site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याहरूको समन्वयात्मक रूपमा समाधान गर्ने विषयमा बुधबार परराष्ट्र, गृह र श्रम तथा रोजगारमन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी र ती मन्त्रालयका सचिवहरू सम्मिलित सो बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।

रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्नेबारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरूको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने अवस्था रहेकाले यस विषयमा छलफल गर्न मन्त्री डा. राणाले सो संयुक्त बैठक आह्वान गरेकी थिइन् ।

बैठकमा मन्त्री डा. राणाले भनिन्, “नेपाल सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रूपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन् । कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ । भोलि कोही समस्यामा परे भने उनीहरूको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ । त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि अब सोच्नुपर्छ ।”

मन्त्री डा. राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अव्यवहारिक नीति तथा कानुनहरू हटाएर सहज बनाउनुपर्ने बताइन् । उनले भनिन्, “सरकारले कानुनी रूपमा रोके पनि अवैध बाटोबाट नेपालीहरू आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधानहरू अब किन राख्ने ?”

उनले भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यवहारिक रूपमा अनुगमन गर्न, श्रम स्वीकृति सम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि सुझाव दिइन् ।

सो बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई अब समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गरे ।

श्रम तथा रोजगारमन्त्री भण्डारीले श्रम कूटनीति अहिलेको नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृतिसम्बन्धी नवीकरण गरेर व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro