site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिदेखि मन्त्रीसम्मै ‘गुन तिर्न खप्पिस’ देउवा

काठमाडौं । जब रामचन्द्र पौडेल राष्ट्रपति बने, तब कांग्रेसभित्र राम्रै टिप्पणी चल्यो, ‘शेरबहादुर देउवाले राम्रैसँग गुन तिरे ।’ 

कांग्रेस सभापतिको प्रतिस्पर्धामा रहँदा वरिष्ठ नेता पौडेलको ‘मौनता’ले देउवालाई निकै सजिलो बनायो । सँगै प्रतिस्पर्धामा रहेका प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे । 

अनि कोइराला परिवारकै शशांक कोइरालालाई सहरबाट ‘खेदाएका’ दिपक खड्काको भूमिका कम महत्वको थिएन । तिनको ‘सहयोग’ देउवाले भुल्ने कुरै थिएन । यिनै राजनीतिक नाटकका कारण देउवालाई सभापति बन्न कसैले रोक्न सकेन ।

अब, तिनको गुन निरन्तर तिर्दैछन् । गुनका बदलामा पौडेललाई राष्ट्रपति बनाए । सिंह तथा खड्कालाई पुरस्कारमा यसपालि पुरस्कार दिए, उपप्रधानमन्त्री, मन्त्री । देउवा आफूलाई सहयोग गर्नेहरुलाई कुनै पनि बेला गुन तिर्छन् । केपी शर्मा ओली मन्त्रिपरिषद्मा सामेल पात्रहरुसँगै ‘देउवाको गुन तिर्ने’ शैली टिप्पणीको विषय बनेको छ ।

देउवाले आफूलाई १४ औं महाधिवेशनमा प्रत्यक्ष, अप्रत्यक्ष र रणनीतिक सहयोग गरेका अधिकांशलाई गुन तिरेकै छन् । त्यसो त, प्रधानमन्त्री होस् वा पार्टी सभापति पदमा रहँदा आफूले गरेको राम्रा काम आममानिसले बुझ्नेगरी बताउन रुचि नराख्ने देउवा राजनीतिक लेनदेनमा भने खप्पीस मानिन्छन् । 
 
सिंहलाई उपप्रधानमन्त्री

२०७८ मा कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापतिका आकांक्षी बने । देउवा समूहबाट सभापतिको आकांक्षी बनेका विमलेन्द्र निधि कमजोर प्रतिस्पर्धी थिए ।

सिंह र डा. कोइरालाको सभापतिमा अडान कायम रहेपछि पौडेल प्रतिस्पर्धाबाट अन्तिममा अलग भएको घोषणा गरे । पौडेलको घोषणापछि सिंह आफ्नो टिम पनि बनाउन नसक्ने अवस्थामा थिए । तर, उनी सभापतिको दौडबाट पछि हटेनन् ।

विना टिम स्वतन्त्र उमेदवारी दिएका विशवप्रकाश शर्मा र महेश आचार्य सिंहको टिममा जोडिए । पछि उपसभापतिमा उमेदवारी दिँदा सिंह टिममा सुजाता कोइराला पुगिन् । 

त्यसरी प्रतिस्पर्धामा सिंह तेस्रो, निधि चौथो स्थानमा रहे । दोस्रो चरणमा सिंहले आफ्नै समूहका शेखर कोइरालालाई नभएर देउवा समर्थन गरे । जबकि देउवा सभापति भएमा कांग्रेसलाई जनताले भोट नहाल्ने जिकिर लिँदै जसरी पनि विकल्पको पक्षमा थिए ।

तर, दोस्रो चरणमा उनै देउवालाई समर्थन गरे । सँगै देउवासँग के सहमति गरे भन्ने कौतुहलताकै विषय बनेको थियो । देउवाले स्थानीय तहको चुनाव ०७९ मा काठमाडौं महानगरको प्रमुखमा सिंह पत्नी सिर्जनालाई उमेदवार बनाएर गुन तिर्ने प्रयास गरेका थिए । 

देउवाको प्रयासमा जनसमर्थन जुट्न सकेन । त्यसपछि पनि सिंहलाई गुन तिर्न बाँकी थियो । देउवाले यसपालि उनलाई कांग्रेसको तर्फबाट नेतृत्वकर्ताका रुपमा उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री बनाउँदै तिरेका छन् । 

पुरस्कारबाट लाभान्वित दिपक खड्का

देउवाले संखुवासभाका कांग्रेस सभापतिसमेत रहेका सांसद दिपक खड्कालाई ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री बनाएका छन् ।  ठेकेदार पृष्ठभूमिका खड्कालाई देउवाले रोजाईको मन्त्रालय दिएका हुन् । डा. शशांकको टिममा बसेर देउवाका लागि काम गर्ने खड्का १४औं महाधिवेशनमा देउवालाई सभापतिमा दोहोरिने अप्रत्यक्ष वातावरण बनाएका थिए । 

कोइराला एक भएमा सभापतिको प्रतिस्पर्धामै उत्रिन नसकिने बुझाइमा रहेका देउवा उमेदवारी दिने–नदिनेमा परामर्शमा थिए ।  त्यही बेला कोइराला दाजुभाइ डा. शेखर र डा शशांकबीच रातभर कुराकानीपछि एक ठाउँमा उभिने समझदारी भयो । 

दुई कोइरालाको समझदारीमा गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाईसमेत राखेर पत्रकार सम्मेलन गरी एक भएको सन्देश दिने निर्णय पनि भयो ।  कोइरालाद्वयले मात्र गरेका निर्णयको सूचना शशांक बिहान घर फर्कनासाथ चुहियो । सूचना चुहिएसँगै देउवा र खड्काले आकस्मिक कदमको आवश्यकता देखे । 

डा. शशांक कोइरालाको सचिवालयले पनि साथ दियो । सचिवालय, सहयोगी र कांग्रेसका बहालवाला सभापतिको आग्रहपछि शशांक दाजुसँगको सहमतिमा अडिन सकेनन् ।  सहमतिअनुसार पत्रकार सम्मेलनको तयारीका लागि शशांक निवास आएका डा. शेखरले शशांक देखेनन् । 

डा. शेखरले खोजी गर्दासमेत शशांक सम्पर्कविहीन भए । दिउँसो थाहा भयो –अहिले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बनाइएका दिपक खड्काले शशांकलाई हेलिकोप्टर चढाएर संखुवासभा पु¥याएका रहेछन् । त्यसपछि महाधिवेशन अवधिभर कोइराला परिवारको भेट हुन पाएन । 

उमेदवारी दर्ता गरेको साँझ शेखरले शशांकलाई फोन गरे आफ्नो उमेदवारीमा समर्थन गर्न आमन्त्रण गरे । 

शशांकले फोन उठाएर आउछु पनि भनेका थिए । साँझ अनुपम फूडल्याण्डमा शशांक पुगेनन् । बुझ्दा सभापति देउवा, खड्कासहितको टिममा प्रधानमन्त्री निवास बालुवाटारमा रहेछन् । जुन फोटो केहीबेरमै तत्कालीन प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गरेको थियो । 

कोइराला परिवारलाई एक हुन नदिएका खड्काले स्वयम् शशांकलाई अघोषितरुपमै देउवाको पक्षमा उभ्याउन सफल भएका थिए ।  त्यस्तो रणनीतिक भूमिकामा काम गरेका खड्कालाई देउवाले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीसहित गुन तिरेका हुन् । 

रामचन्द्र पौडेललाई बनाए राष्ट्रपति 
राजनीतिक सुरु हुँदाताकाका नजिकका मित्र रामचन्द्र पौडेल राजनीतिक उत्तरार्धमा देउवाका मुख्य प्रतिस्पर्धी बनेका थिए ।  सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएपछि देउवा विरोधी टिमका पक्षमा नउभिएका पौडेल देउवाका पक्षमा भने देखिएका थिए । 

देउवा घरमा आउँदा खिचेको फोटो सार्वजनिक गर्ने अनुमति दिएका पौडेल शेखरको पक्षमा भने कुनै सन्देश नजाओस् भनेर सतर्क भएका थिए ।  महाधिवेशनमा मौन रहेरै पौडेलले देउवालाई चुनाव जित्न सहयोग पु¥याएका थिए ।

तर उनी नजिककालाई देउवालाई सहयोग गर्न भनेका थिए । देउवाले त्यसबेला नै पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिएको कांग्रेस स्रोतको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro