site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर : यूएन ।

न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि  सुरु हुँदै छ ।

राष्ट्रसंघको महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आउँदो असोज ८ गतेदेखि गरिनेछ । उक्त छलफल असोज १२ गतेसम्म गरिने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ ।

नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसंघको कार्यतालिकामा उल्लेख छ ।

विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोनापश्चात्को मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य संकटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा गरिने छलफलमा विश्वका राष्ट्र/सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।

यसपटकको महासभा नेपालका निम्ति निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसद्ले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । नेपालले शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्‍याउन सफल भएको विश्वकै नमुनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।

नेपालले राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका निम्ति खटाएका सुरक्षाकर्मी र उनीहरूका योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार, नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारसँगको छलफललाई उच्च प्राथमिकतामा राख्नेछ ।

नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए/गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ । रासस

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro