
काठमाडौं । पपगायिका, पत्रकार, वैज्ञानिक, चलचित्र निर्मातालगायत विभिन्न क्षेत्रका ६ महिलाको एक समूहले अप्रिल १४ (सोमबार)मा अन्तरिक्ष यात्रा गर्ने भएको छ । अमेरिकी व्यापारी जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले न्यु शेपर्ड रकेटमार्फत यी महिलालाई अन्तरिक्ष पठाउन लागेको हो ।
महिलाको समूहले नै अन्तरिक्ष यात्रा गर्न लागेका यो पहिलोपटक भएको बताइएको छ । सन् १९६३ मा रुसी अन्तरिक्षयात्री भ्यालेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।
हालको यात्रामा पपगायिका क्याटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे र चलचित्र निर्माता क्यारियन फ्लिन समावेश छन् । छैटौँ महिला लरेन सान्चेज हुनेछिन्, जसले उक्त समूहको नेतृत्व गर्नेछिन् । उनी जेफ बेजोसकी साथी पनि हुन् ।
यी महिलाले कार्मन रेखा (पृथ्वी र अन्तरिक्षबीचको काल्पनिक सीमा) नाघ्नेछन् ।
महिलाको अन्तरिक्ष यात्रा
यी ६ महिलाले ब्लु ओरिजिनको न्यु शेपर्ड–३१ मिसनअन्तर्गत न्यु शेपर्ड रकेटबाट यात्रा गर्नेछन् । यसमा प्रयोग हुने अन्तरिक्षयान पूर्ण स्वचालित छ । र, यसमा कुनै पाइलट नहुने एनडीटीभीले जनाएको छ ।
यो यात्रा करिब ११ मिनेटसम्म चल्नेछ । उनीहरूले कार्मन सीमामा केही मिनेट गुरुत्वाकर्षणबिना नै भारविहीनताको अनुभव गर्नेछन् । यी महिला अन्तरिक्षबाट पृथ्वीको मनोरम दृश्यको आनन्द लिएर फर्कनेछन् ।
न्यु शेपर्ड रकेट अप्रिल १४ मा स्थानीय समयानुसार बिहाज ८ः३० बजे अमेरिकाको पश्चिम टेक्सासस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्ष पठाइनेछ । लरेन सान्चेजले सन् २०२३ मा भोग पत्रिकालाई दिएको अन्तर्वार्तामा महिलाको अन्तरिक्ष उडानको सपनाका बारेमा उल्लेख गरेकी थिइन् ।
“यो केवल अन्तरिक्ष मिसन होइन, यो मानिसको मानसिकता परिवर्तन गर्ने र भविष्यका पुस्तालाई प्रेरित गर्ने मिसन हो,” ब्लु ओरिजिनले एक विज्ञप्तिमा भनेको छ ।
कार्मन रेखा
कार्मन रेखा समुद्र सतहदेखि १०० किलोमिटरमाथि रहेको काल्पनिक सीमा हो । यसलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । यसलाई फेडेरेसन अफ एरोनटिक इन्टरनेसनलले निर्धारण गरेको हो ।
अन्तरिक्ष पर्यटन
यो यात्राको कुल समय ११ मिनेट हुनेछ । त्यसक्रममा सात मिनेट रकेटमा यात्रा गरिनेछ । अन्तरिक्षयान कार्मन रेखामाथि पुगेर फर्कनेछ । यसले अन्तरिक्ष पर्यटनको नयाँ उद्योग स्थापना गर्नेे र महिला सशक्तीकरणमा पनि योगदान पुर्याउने बताइएको छ ।