site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजवादी मोर्चाका गतिविधि ठप्प, माओवादीको आन्तरिक संघर्ष प्रमुख कारण !

काठमाडौं । फेरि सक्रिय बनाउन खोजिएको समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र)को आन्तरिक संर्घषका कारण छायाँमा परेको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले साउन २६ गतेको स्थायी कमिटी बैठकमा राखेको दस्तावेजपछि माओवादी लगातार पार्टीको बैठकमा केन्द्रित रह्यो ।

मोर्चाको ठूलो दल नै स्थायी कमिटी, प्रदेशस्तरीय संयुक्त परामर्श समितिलगायत बैठकमा केन्द्रित रहँदा मोर्चाका गतिविधि ठप्प हुन पुगेको एक नेताको जिकिर छ ।

“सबैभन्दा ठूलो पार्टी नै आन्तरिक संघर्षका कारण बैठकमा व्यस्त भयो । माओवादीका नेताहरू व्यस्त हुँदा मोर्चाको गतिविधि सुस्त हुन पुग्यो,” मोर्चामा आबद्ध दलका एक नेता सुनाउँछन् । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बीचको आन्तरिक संघर्षले पनि त्यसमा मलजल गरेको छ । एकीकृत समाजवादीका नेताहरू पनि आन्तरिक विवाद, पदाधिकारी चयन, पार्टीका बैठक, कार्यक्रममा व्यस्त हुँदा मोर्चातिर ध्यान जान नपाएको नेताहरू स्वीकार गर्छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ताको नेतृत्व गरिरहँदा नै समाजवादी मोर्चा घोषणा गरिएको थियो । त्यतिबेला सत्तामा संसद्को पहिलो ठूलो दल कांग्रेस पनि थियो । प्रचण्डले कांग्रेसलाई दबाबमा राख्न मोर्चा घोषणा भएको विश्लेषण भएको थियो । 

०८० असार ४ गते सत्तामा रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), तत्कालीन जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरिएको थियो ।

सत्ताधारी दलले मोर्चा घोषणा गर्दा तरंग पैदा भएको थियो । तर, मोर्चाका गतिविधिले खासै तरंग पैदा गर्न सकेन ।

प्रदेशव्यापीरूपमा सभा गरेर एक खालको सन्देश भने मोर्चाले दिएको थियो । तल्ला तहमा पनि मोर्चा निर्माण गर्ने भनिए पनि त्यसले मूर्तता पाएन । मोर्चाका केही बैठक बसेर निर्णय भए पनि ती कार्यान्वयन हुन नसकेको नेताहरू स्वीकार गर्छन् ।

मोर्चाको संयोजक ४–४ महिनामा फेरिने दलहरूबीच सहमति थियो । पहिलो चरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संयोजक थिए । ०८० फागुन ६ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव संयोजक बने । उनी साता महिनादेखि निरन्तर संयोजक छन् ।

उनी संयोजक भएपछि मोर्चामा नेकपा (एमाले)लाई पनि ल्याउन दलहरूले प्रत्यत्न गर्ने निर्णय भएको थियो । तर, एमालेले मोर्चाको औचित्यतता नरहेको भन्दै मोर्चामा रहन अस्वीकार गर्‍यो ।

कांग्रेससँगको सहकार्य तोडेर एमालेसँगको गठबन्धन बनेपछि मोर्चाका गतिविधि ठप्पजस्तै भएका बनेका थिए । बैठकसमेत बस्न सकेको थिएन ।

प्रचण्ड सत्ताबाट बाहिरिएलगत्तै मोर्चालाई सक्रिय बनाउने उद्घोष गरे । ०८१ साउन १ गते नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बैठक बसेको थियो ।

प्रचण्ड सत्तामा रहँदा पार्टी विभाजन गरिदिएपछि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी भएनन् । राजनीतिकरूपमा विभाजित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ मोर्चामा समावेश भएका थिए ।

बैठकले मोर्चाबारे विगतको समीक्षा र आगामी कार्यक्रम तय गर्न कार्यदल पनि गठन गरेको थियो । जसमा माओवादी केन्द्रबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट खड्गबहादुर विश्वकर्मा, नेसपाबाट गंगानारायण श्रेष्ठ थिए । कार्यदललाई १५ दिनमा प्रतिवेदन बुझाउन शीर्ष नेताहरूले निर्देशन दिएका थिए ।

त्यसपछि कार्यदलको तीन बैठक बसेको थियो । कार्यदलले शीर्ष नेताहरूलाई बुझाउनका लागि प्रतिवेदनको मस्यौदा तयार गरिसकेको छ । मस्यौदा तयार भएको कार्यदलका सदस्य श्रेष्ठले जानकारी दिए ।

“हामीले मस्यौदा तयार गरिसकेका छौँ । जसमा स्थापनादेखि अहिलेसम्मको समीक्षा, कार्यक्रमहरू के हुन सक्छन् र भावी कार्ययोजना के हुन सक्छ भन्ने कुरा समेटेका छौँ,” उनले भने ।

‘क्रियाशील बनाउने तयारीमा छौँ’

माओवादी अध्यक्ष प्रचण्डले बिहीबार अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा छिट्टै मोर्चा र पार्टी एकताबारे नयाँ समाचार छिट्टै सुनाउने उद्घोष गरेका थिए ।

“हामी मोर्चालाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्ने अभियानमा छौँ,” प्रचण्डले भने, “मलाई विश्वास छ, केही समयभित्रै तपाईंहरूले नयाँ समाचार सुन्नुहुनेछ, एकताको र मोर्चाको ।”

प्रचण्डले दाबी गरे पनि मोर्चाका नेताहरू भने नयाँ विषय भने नभएको जिकिर गर्छन् । माओवादीको आन्तरिक संघर्षमा जनार्दनले पार्टी विभाजन नगर्ने सन्देश तत्लैतहसम्म पुर्‍याएपछि प्रचण्डले केही फुर्सद पाएको आकलन उनीहरूको छ । तर, प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको मोर्चा बनाउन लागेको चर्चा पनि छ ।

समाजवादी मोर्चालाई क्रियाशील गराउने तयारी भने रहेको नेताहरू बताउँछन् ।

“प्रचण्डले कुन प्रसंगमा भन्नुभएको त्यति जानकारी भएन । तर, मोर्चामा नयाँ विषय भने केही भइरहेको छैन,” एक नेता भन्छन् ।

माओवादीका महासचिवसमेत रहेका देव गुरुङ मोर्चालाई क्रियाशील बनाउने तयारी भइरहेको बताए ।

शीर्ष नेताहरूको कार्यव्यस्थताका कारण बैठक बस्न नसकेको र आफूहरूले तयार गरेको प्रतिवेदन बुझाउन नपाइएको उनको भनाइ छ । शीर्ष नेताहरूको समय मिलेपछि बैठक बस्ने उनको भनाइ छ ।

“मोर्चालाई क्रियाशील बनाउने गृहकार्य भइरहेको छ । नेताहरू समय पनि मिलिरहेको छैन । समय निकाल्नुभएपछि बैठक बस्छ,” उनले भने ।

मोर्चाको गतिविधि बढाउन र यसलाई फराकिलो बनाउन नसकेको भने नेताहरू स्वीकार गर्छन् । मोर्चाका गतिविधिलाई पार्टीका आन्तरिक बैठकले प्रभावित बनाएको भनाइ उनीहरूको छ ।

नेकपाका नेता विश्वकर्मा भन्छन्, “चारवटा पार्टीका कुराहरू भए । पार्टीका आन्तरिक कार्यक्रहरूले पनि गतिविधिमा प्रभाव पार्ने नै भयो,” उनले भने ।

अब दसैँ तिहारपछि मात्रै कार्यक्रमसहित अघि बढिने उनले बताए ।

“आन्तरिक तयारीको पाटो अघि बढेको छ । नयाँ त केही हुँदै छ तयारी हुँदै छ । अब  दसैँ आइहाल्यो । दसैँतिहार पछि कार्यक्रम अघि बढाउँछौँ त्यसअघि बैठक बस्ने नबस्ने पनि टुंगो भइसकेको छैन,” विश्वकर्मा भन्छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro