site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कविता जटिल विधा हो !

काठमाडौं । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रूपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुवै बोल्ने दरिलो आयामसमेत मानिन्छ कविता ।
 
पोखरामा जारी १२औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिवलको तेस्रो दिन शनिबार ‘कविताको कर्म’मा बोल्दै कवि कल्पना चिलुवालले कविताले चेतनाको अग्रपक्ष बोकेर हिँडेको उल्लेख गरिन् । पछिल्लो दशकमा कविलाई हेर्ने दृष्टिकोण पनि बदलिएको उनको भनाइ रह्यो ।
 
‘केही दशक पहिला कवि भन्नेबित्तिकै एउटा झुत्रो, मैलो कपडा लगाएको, चप्पल पड्काउँदै हिँड्ने विम्ब स्थापित गरिएको थियो । अहिले आइसक्दा त्यो विम्ब विस्तारै फेरिँदै गएको छ । हरेक समाज परिवर्तनका आन्दोलनहरूमा कहीँ न कहीँ कवितालाई इतिहास देखिने प्रयोग गरिँदै आइरहेको छ,’ चिलुवालले भनिन् । 

कविताको छोटो वाक्यांशले समेत मान्छेको मस्तिष्कलाई झंकृत पार्न सक्ने उनको भनाइ छ । 

कवितामा जटिल र गहिरो विषयवस्तु रहेको बताउँछन् कवि तथा गीतकार रमेश क्षितिज । उनी भन्छन्, ‘कविता विषय जटिल हो । कवितामा कर्ममा किन लागियो भन्ने अत्यन्त गहिरो प्रश्न हो, त्यो प्रश्नको उत्तर मैले अहिले पनि खोजिरहेको छु । कविताले के दिन्छ समाजलाई भन्ने कुरा बहसको विषय हुनसक्छ ।’
 
उनको विचारमा कविताले होसपूर्वक बाँच्ने तरिका र मूल्य दिन्छ । गाउँमा रेडियोमा कविता सुनेर हुर्किएका क्षितिज कविताको पुस्तक पढ्दै कवितासँग साक्षात्कार भएको बताउँछन् ।

कविले समाजमा नजरअन्दाज गरेको विषय शब्दमार्फत उतार्ने बताउँछन् उर्दू साहित्य फाउन्डेसनका अध्यक्ष तथा शायर सहर महमूद । 

‘म जुन ठाउँबाट आउँछु त्यो ठाउँमा सायर जन्मिछ । बन्दैन । जब उसलाई मौका मिल्छ तब उसको अन्तरआत्माबाट शायरी आफैँ निस्किन्छ । आममान्छेले समाजमा देख्न नसकेका विषय शायरले देख्छ र आफनो अन्दाजले लेख्छ,’ महमूदले भने । 
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro