site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेले चाहँदैमा संविधान संशोधन हुँदैन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै दलको सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् । कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताए ।

“संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा सबै दलबीच छलफल हुनुपर्छ,” कोइरालाले भने, “यस विषयमा राम्रै तयारी हुनुपर्छ । जनतामा पनि जानुपर्छ ।”

कोइरालाले देश चल्न नसक्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने बताए । पछिल्लोपटक सरकारले ल्याएको अध्यादेश आफूले नपढेको उनको भनाइ छ ।

उनले अहिलेको सरकार सातबुँदे सम्झौता टेकेर बनेको पनि बताए । उनले सरकारले अपेक्षा गरेअनुसार काम गर्न नसकको पनि बताए ।

“त्यो सम्झौताले हामी अगाडि बढेका हौँ । ६ महिनामा नै सबै गर्न सकिने कुरा त होइन । तर, जनताको आकांक्षा, इच्छा र देशको नैराश्य यति धेरै बढेर गएको छ कि त्यो हामीहरूको कल्पनाभन्दा बाहिरको कुरा भइरहेको छ,” उनले भने, “सातबुँदे सहमतिको मुख्यगरी तीनवटा बुँदा थिए । त्यो भनेको संविधान संशोधन, सुशासन कायम गर्ने र आर्थिक समृद्धि वा सुधारको कुरा हो । यो तीनवटै कुरामा छ महिनामा हुने कुरा हुने त होइन । तर, जसरी अगाडि बढ्नुर्थ्यो त्यसरी अगाडि बढिरहेको छैन ।”

०८७ मा मात्रै संविधान संशोधन हुने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले मानिसहरूमा चिन्ता थपिएको कोइरालाको भनाइ छ ।

“संविधान संशोधन गर्ने भन्ने बित्तिकै के हो भने कांग्रेस र एमालेमात्रै पनि हुँदैन । माओवादी, मधेसका दलसहित अन्य दलहरूसँग पनि सहमति गरेर अगाडि जानुपर्ने हुन्छ । संविधान यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ,” उनले भने, “सबैले स्वीकार गर्ने खालको हुनुपर्‍यो, त्यसपछि मात्रै संविधान संशोधन हुन्छ । नत्र एमाले र कांग्रेसले दुईतिहाइ बनायो अनि हामी गर्दिन्छौँ भन्ने कुरा गलत हुन्छ ।”

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro