site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
के एलन मस्कले ल्याउँदै छन् 'टेस्ला स्मार्टफोन' ?

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कले आफ्नै स्मार्टफोन ब्रान्ड ल्याउने चर्चा केही वर्षयता चलेको छ । मस्कले सन् २०२२ मा एक्समा लेखेको एक पोस्टमा ‘अन्य विकल्प नरहेमा वैकल्पिक फोन बनाउने’ लेखेका थिए ।

त्यसयता मस्कले फोन ल्याउने चर्चा बेला-बेलामा हुने गरेको छ । कतिपयले त मस्कले टेस्ला फोन ल्याउने मात्रै भनेका छैनन्, फोनका मोडलको नाम समेत ‘पाई’ भनेर चर्चा गर्ने गरेका छन् ।

हालै मस्कले गरेको अर्को एक टिप्पणीले उनले स्मार्टफोन ब्रान्ड ल्याउने चर्चा फेरि भएको छ । कमेडियन जो रोगनसँगको पडकास्टमा मस्कले आवश्यक परेमा टेस्लाले स्मार्टफोन बनाउन सक्ने भनेका छन् ।

एप्पल एवं गुगलले गेटकिपर जस्तो काम गर्न थालेमा वा आफ्ना डिभाइसमा कडा नियमन र नियन्त्रण गर्न थालेमा टेस्लाले फोन उत्पादन गर्नसक्ने उनको भनाइ छ । “यदि एप्पल र गुगल/एन्ड्रोइडले साँच्चै गलत काम गर्न थाले भने, जस्तै किः एपहरूमाथि सेन्सरसिप गर्न थालेमा, निकै गलत तरिकाले गेटकिपरजस्तो गर्न थाले भने हामीले फोन बनाउन सक्छौँ,” मस्कले रोगनलाई भने ।

मस्कको यो भनाइ युरोपियन युनियन (ईयू)र अन्य नियामकले एप्पल तथा गुगललाई दिएको सुझावसँग पनि मेल खान्छ । विश्वभर लगभग सबैजसो प्रयोगकर्ताले चलाइरहेका मोबाइल यी दुवै कम्पनीका अपरेटिङ सिस्टममा आधारित छन् । त्यसैले एप्पल र गुगलले आफ्नो अपरेटिङ सिस्टम (ओएस)मा रहेका एपहरूमा प्रयोगकर्ताका गतिविधिलाई तल–माथि गर्ने गरेको आरोप लागेको छ ।

ईयूले अवैध गतिविधि गरेको, साना कम्पनी र डेभलपरमाथि अहित गरेको एवं प्रयोगकर्ताको रोजाइमा बाधा पुर्‍याएको बताउँदै दुवै कम्पनीमाथि ठूलो जरिबाना समेत तोकेको छ ।

मस्कले तत्काल आफ्नो कम्पनी फोन बनाउन इच्छुक नभएको, तर गर्नै परेमा तयार रहेको बताएका छन् ।

के टेस्ला सक्षम छ फोन उत्पादन गर्न ?

मस्कको भनाइले टेस्लासँग एप्पलको आईफोन अपरेटिङ सिस्टम र गुगलको एन्ड्रोइडलाई टक्कर दिने अपरेटिङ सिस्टम विकास गर्ने क्षमता भएको संकेत गर्छ । टेस्लासँग हाल रहेको इन्फोटेनमेन्ट सिस्टमले नै पनि विभिन्न एप र गेमलाई होस्ट गर्छ ।

कम्पनीले नयाँ अपरेटिङ सिस्टम बनाउन सक्छ, हालकै सप्लायरबाट चिप प्राप्त गर्न सक्छ र फोनको ब्याट्री पनि टेस्ला आफैँले उत्पादन गर्न सक्छ । स्टारलिंकको स्याटेलाइट इन्टरनेटमा आधारित भएर कम्पनीले आफ्नै सेलुलर सेवा समेत सार्वजनिक गर्न सक्छ ।

केही कम्पनीले आफ्नो फोनमा स्याटेलाइटमा आधारित म्यासेज एवं भ्वाइस कल सुविधा ल्याउन खोज्दा पृथ्वीको कक्षमा दर्जनौँ स्याटेलाइट रहेको मस्कको कम्पनीले त्यो सहजै हासिल गर्न सक्छ । यी सबै कुराले मस्कको कम्पनीले सजिलै नयाँ फोन उत्पादन गर्न सक्ने देखिन्छ ।

यति हुँदा पनि उक्त नयाँ फोनलाई एप्पल र एन्ड्रोइडसँगको प्रतिस्पर्धामा टिक्न भने जटिल हुनेछ । किनभने नयाँ अपरेटिङ सिस्टममा आधारित डेभलपरहरू कम हुनेछन्, कम मानिसहरू मात्रै नयाँ ओएसको फोनमा सिफ्ट हुन खोज्नेछन्, नयाँ प्लेटफर्मका लागि एप डेभलप गर्नमै वर्षाैं लाग्न सक्छ । यसरी उक्त फोन सहजै सफल हुनेमा भने प्रश्न रहनेछ ।

अमेरिकी कम्प्युटर निर्माता माइक्रोसफ्टको विन्डोज फोनको असफलता यसको एक उदाहरण हो । विन्डोजका फोनमा कम उपभोक्ता आकर्षित भएपछि कम्पनीले डेभलपरको सहयोग पाएन । डेभलपरहरूको सहयोग नहुँदा विन्डोज फोन असफल हुन पुगेको थियो ।

यस्तै, विश्वकै ठूलो मार्केटप्लेस अमेजनले अघि सारेको एन्ड्रोइडमा आधारित अपरेटिङ सिस्टम फायर ओएस पनि असफल भएको अर्काे उदाहरण छ । डेभलपरहरूलाई आकर्षित गर्ने विभिन्न प्रयासका बाबजुद पनि कम्पनीको पहिलो फायर फोन असफल भयो ।

त्यसैले मस्कले सहजै नयाँ फोन बनाउन सक्ने भए पनि त्यसको सफलतामाथि भने प्रश्न रहनेछ । अहिलेसम्म कम्पनीले नयाँ फोन ल्याउने योजना भने नबनाएको मस्कले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro