site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जिन्दगीको यौटा मोड : राष्ट्र बैंक

मेरा पाठक र शुभचिन्तकहरूलाई थाहा नहुन सक्छ, कुनै दिन मैले नेपाल राष्ट्र बैंकमा जागिर खाएको थिएँ भन्ने कुरा ।

वि.सं. २०२१ मा बी.ए. जाँच (प्राइभेट) दिन काठमाडौं पुगेको थिएँ । डेरामा थियौँ । मेघराज मञ्जुल र म वसन्तपुरछेउ झोँछेको यौटा कोठामा बसेर कुनै जागिर खाने सपना बुन्थ्यौँ । जेमा खुल्थ्यो जाँच दिन्थ्यौँ । 

संयोगले राष्ट्र बैंकको असिष्टेन्ट र सरकारी ए.पी.डी.ओ. (सुब्बासरह) खुल्यो । राष्ट्र बैंकमा मैले र मञ्जुलले लिखित परीक्षा दियौँ । दुवैको नाम दुवैतिर निस्क्यो । 

साथीभाइमा ठूलो सरसल्लाह भयो– कुन जागिर खाने ? मलाई राम्रो थाहा छ–त्यो समय असिष्टेन्टको तलब लगभग रु. दुई सय थियो, अनि दिनको आठ आना खाजा भत्ता । साथीहरूले राष्ट्र बैंककै जागिर राम्रो भने । मैले नियुक्ति लिइहालेँ । 

त्यही बेला साथी कृष्ण जोशी र घटराज भट्टराईहरूले ए.पी.डी.ओ.मा जागिर खाए ।

त्यो बेला राष्ट्र बैंकको कार्यालय थियो, रैनबसेरामा (अहिले दमकलको अफिस छेउछाउ) । मेरो काम थियो भा.रु., ने.रु. सटहीको रेकर्ड राख्ने । हरिशङ्कर त्रिपाठी मेरा हाकिम थिए, जो पछि गभर्नर समेत भए ।

उनी पनि भर्खरै अफिसरमा आएका रहेछन्, अत्यन्त सहयोगी र कुशल व्यवस्थापक । त्यसबेला दिनको आठ आनाले चिउरा, तरकारी र चिया खान पुग्थ्यो । एक किसिमको रमाइलो थियो । धेरै साथीभाइ चिन्ने र सङ्गत गर्ने राम्रो अवसर पाएँ ।

त्यसबेला त्यो जागिर मेरा लागि ठूलै थियो, जिन्दगी रमाइलो नै थियो । १४ वर्षकै उमेरदेखि मास्टरी खाँदा–खाँदा दिक्क भएको थिएँ । भोजपुरजस्तो दुर्गम ठाउँमा बसेको मान्छे काठमाडौं राजधानी, शहरमा बस्न पाउँदा मैले आफूलाई भाग्यमानी नै ठानेको थिएँ । 

राष्ट्र बैंकमा काम गर्ने साथीहरू रामविक्रम खाँण, वासुदेव, केशव आदिआदिसँग परिचय मात्र होइन, गाढा मित्रता पनि भयो । खाँण त कवि पनि रहेछन्—साह्रै मिलनसार र भद्र ।

उनले एक दिन अचानक प्रस्ताव राखे– यौटा कवितासंग्र्रह निकाल्छु, तपाईंले भूमिका लेखिदिनुपर्‍यो । म त छक्क परेँ । के कसरी उनले मलाई पत्याएका हुन् ! त्यो बेला साहित्यिक क्षेत्रमा म बामे सर्दै थिएँ । त्यत्रो जिम्मेवारी ! म डराएँ ।

बूढो भइएछ ! अहिले त्यो पुस्तकको नाम बिर्सेर मेरो निजी पुस्तक सूची पल्टाएँ । ६४३ नं. मा दर्ता भएको रहेछ, ‘बित्दै गएका दिनहरू’ (कवितासंग्रह) – रामविक्रम खाण । मूल्य रहेछ रु. १.५०, व्यास प्रेस, टङ्गालमा वि.सं. २०२२ मा छापिएको यस कवितासंग्रहमा भूपि शेरचनले गजब लेखेका रहेछन्, “यो सँगालोले नेपाली काव्यजगत्लाई एउटा भावी सशक्त, संवेदनशील र सजग कविको आशा दिलाउँछ ।”

त्यसमा शंकरलाल राजवाहक र चिन्तनराज पाण्डेको भूमिका पनि रहेछन् । मैले भूमिका नभनी शीर्षक दिएको रहेछु, ‘तिम्रो मृत्यु अर्थहीन हुने छैन ।’ 

मैले लेखेको यौटा वाक्य मात्र उद्धरण गर्छु, ‘ऊ लहरजस्तो आयो– हामी नदी भयौँ र बग्यौँ ।’

काठमाडौंमा बस्दै जाँदा, जागिर खाँदै जाँदा हल्ला भयो, स्वाभाविक हो । खबर आयो, “तपाईंलाई युधिर बाबुसाहेबले बोलाउनुभएको छ, थापाथली आउनोस् ।” 

यौटा उपन्यासकारका रूपमा नाम सुनेको थिएँ, केही पढेको पनि थिएँ । कुनै दिन पुगेँ युधिर थापाको कार्यालयमा । साह्रै गम्भीर र सहृदयी व्यक्तित्व । म यौटा सानु कर्मचारी, डराइ डराइ नम्र भएर कुरा गर्थें ।

उहाँ भने साथीभाइसँग जस्तो कुरा गर्न लाग्नुहुन्थ्यो, “मेरो घर ज्ञानेश्वरमा छ । कहिलेकाहीँ आउने गर्नोस् । मेरो लेखनलाई सहयोग गर्नुहोस्, तपाईं राम्रो लेखक हुनुहुन्छ ।”

विस्तारै म उहाँको साथीजस्तै भएँ । उहाँले लेख्नुभएका उपन्यास र खण्डकाव्यको पहिलो पाठक र समीक्षक । अनि साँझमा ह्विस्कीका रङ्गहरूको पनि साथी । अचम्म लाग्थ्यो– कस्तो मिहिनेत र लेखनप्रति प्रेम ! 

कहिलेकाहीँ रातरातभरि लेखेर बिहानै सुनाउन मलाई बोलाउनु हुन्थ्यो । मैले एकाबिहानै वसन्तपुरदेखि ज्ञानेश्वरसम्म पुग्नुपर्थ्यो । उहाँले त्यो बेला मप्रति दर्शाउनु भएको माया, प्रेम र स्नेह...। अहो ! यहाँ वर्णन गर्ने शब्दहरू मसँग छैनन् ।

यो संस्मरण लेखिरहने क्रममा त्यसबेलाका उहाँका चर्चित उपन्यासहरू ‘लुकेको समाज’, ‘सिष्टर कल्पना’, ‘मुटुका अनेक टुकढुकी’ मात्र सम्झिरहेको छैन, उहाँका रोमान्टिक पात्र–पात्रा र स्वयम् उहाँको रोमान्टिक शब्दहरू पनि कताकता सम्झना भइरहेछन् ।

पठन संस्कृतिको विस्तारमा उहाँका उपन्यासहरूको ठूलो योगदान छ जस्तो लाग्छ । मनमा कताकता नमीठो अनुभूति हुन्छ–उहाँ बित्नुभएको पनि धेरै वर्ष भयो भनेर ।

त्यस बेला टेलिफोन थिएन । आकाशवाणी आउन लाग्यो, भोजपुरमा खाली भो, यहीँ सरुवा भएर आउनू । त्यो बेला पनि घरको अवस्था राम्रो थिएन । ठूलो परिवार, आम्दानी कम । 

म भोजुरमा सरुवा भएँ, काठमाडौं छाड्न परेकोमा गाह्रो मन लिएर । तर, भोजपुरको जागिर धेरै रमाइलो भयो । नारायणबहादुर बानियाँ साह्रै कुशल प्रशासक र मिलनसार । साथी भाइहरू सबै परिचित । 

योगेन्द्र राउत, टंक श्रेष्ठ, जीतनारायण श्रेष्ठका साथै स्रष्टा विश्वनाथ पनि । कहिले सुन्तले पुगेर वनभोज खाइयो, कहिले जुकेखोलाको किनारामा गीत गाइयो ।

तर, मेरो जीवनको बाटो मोडिनुरहेछ । भाग्यले फेरि किनारा खोजेछ । त्यसबेला भोजपुर जिल्लामा बी.ए. पास भएका व्यक्तिहरू सिलो खोज्नुपर्थ्यो । हाइस्कुलमा हेडमास्टर हुन बी.ए. पास अनिवार्य गरिएछ ।

याकु, बुइपा र कुलुङ्ग हाइस्कुलबाट हेडमास्टर हुनका लागि सोर्स–फोर्स आउन लाग्यो । कुलुङ्गका बस्नेतहरूले खान बस्न दिई मासिक रु. ५०० दिने भए । बैंकमा सधैँ जोड–घटाउ र नानोआख बाहेक थप बुद्धि वा निर्णय गर्न नपर्ने । मभित्रको स्रष्टाले विद्रोह गर्‍यो । एक दिन राजिनामा गरेँ र कुलुङतिर हिँडे । मैले अर्को क्षितिज वा भविष्य खोज्ने साहस गरेँ ।

यद्यपि अहिले पनि नेपाल राष्ट्र बैंक, प्रशासन, विभाग, काठमाडौंको यौटा चिठी मसित सुरक्षित छ । मिति २०२२ मंसीर ७ गतेको यस चिठीमा मुख्य एकाउन्टेन्ट धीरविक्रम शाहले गरेको राजीनामा स्वीकृतको पत्र । 

कहिलेकाहीँ अनायास पढ्छु । अनि पछि काठमाडौं गएका बेला युधीर बाबुसाहेबसँग भेट हुँदाका यी वाक्यहरू अहिले पनि मेरो कानमा रिङरिङाइरहेका छन्, “परशुजी ! तपाईंले राष्ट्र बैंक छाड्नु नहुने, तपाईं धेरै माथि पुग्नुहुन्थ्यो ।” 

उहाँको सहानुभूति र स्नेह म आजीवन भुल्न सक्तिनँ । मलाई अहिले यस्तो जवाफ दिन मन लाग्छ, “युधीर बाबुसाहेब ! आफूलाई तान्ने र उचाल्ने, कुनै नातागोता नभएको र पार्टीको झोला नबोक्ने स्वाभिमानी कर्मचारीको कदर नेपालमा हुन्थ्यो र ?”

जे होस् कुनै समय थियो, मैले राष्ट्र बैंकमा पनि जागिर खाएको थिएँ भन्ने यौटा धङधङी मसँग छ । कहिलेकाहीँ कुनै कारणले चाहिएमा बायोडाटामा थप होला, नत्र केही पनि छैन ।

तर, यौटा जीवन्त साहित्यिक सम्बन्ध बाँकी छ । त्यो हो ‘मिर्मिरे’ – राष्ट्र बैंकको पत्रिका । जोसँग मेरो लेखक र पत्रिकाको आत्मीय र हार्दिक सम्बन्ध छ ।
(मिर्मिरे, मंसीर २०६६)

(आख्यानकार परशु प्रधानको संस्मरणात्मककृति ‘जिन्दगीका मोडहरू’बाट ।)

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro