र पनि हिँडने आँट गर्‍यौँ । र, डराइडराइ अत्यासिलो भीर पार गरियो ।

त्यसपछि केही सजिलो बाटो आयो । तेर्सोतेर्सो बाटो हिँड्न पाइयो । ठाउँठाउँमा जमेको हिउँँँको चौर पनि भेट्न थालियो । रमाउँदै रमाउँदै त्यो खण्ड पार गरेपछि ठूलठूला ढुंगैढुंगा पार गर्नुपर्ने अवस्था आइलाग्यो ।

नहिँडी सुखै थिएन । थकाइ लागे पनि ताल हेरिछाड्ने रहरका कारण उत्साह घटेको थिएन । ढुंगैढुंगाको चाङ पार गर्दै क्रमशः टुप्पातिर हामी लागिरहेका थियौँ । हिमाल टल्किरहेको थियो । त्यही हिमालको दृश्यले हामीलाई क्रमशः माथिमाथि तानिरह्यो ।

अलि सम्म परेको ठाउँ आयो । पर हिमाल र त्यसको अगाडि अर्को सानो पहाड । त्यसको छेउबाट बगिरहेको ठाडोगाड । हामीले अनुमान गर्‍यौँ, ताल पक्कै त्यहीँ पारि हुनुपर्छ ।

हामीले देखेको यो दोस्रो थुम्को थियो । यहाँ हिँड्ने कुनै बाटो थिएन । ढुंगैढुंगा फड्किँदै हामी थुम्कोतिर लाग्यौँ । निकै सकसले त्यो थुम्को पार त गर्‍यौँ, तर अर्को भीमकाय थुम्को पो ठिंग हाम्रा अगाडि उभिएको पायौँ । हामी जिल्ल पर्‍यौँ ।

पथप्रदर्शक धनञ्जय भाइले हामीलाई आश्वस्त पारे– अब ताल आउनै लाग्यो । बल्लतल्ल त्यो थुम्को उक्लिएर टुप्पोमा पुगेपछि तालको पहिलो मुहार देखियो । खुसीले म चिच्याएँ । अरू साथी पछाडि नै थिए । तालनजिकै आइपुगिएछ भन्ने खुुसी स्वाभाविक थियो ।

थुम्कोबाट लमतन्न परेको ताल पर हिमालसम्मै पुगेको थियो । यो निकै लामो थियो । मेरो अनुमानमा कम्तीमा पनि तीन किलोमिटर लामो होला, ताल ।

त्यहाँ आधिकारिक नापनक्सा भएको कुनै संकेत बोर्ड राखिएको थिएन । जेठको मध्यमा पनि तालमा आधा बरफ र आधा पानी थियो । हाम्रो कम्पासले तालको उचाइ ४५ सय मिटर देखाइरहेको थियो ।

थुम्कोबाट थोरै तल झरेर हामी तालको किनारैकिनार हिँड्न थाल्यौँ । त्यहाँ कुनै बाटो थिएन, उही ढुंगा टेक्दै हिँड्नुपर्ने ।

जेठी बहुरानी हिमालकै मुनि रहेछ यो ताल । जान सकिने विन्दुसम्म हामी गयौँ । र, दुई घण्टाजति तालमा बिताएर रमाइलो गरेर वरिपरिका हिमाललाई बादलले ढाकेपछि मात्रै हामी उक्लिएकै बाटो झर्न थाल्यौँ ।

उक्लिन ६ घण्टा लागेको थियो । ओर्लिंदा तीन घण्टामै हामी ज्योति भाइको होटेलमा आइपुग्यौँ ।

हामी पुगेर आएकोमा ज्योति भाइ दंग देखिए । हाम्रा लागि च्यांग्र्रा काट्ने निधो गरे भाइले । साँझ च्यांग्राको मासु र भात खाने निर्णय गरेर दिउँसोको खाजा खाएर हामी आराम गर्न थाल्यौँ ।

भोलिपल्ट एकाबिहान हेडटर्च बालेरै हामी बाहिरियौँ, राइढुंगीतिरको साइपाल बेसक्याम्प अनि भकामभुकुम ल्यान्टर तालतिर ।

ज्योति भाइको छाप्रोबाट हिँडेको ३० मिनेटमा एउटा दोभानमाथि पुगियो । बाटोभन्दा तल दोभानमा दुई नदी मिसिएका थिए । दक्षिणतिरबाट ठाडोगाड र पूर्वबाट भकामभुकुम गाड आएर त्यो दोभानमा एकापसमा मिलेपछि सेतीगाड बन्दो रहेछ ।

दोभानलाई माथि डिलबाट हेर्दै हामी ठाडोगाडमाथिको फड्के तरेर माथिल्लो राइढुंगीतिर लाग्यौँ । त्यहाँबाट हिँडेको ३० मिनेटजतिमा माथिल्लो राइढुंगी पुगिएको थियो ।

चौर निकै ठूलो रहेछ । चौरको माथिल्लो कुनामा कीरा टिप्नेका छाप्रा तल्लो राइढुंगीको भन्दा धेरै रहेछ । मान्छेहरूको चहलपहल निकै रहेछ त्यहाँ । हामी भने माथि छाप्रातिर नपसेर सिधै भकामभुकामतिरै लाग्यौँ ।

दक्षिणतिर छाप्राहरू, उत्तरतिर अग्लो चौर र बीचमा बाटो थियो । त्यो चौरलाई एयरपोर्ट चौर भनिँदो रहेछ । हेर्दा पनि एयरपोर्टजस्तै लाग्ने । चौर समथर र निकै ठूलो थियो । चौरपारि खोला । हामी एकनास चौरमा हिँडिरहेका थियौँ ।

पर बाटोकै छेउमा एउटा पाल टाँगेको भेटियो । पसल रहेछ त्यो । कीरा टिप्नेलाई लक्षित गरेर राखिएको मौसमी पसल रहेछ त्यो ।

त्यसै पसलमा चाउचाउ र चिया खाएर हामी आफ्नो बाटो लाग्यौँ । चौर त कति लामो हो, सकिने त नामै नलिने ! निकै बेर हिँडेपछि मात्र फेरि एउटा अर्को दोभान आइपुग्यो । एउटा खोला दक्षिणपूर्वतिरबाट आइरहेको अर्को भकामभुकुमगाड पूर्वबाट ।

धनञ्जय भाइले बताएअनुसार यो खोला हुम्लातिरबाट आउँदो रहेछ । हामी त्यही खोलाको किनारकिनार हिँड्न थाल्यौँ । यसरी ३० मिनेटजति हिँडेपछि खोला पूरै दक्षिणतिर लाग्यो । यो खोलाको किनारकिनार हिँडियो भने एउटा पास आउँछ रे ! त्यो पार गरेपछि हुम्ला आउँदो रहेछ भन्ने जानकारी पनि पायौँ ।

तर, हाम्रो गन्तव्य हुम्ला थिएन । हामी भकामभुकुमतिर जान खोला तर्न थाल्यौँ । खोला तरेर डाँडामाथि उक्लियौँ ।

निकै ठाडो थुम्को चढेर हामी माथि लाग्यौँ । टुम्पोमा अडिन एक फिट मात्रै ठाउँ थियो । हामीले त्यहाँ अडिएर भकामभुकुम ताल र खोला हेर्न थाल्यौँ । माथि साइपाल हिमाल झललल टल्किरहेको थियो । बेलाबेलामा हिमपहिरो पनि खसिरहँदो रहेछ ।

यहाँ सानाठूला हिमपहिरो खसेको आफ्नै आँखाले देख्न पाइयो । वास्तवमा हामी निकै अग्लो थुम्कोमाथि थियौँ । तीनवटा ताल र पर पश्चिम दिशामा खोला बगिरहेको सुन्दर दृश्य देख्दा मन आनन्दित भयो ।

पहिलो तालबाट दोस्रो, दोस्रोबाट तेस्रो हुँदै त्यही पानीबाट खोला बनेको आफ्नै आँखाले देख्न पाइयो । सेती नदीको उद्गमस्थल निकै सुन्दर लाग्यो । माथि साइपाल हिमाल, तल तीनवटा ताल । माथ्लो तालको उत्तरी सिरानमा खरानी रङको ढलान गरिएजस्तो दृश्य ।

हिमाललाई सोही खण्डले थामेकोले होला, स्थानीयले त्यसलाई ल्यान्टर भनेको । मनमोहक ठाउँले हामीलाई तानिरह्यो । गाह्रो नै भए पनि माथिल्लो तालसम्म जान मन लाग्यो ।

हामी उक्लिएको थुम्को विस्तारै ओर्लिन थाल्यौँ । अघि उक्लिँदा एउटै खण्डको त्यो थुम्को ओर्लिंदा पारिपट्टि तीन तहमा विभाजित रहेछ । तीनै तह ओर्लिएपछि बल्ल माथिल्लो तालमा पुगियो ।

माथिबाट सानो देखिएको ताल त्यहाँ पुग्दा निकै ठूलो अण्डाकार पो देखियो । तालको किनारैकिनार हिँडेर अन्तिम भित्तोसम्म पुगेर हेरेको त हामीले ढुंगा ठानेको पहाड बरफको ढिक्को रहेछ । बाफरे, पूरै पहाड नै बरफ !

यस्तो अद्भुत दृश्य पहिलोपटक देखिरहेका थियौँ हामी । त्यो पनि चार हजार मिटरकै आसपासमा । अझ अनौठो त त्यही बरफमुनिको सुरुङबाट हिमपहिरो जाँदा खसेको हिउँँ र पानी बग्दै तालमा आइरहेको थियो ।

मनमनै कल्पना गरेँ, ‘यो हिउँँको पहाड पग्लियो भने साइपालको अस्तित्व समाप्त हुन्छ होला ।’ बेलाबेलामा ती चट्टानरूपी हिउँँको पहिरो पनि जाँदो रहेछ । तालमा ढिस्को खसेको दृश्य पनि देख्यौँ । तालमा बरफमा ढिक्काहरू तैरिरहेका थिए ।

हामी अचम्म मानिरहेका थियौँ । यस्तो अद्भुत दृश्य यसअघि कहिल्यै देख्न पाइएको थिएन । यसरी हामी भकामभुकुम क्षेत्रमा निकै बेर रमायौँ । अनि, थुम्को नचढी तालको किनारकिनार दुई नदीको संगममा आइपुग्यौँ ।

दोभानमा खोला तर्न अलि गाह्रो हुने देखेर अलि माथिबाटै दक्षिणबाट आएको खोला तरेर मैदानमा आइपुगेका थियौँ, हामी । अनि, पहिलेकै बाटो समाएर राइढुंगी आइपुग्यौँ ।

ज्योति भाइको होटेलमा हाम्रा लागि खाना तयार थियो । खानापछि केही क्षण आराम गरेर हामी साइपालको अर्को बेसक्याम्प जाने ध्येयका साथ दोधाले झर्ने तयारीमा लाग्यौँ ।

दुई दिन ज्योति भाइकोमा बसेर राइढुंगी भरपुर घुमेर हामी साइपालको अर्को बेसक्याम्प औलागाड जान दोधलेतिर झर्न थाल्यौँ । ज्योति भाइले आत्मीयतापूर्वक बिदा गरे ।

त्यहाँबाट करिब तीन घण्टा हिँडेर हामी दोधाले पुगेका थियौँ । साँझ ५ बजिसकेकोले त्यहीँको एउटा होटेलमा बास बस्यौँ । र, भोलिपल्ट बिहानै हेडटर्चको सहारामा औलागार्डतर्फ लाग्यौँ । औलागाड किनारमाथिको डिलबाट बाटो रहेछ । औलागाड अविरल बगेर सेतीगाड भेट्न आतुर थियो । हामी हेडटर्च बालेर डिल नै डिल हिँडिरहेका थियौँ ।

तल नदी, बीचमा डरलाग्दो भीरको माथि हामी थियौँ । हाम्रो पाइला अगाडि लम्किरहेका थिए । पानी पर्‍यो । हामी रेनकोट लगाएर हिँड्न थाल्यौं । केही बेर हिँडेपछि उज्यालो पनि भयो । परपरका सुन्दरतम दृश्यहरू देखिन थाले ।

राइढुंगीको जस्तै सागबारीझैँ लाग्ने चौर । पर भिरालो चौर लमतन्न परेको । लभभग दुई घण्टाको हिँडाइमा हामी औलागाड पुग्यौँ । यहाँ प्रशस्त गोठ रहेछन् । चौरमा भेडाच्यांग्रा चरिरहेका थिए । गोठालाहरू गोठमा थिए ।

हामी अगाडि बढ्दै साइपाल बेसक्याम्पतिर लाग्यौँ । बाटो तल र माथि थुप्रै गोठ भेटिए । यता पनि झरना उता पनि झरना !

औलागाडमा पश्चिमउत्तर दिशाबाट अर्को नदी पनि आएर मिसिएको थियो । त्यो दोभानपारि निकै आकर्षक, भिरालो तर ठूलो चौर पनि रहेछ । आधा चौरचाहिँ खोलाले बगर बनाइसकेको रहेछ । डाँडाको टुप्पामा पनि निकै राम्रो चौर रहेछ । कीरा टिप्नेको ताँती त्यतै थिए । हामी भने आधार शिविरतर्फ लाग्यौँ ।

औलागाडपछिको बाटो केही बेर त निकै सजिलो थियो । तेर्साे बाटो सकिएपछि त कडा उकालो आयो । माथि टुप्पोमा एउटा मन्दिरजस्तो पनि देखियो । हामीले त्यहीँ पारि आधार शिविर होला भन्ने अनुमान लगायौँ ।

विस्तारै बाटो अप्ठ्यारो हुँदै आयो । जति नजिक पुग्यो मन्दिर भएको थुम्को अझै पर सरेजस्तो लागिरहेको थियो । जसरी होस्, उकालो पार गरेर त्यो मन्दिर भएको थुम्कोमा पुगियो । यहाँबाट त आधार शिविर कहाँ हो कहाँ !

एकातिर लमतन्न परेको धोती आकारको थुम्को ! वल्लो छेउबाट पल्लो छेउसम्म कम्तीमा दुई किलोमिटर लामो होला । त्यसैको वल्लो छेउबाट औलागाड पूरै भूमिगत भएर कता हरायो हरायो ।

हुन त तलदेखि नै औलागाडलाई बरफले ठाउँठाउँमा छोपेको थियो । त्यो हेर्दै हामी अगाडि बढिरहेका थियौँ । यो मन्दिरवाला थुम्कोमा आइपुगेपछि थोरै ओरालो झर्नुपर्ने रहेछ । झरियो पनि । एउटा खोल्सो भेटियो, त्यो पनि बरफले छोपिएको !

बरफमुनि पानी बगेको कलकल सुनियो । त्यसमाथि चढेर तर्न निकै डर लाग्यो । तर्न मिल्ने छेउकुना खोज्दाखोज्दै समय खेर गयो । किनार नै किनार हिँडेर एक ठाउँबाट बल्ल पारि पुग्यौँ ।

पारि पनि बाटो कहाँ सजिलो थियो र ! जसोतसो हिँड्दै एउटा चौरमा पुग्यौँ । छेउमा सानो खोल्सो बगिरहेको थियो । अचम्म, विशाल चौरमा हिउँँ भरिएको थियो, तल खोल्सीमा भने पानी बगिरहेको ! सायद हिउँँ पग्लिएको हुनुपर्छ ।

भिरालो चौर नै आधार शिविर हो कि जस्तो पनि लाग्यो । तर, त्यहाँ कुनै संकेत बोर्ड थिएन । बाटो पनि हिउँँमुनि पुरिएको अवस्थामा थियो । हामीले यताउता हेर्‍याँै । हिउँँको चौरमा दुई किशोरी नानीहरू भेटिए । ती पनि कीरा टिप्न हिँडेका थिए । तर, टाउको दुखेर त्यहीँ बसेका रहेछन् ।

हामीले आफूसँग भएको औषधि दियौँ । उनीहरूले नै बताएअनुसार आधार शिविर अलि पर भएको थाहा पायौँ । अनि, हामी उनीहरूले नै देखाएको बाटो हिँड्न थाल्यौँ ।

निकै बेर हिँडेपछि अघिको थुम्कोको पल्लो छेउको डिलमा पुग्यौँ । डिलबाट हेर्दा पहिरो नै पहिरो गएजस्तो खाल्डो देखियो । खाल्डामा तीन ठाउँमा पानी जमेर ससाना पोखरी बनेका थिए । औलागाड कहाँ हो कहाँ ! त्यही पहिरोमुनि गायब !

निकै पर पिरामिड आकारका दुई थुम्का देखिए । हामी उभिएको ठाउँमाथि बादलभित्र साइपाल लुकेको थियो । भुइँबाहेक आकाश पूरै बादलमा लुकेपछि हिमाल सबै हराए ! हिमाल हेर्न आएका हामी खिन्न भयौँ । बाटोमा हिमालले खुबै साथ दिएको थियो, तर ठाउँमै आएपछि गायब भयो ।

धन्न भुइँमा बादल थिएन । हिमाल नदेखिए पनि हामीले रमाइलोमा कुनै कमी आउन दिएनौँ । जे देखिन्छ त्यही हेर्न थाल्यौँ । ती पिरामिड आकारकै थुम्कोनिर पुग्ने अठोट गर्‍यौँ । अनि, बाटो लाग्यौँ ।

अलि पर पुगेपछि पहिरोले बाटो नै खाइसकेको रहेछ । कीरा टिप्न आएका मान्छेका पाइला पछ्याउँदै त्यो पहिरो पनि हामीले पार गर्‍याँै । उप्रान्त केही सजिलो बाटो आयो ।

एकातिर भीमकाय पहाड, त्यही पहाडमाथि साइपाल हिमाल । अर्कोतिर सानो थुम्को । थुम्कोपारि पुरिएको औलागाड । पिरामिड आकारको थुम्को सामुन्ने पुगेपछि औलागाड बाहिर निस्केको रहेछ ।

त्योभन्दा पर जाने बाटो थिएन । वरिपरि लमतन्न परेका चौर, ठाउँठाउँमा स्केटिङ खेल्न मिल्ने गरी जमेको हिउँ । कस्तो राम्रो सानो उपत्यका ! राइढुंगीभन्दा सानो भए पनि त्यो उपत्यका निकै आकर्षक लाग्यो । हामी निकै बेरसम्म रमाएर साइपालको काखमा खेलिरह्यौँ ।

साइपाललाई नजिकबाटै चुम्बन गर्‍यौँ । हामीलाई थाहा नै थिएन यो आधार शिविर हो÷होइन भन्ने ! कतै कुनै संकेत पनि राखिएको थिएन । कम्तीमा आधार शिविर जनाउने एउटा बोर्ड मात्रै राखिदिएको भए पनि त सजिलो हुन्थ्यो, ठम्याउन ।

यतिका दुःख गरेर आइयो तर हामी पुगेको ठाउँ आधार शिविर हो÷होइन पत्तो पाइएन ! कोही मान्छे थिएनन् त्यहाँ, जोसँग यसबारेमा सोध्न सकियोस् ।

अन्ततः त्यही ठाउँलाई आधार शिविर ठानेर हामी बिदा भयौँ । र, जुन बाटो आएका थियौँ, त्यही बाटो फर्कियौँ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro