site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनसम्म कांग्रेस सरकारमा जानु हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्यति बेलासम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिए ।

“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रस्टता र प्रतिबद्धताको आवश्यकता छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,” उनले भने ।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए । निर्वाचनमा पार्टीको उमेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उनले औँल्याए ।

“निर्वाचनका लागि उमेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,” उनले भने ।

उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण ०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।

केन्द्रमा नभए पनि ३३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका निम्ति काम गर्न उनले आग्रह गरे । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ । सरकारलाई ठिक ठाउँमा उभ्याउने काम कांग्रेसको हो,” उनले भने ।

उनले आउँदो निर्वाचनअघि संविधानमा भएका केही विषय संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । “प्रदेशहरू अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरू घटाउनुपर्छ । संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ,” उनले भने ।

उनले नेता–कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro