site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रातो फुर्का

१.
रातो फुर्का

म आउन नसकूँला
सिंगै देश दुःखेको बेला
देश कसरी दुख्छ ?
तिमीलाई पत्यार नलाग्दो होला 
देश त दुःखिरहेकै छ 
देशको सीमारेखा पोतिएको बेला
तिमी चित्त नदुखाऊ
मन किन अमिलो बनाउने ?
म पनि त पीडाले छट्पटिन्छु 
मलाई निर्दयी नठान 
म रहरले कदापि बसेको छैन 
म यसपालिको दीपावली 
शत्रुहरूको मझेरीमै 
शत्रुहरूसँग पौँठेजोरी खेल्दै
जितको नजिक पुगेँ भन्ठानेर 
रक्ताम्मे भई मनाउने तरखरमा छु 
मलाई दीर्घायुको कामना गर्दिनौ ?
तिमीले दीर्घायुको कामना गर्नैपर्छ 
अकालमै म मारिनु हुँदैन 
मैले अजम्बरी फूलजस्तो फुल्न पाउनुपर्छ ।

टाढा छु 
तिम्रो स्नेह सम्झी बस्छु 
एक मुठी रगत 
तिमीलाई यो उपहार पठाएको छु 
देश तड्पिरहेको छ सानु 
रगत बलिदानीको निसानी हो 
त्यही रगतले देशलाई अभिषेक गर्नू ।

धेरै भो रहरको बाँसुरी बजाउन नपाएको 
धेरै भो सिर्जनाको गीत गाउन नपाएको 
नमिठो चोट बोकेकै छु 
शत्रुलाई परास्त गरेँ भने 
कुनै दिन आऊँला
बजाऊँला रहरको बाँसुरी पनि 
गाऊँला सिर्जनाका गीतहरू धित मर्ने गरी
सिर्जनाको बाँसुरी जोहो गरी राख्नू ।

रहरजस्तो गुराँस 
कहिल्यै फक्रन पाएकै छैन 
आकाशजस्तो विशाल छाती 
कहिल्यै फैलिन पाएकै छैन 
हिमालझैँ उँचो विश्वास लिएकै छु 
तिमी निराश बन्ने किन ?
तिमी त निष्ठाकी भगिनी 
तिमीले धैर्य गर्नुपर्छ 
दीपशीखाहरू प्रज्ज्वलित गरी राख 
म आउने मूलबाटो खनी राख 
फर्कूंला म 
रहरका राता फुर्काहरू लिएर ।

०००

२.
अनाम जिन्दगी 
बाँच्नु अधिकार हो र ?
क्रम/उपक्रम
शृंखला/उपशृंखलाहरू
घात/प्रतिघातहरू
आफैँमा चक्रव्यूह हो जिन्दगी
जिन्दगी फटाउने कसरी ? 
आखाँहरू के हेरी बस्छन् ?
निर्लज्ज भएको छ समय 
ऐँचाउने कसरी ?
एउटा दोष
एउटा परिवेश 
दलदलमा फसेको छ मान्छे 
बाँच्नुका भोगाइहरू आ–आफ्नै होलान् 
न आकाश ताकेरै बाँच्न सक्छ जिन्दगी 
न पुर्पुरो छामेरै बाँच्न सक्छ जिन्दगी 
बाँच्ने कला कोबाट, सिक्ने कसरी ?
बाँच्न कहाँ सहज छ र 
जीवनसँग पाखुरा सुर्कने कसरी ?

बाँच्नुको अर्थ 
अलिखित/अनाम
न कुनै खातामा लेखिएको 
न कुनै छापामा छापिएको 
बेवारिस लासजस्तो 
म बाँचू कसरी ?
मेरो जिजीविषा मरेकै छैन 
म बाँच्न चाहन्छु 
मलाई टेक्ने धर्ती नदिने कसरी ?
मेरो यात्रा रोकिएको छैन 
म अविराम यात्रा चाहन्छु 
मैले जीवनको मूलबाटो खन्ने कसरी ? 

०००

३.
काठमाडौं 
निकै बहस गर्छ– काठमाडौं 
ओकल्छ संघर्ष 
संघर्षको सूत्रपात गर्छ 
र तताउँछ सडक । 

टुँडिखेलमा उफ्रन्छ– काठमाडौं 
बटुल्छ हुल 
र नारा लगाउँछ– 
जिन्दाबाद ! मुर्दावाद !!

रत्नपार्कबाट सौदा थाल्छ– काठमाडौं
सुपरमार्केट पुगेर 
उक्लन्छ अलिकति लिफ्ट ।

परेड खेल्छ– काठमाडौं
उतारेर भूमिगत कथाहरू 
हुलहरू बटुलेर विश्वासको
सडकभरि रगत पोत्छ– काठमाडौं 
दिन्छ बलिदान 
र विजयोत्सव मनाउँछ खुलेरै सहिदगेट ।

चक्रपथे नाका हो– काठमाडौं 
थाप्छ दाउ/बल्झाउँछ च्याँखे
असन र इन्द्रचोक
नतमस्तक टोलाउने पिपलबोट 
ओर्लने र उक्लने लिफ्ट हो– काठमाडौं ।

अनशन बस्छ– काठमाडौं
सुकाउँछ शरीर 
फिँजाउँछ आकाशभरि आवाज 
र गाउँछ उन्मुक्तिको गीत ।

देशको राजधानी हो– काठमाडौं 
गन्हाउँछ राजधानीजस्तै 
फोहोरको डुंगुर खोतलेर 
कहिले राजनीतिका कुरा 
कहिले टुकुचाका कुरा ।

हिजोको चिसो निन्द्रा– काठमाडौं
हिजोको तस्कर केन्द्र– काठमाडौं 
हिजोको छाडा साँढे– काठमाडौं
लाखौँ मान्छेको दिशाहीन गन्तव्य– काठमाडौं ।

तिम्रो नामको कलंक 
अब मेटिनुपर्छ 
मर्ने पनि– काठमाडौं
मार्ने पनि– काठमाडौं
परिवर्तनको लौरो टेक्दै 
समानताको बिगुल फुक्ने  
बिहानीको सुनौलो क्षितिज बन्न सक्छौ त– काठमाडौं ?

(सुन्दरहरैँचा– ६, मोरङ) 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro