site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओलीको नजरमा चाकरी नगर्ने शत्रु हो, नेतृत्व छाड्नु हितकर : भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र चाकरी गर्नेलाई काखी च्याप्ने गरेको आरोप लगाए । ओलीप्रति प्रश्न उठाएपछि रावललाई एमालेबाट निकालिएको उनले जिकिर गरे ।

“...उहाँ (केपी ओली)को नजरमा संसारमा दुईखालका मान्छे छन्,” उनले भने, “एकखालका मान्छे उहाँका शत्रु हुन्, अर्काखालका मान्छे चाकर हुन् । अझै भन्दाखेरि जसले चाकरी गर्दैन, त्यो शत्रु हो । शत्रु होइन भने त्यसले चाकरी गर्छ । उहाँको आम रूपमा संसारलाई हेर्ने दृष्टिकोण यस्तो छ ।”

हालको अवस्थामा ओलीका सबै प्रयोग असफल भएको भन्दै उनले पार्टीको नेतृत्व छाड्नु हितकर हुने सुझाव दिए । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।

“...उहाँ (केपी ओली)को प्रयोग असफल भयो । निर्वाचनमा प्रयोग असफल भयो, पार्टी सञ्चालनमा असफल भयो । अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भइसक्यो भनेपछि उहाँले त्यहाँ छोड्नु उहाँका लागि पनि र हाम्रो लोकतन्त्रका लागि पनि सबभन्दा राम्रो कुरा हुन्थ्यो,” उनले भने ।

भुसालले सहकारी प्रकरणको छानबिनमा केही गडबडको महसुस आफूलाई भएको बताए । निष्पक्ष न्यायिक छानबिन हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिलानेलाई ईर्ष्याका कारण केही दुःख दिइएको हुन सक्ने उनले आशंका व्यक्त गरे ।

महासचिव भुसालले गणतन्त्रमा अपेक्षाअनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे । मुलुकका सबै समस्या समाधान र जनतामा हकअधिकार स्थापित गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले प्रस्ट पारे ।

गणतन्त्रका नेता भनिएका राजनीतिक पार्टीहरूले आफ्नो औचित्य निरन्तर गुमाउन थालेको उनको बुझाइ छ । सोही कारण नयाँ व्यवस्थाका निम्ति जिम्मेवार पार्टी निर्माणको राम्रो अवसर प्राप्त भएको उनले बताए । हिमालयन टेली भ्वाइस 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro