site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले बढीमा ६८ मत पाउने ! 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । बिहीबार दिनभर फरक फरक दलहरूले आफ्नो संसदीय दलको बैठक बसेर विश्वासको मतसम्बन्धी निर्णय गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदै छन् । दलहरूको निर्णय हेर्दा प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा छन् । शुक्रबार बिहान ११ बजेसम्म कुनै राजनीतिक उथलपुथल नभए प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्नुपर्ने स्पष्ट छ । स्वतन्त्रबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्र संसदीय दलको बैठक राखेर आधिकारिक निर्णय गर्न बाँकी छ । तर, दलका नेताहरूका अनुसार रास्वपा प्रधानमन्त्री प्रचण्डकै पक्षमा उभिने तयारीमा छ । 

अहिलेसम्मको हिसाब हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत आउनेछ । यी दुवैको संसदीय दलको बैठक बसेर निर्णय गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले २१ मत दिए भने उनको पक्षमा ६३ मत आउने देखिन्छ । यद्यपि, उसले निर्णय भने गरिसकेको छैन । शुक्रबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । सोही बैठकले निर्णय लिने सचेतक निशा डाँगीले बताएकी छन् । 

यता, स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले कता मत दिन्छन् भन्ने निर्णयमा पुगेका छैनन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्दै आएको छ । यदि यी सबैले प्रधानमन्त्री प्रचण्डलाई मत दिए भने पनि पक्षमा ६८ मतमात्र पुग्नेछ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउने भए १३८ मत जुटाउन आवश्यक हुन्छ । तर, दलहरूले गरेका हालसम्मका निर्णयअनुसार यो सम्भावना कमै देखिन्छ । 

यता, प्रधानमन्त्री प्रचण्डको विपक्षमा संसद् पहिलो, दोस्रो, पाँचौँ, सातौँलगायत दल उभिने स्पष्ट छ । पहिलो ठूलो दल नेपाली कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप नै जारी गरेको छ । कांग्रेससँग ८८ सांसद छन् । यस्तै, दोस्रो ठूलो दल नेकपा (एमाले) पनि पक्षमा मत नहाल्ने बताइसकेको छ । एमालेसँग ७९ सांसद छन् । जसमा सभामुख देवराज घिमिरे र निलम्बित सांसद टोपबहादुर रायमाझीको संख्या घटाउँदा ७७ हुन आउँछ । 

यस्तै, संसद्को पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ सिट छ । उसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । यता, प्रधानमन्त्री प्रचण्ड आफैँले फुटाइदिएको दल जनता समाजवादी पार्टीसँग सात सिट छ । उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादी पार्टी नेपालसँग पाँच सिट बाँकी छ । यी दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।  

प्रचण्डको विपक्षमा उभिने अर्को दल हो जनमत पार्टी । उसको ६ सांसद छन् । मधेस सरकारमा कांग्रेस–एमालेले आफ्नो मुख्यमन्त्री जोगाइदिएकाले जनमत पनि नयाँ बन्ने गठबन्धनमा सामेल हुने प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन् । 

यस्तै, समान चार सिट भएको नागरिक उन्मुक्ति चार र लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैन ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro