site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खगराजको दाबी– महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर माओत्सेतुङलाई पठाएको चिठी मसँग छ

पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले तत्कालीन युवराज महेन्द्रले 'राजा त्रिभुवनलाई मार्छु' भनेर माओत्सेतुङलाई पठाएको चिठी आफूसँग रहेको दाबी गरेका छन् ।

गण्डकी एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले आइतबार प्रदेशसभा बैठकमा स्वयं युवराजले राजालाई मार्छु भनेका चिठीका दस्तावेजहरू आफूसँग रहेको बताएका हुन् ।

“मैले आज भन्नैपर्छ, मसँग त्यो तथ्य र प्रमाण छ । मेरै प्रदेशका एकजना दूतलाई महेन्द्रले भूमिगत बाटो (तिब्बतको बाटो) हुँदै माओत्सेतुङसम्म पठाएर म त्रिभुवनको हत्या गर्छु, मलाई सपोर्ट गर्नुपर्‍यो भनेको चिठी म सँग छ,” उनले भने ।

उनले राजाहरू इमानदार हुने भ्रम नपाल्न पनि आग्रह गरे । “राजाहरू इमानदार हुन्छन् भन्ने भ्रम कहीँ कतै छ भने धेरै सोचेर भन्न म निवेदन गर्न चाहान्छु । कसैको आस्था उहाँहरूको निजी कुरा हो । सबै राजा इमानदार छन् भन्ने हुँदैन । गणतन्त्र संविधानसभाबाटै गराउँछु भन्ने राजा त्रिभुवन पनि इमानदार हुन सकेनन्,” अधिकारीले भने ।

राजतन्त्र निर्मम भएकै कारण अहिले गणतन्त्रात्मक शासन व्यवस्था आएको उनको भनाइ छ ।

“राजतन्त्र यतिसम्म पनि निर्मम हुन्छ । कहिलेकाहीँ भन्ने गर्छौं, म राजतन्त्रको पक्ष–विपक्षमा उभिएको होइन । तर, निरंकुश राजतन्त्रको तुलनामा संवैधानिक राजतन्त्र अलि सापेक्षतामा ठिक हुन्छ भनेका हौँ हामीले । त्यसले पनि नसकेपछि गणतन्त्रको व्यवस्था हामीले मिलेर गरेका हौँ,” अधिकारीले भने ।

संघीय संसद्को पहिलो बैठक बसेको दिनको स्मरण गर्दै उनले संसद् दिवस मनाउने प्रचलन रहेको बताए । संसद् दिवसकै विषयमा बोल्ने क्रममा अधिकारीले राजा त्रिभुवनले पनि संविधानको कार्यान्वयन नगरेको स्मरण गरे ।

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro