site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मेरी शिशु

जब मैले त्यस बालकलाई नानी भन्न पाएथेँ, उसको तोतेले म ब्यूँझदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन् ।

मलाई नरम र कोमल सब चीज आएर त्यसबेला स्पर्श गर्थे, जब मलाई देखेर उसका दुई–आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैँ उसको दुनियाँलाई आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई ।

उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु वा हिँसा गर्नु मानव प्रकृतिको विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू उखेल्न सकिनँ ।

मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।

आफूमा आधार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कुवेरको जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो ।

मलाई एउटा माली बनूँ–बनूँ लाग्यो र बीउ बिनी–बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो ।

ऊ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दथ्यो । म अविदितको पुजारी बन्न लाग्थेँ, जब उसको आत्मा दुःखको शब्द निकाल्न लाग्थ्यो ।

मैले मेरो जीवन बुझेँ त्यस बेला, जब उसले आधार खोज्दथी । म कथा भन्न लागेँ, भन्दाभन्दै तिनमा विश्वास गर्न लागे, रामचन्द्र र कृष्णजी साँचा हुन् भन्ने उसैले बुझाउन लागी ।

म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु, म हत्याराहरूसँग क्रूर लडाई गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजिक हिँड्दै आउन लागेको देख्तछु !

म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।

मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथेँ– खालि शिशुको लागि ।

परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दुःख होओइन ? तर परमेश्वर त्यो दुःख सहनु हुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । 

बालक नभए पृथ्वी हरियो हुने थिइनन् । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन ।

किन यत्रा भार बोक्छौ ईश्वर ? ‘बालकका लागि ।’ किन यति रोएको दुनियाँ ? ‘रक्षा गर्नाका लागि ।’ 

हामी यत्रो त्रिताप खप्तछौँ किन ? बालकको ‘शिशुलाई रक्षा गर्न, पाल्न, पोस्न ।’

बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा–छोरी पाल्नाका निम्ति ।

‘तेरो सबभन्दा ठूलो धन के मान्छे ?’
‘मेरो नाबालक । ’

‘मर्दा के चाहन्छस् मनुष्य ?’ 
‘मेरो नाबालकको संरक्षण र तिनको भलाइ ।’ 

हे महायुद्ध हो ! हे धर्मसमर हो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? बालकका लागि । तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश लिएर संसारमा दुःख पाउन थालेँ ।

मेरा सब सांसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु ।

(महाकवि देवकोटा जयन्तीमा ‘लक्ष्मी निबन्धसंग्रह’बाट साभार)

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro