site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बलिदान’मा ३ करोड खर्चेर भारतबाट द्वन्द्वनिर्देशक र सिनेमेटोग्राफर ल्याउँदै सन्तोष 

काठमाडौं । चलचित्र ‘बलिदान’का लागि साउथका द्वन्द्वनिर्देशक र छायाकार ल्याइने भएको छ । छायांकनको तयारीमा रहेको चलचित्रका लागि द्वन्द्वनिर्देशक र छायाकार भारतबाट ल्याइने भएको हो । 

चर्चित द्वन्द्वनिर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याउन लागेको छ । जसमा द्वन्द्वनिर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि छन् । 

द्वन्द्वनिर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थंगलम’लगायतमा काम गरिसकेका छन् । छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’का छायाकार हुन् । उनले दक्षिण भारतमा चर्चित चलचित्रहरू सुपरस्टार रजनिकान्तको चलचित्र ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको चलचित्र ‘आचार्य’को छायांकन टिममा काम गरेका छन् ।

चलचित्रको निर्देशन भने सन्तोष सेनले गर्नेछन् । उनको यो पहिलो सोलो निर्देशन हो । चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन् । 

अहिले छायांकनस्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनको काम भइरहेको छ । 

लाइट, साउन्ड, क्यामेरालगायत प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले जानकारी दिए । 

“सिनेमेटोग्राफर, द्वन्द्वनिर्देशक, साउन्ड, लाइटलगायत गरेर ५० देखि ६० जना भारतबाट आउने भएका छन्,” सन्तोषले बाह्रखरीसँग भने, “हामी यो पटक सिनेमा निर्माणमा कुनै पनि सम्झौता गर्ने पक्षमा छैनौँ । त्यसैले बजेट जतिसुकै लागे पनि हामी खर्च गर्न तयार छौँ ।” 

दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्ने उनले बताए । “हामी साउथका साथीहरूसँग कुरा गरिरहेका थियौँ । उहाँहरूले हामीले जानेको कुरा सहयोग गर्न तयार छौँ भनेपछि हामीले उहाँहरूको दक्षता नेपाली सिनेमामा प्रयोग गरौँ भन्ने निर्णय गर्र्यौं,” उनले भने । 

1-1719210512.jpg
 

भारतीय द्वन्द्वनिर्देशक, सिनेमेटोग्राफर, साउन्ड, लाइटलगायतमा भारतीय प्राविधिकलाई करिब ३ करोड रुपैयाँ खर्च गरिने उनले बताए ।  

“नेपाली द्वन्द्वनिर्देशक र छायांकार नभएको त होइन । तर हामीसँग पर्याप्त इकुपेन्ट छैन । फेरि हामीले नै काम गर्दा इकुप्मेन्ट र काम गर्ने तरिका पनि पुरानै हुन्छ,” सन्तोष भन्छन्, “त्यसैले साउथका दक्ष जनशक्तिबाट काम गर्दा उताकै इकुप्मेन्ट र उनीहरूले केही नयाँ काम गर्छन् भनेर यो पटक हामीले भारतबाट प्राविधक ल्याउने निर्णय गरेका हौँ ।” 

कमर्सियल एक्सन सिनेमाका लागि साउथका द्वन्द्व निर्देशक कुशल हुने गरेको उनी बताउँछन् । “सुरुदेखि नै कति बजेट लाग्छ, अथवा बजार कत्रो छ भनेर सोच्न थालियो भने धेरै कुरामा कम्प्रमाइज हुन्छ,” उनी प्रस्ट पार्छन्,” त्यसरी सोच्न थालेपछि राम्रो चलचित्र बन्दैन ।” 

सुरुमा ६ करोड बजेटमा निर्माण गर्ने भनेर सुरु गरिए पनि त्यसको करिब ५० प्रतिशतजति लगानी बढ्ने सन्तोषको भनाइ छ । 

बलिदानको छायांकनका लागि इटहरीमा रहेको बीएमसी छायांकन स्टुडियोमा सेट तयार भइरहेको छ । विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम अन्तिम चरणमा छ । यो चलचित्रको ६० प्रतिशत छायांकन स्टुडियोमा नै हुनेछ । 

‘बलिदान’को मुख्य भूमिकामा नेपाली चलचित्रका एक्सन नायक बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन् । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । 

चलचित्रमा अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro