
विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश समितिका सभापति उद्धव थापामाथि भएको कुटपिट घटनालाई कोसी सरकारले 'सानो तर अराजक' भनेको छ ।
कोसी प्रदेश सभाको सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले घटना 'सानो तर अराजक' भएको बताए ।
उनले भने, "घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशित गरिएको छ ।"
सदनमा उनले पछिल्लो समय प्रदेशमा लागुऔषध प्रयोग, सवारी दुर्घटना र अन्य गतिविधि बढेको पनि बताए ।
शनिबार साँझ झापाको दोमुखाबाट बिर्तामोड फर्किने क्रममा सुरुंगाको जुकेखाडी पुलनजिकै नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले पूर्वमुख्यमन्त्री थापाले मुक्का प्रहार गरेका थिए । प्राधिकरणका कर्मचारी सवार गाडीले ओभरटेक गर्ने क्रममा विवादका क्रममा थापामाथि आक्रमण भएको थियो ।
मुक्का हान्ने शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ पक्राउ परिसकेका छन् ।