site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बलात्कार

मैले मेरा पूर्वप्रेमीलाई बलात्कार गर्नु छ । आँखाले होइन । मनले होइन । विचारले पनि होइन । प्रेमले होइन । मायालु स्पर्शले पनि होइन । हृदयले पनि होइन, तर सच ! उनलाई मात्र बलात्कार गर्नु छ ।

उनलाई बलात्कार गरेर म बलात्कारी बन्न चाहन्छु । हो, म बलात्कारी बन्न कति डराउँदिनँ ।

मभित्र उनीप्रति उत्तेजना पनि छैन । आकर्षणको त कुरै छोडौँ, विकर्षण मात्र छ । यस्तो व्यक्तिलाई म कसरी प्रेम गर्न सक्छु, जुन व्यक्तिप्रति मोह छैन ! मोह लाग्ने मान्छेलाई पो प्रेम गर्न मन पर्छ । न मलाई उनको प्राप्तिको मोह छ न गुमाउनुको भय ।

उनीप्रति मेरो कुनै भावना नै छैन । उनलाई देखे आकर्षण होइन, मेरो मुटुभरि घृणा मात्र उत्पन्न हुन्छ । उनीसित रात बिताउँछु पनि भन्दिनँ, तर सच ! उनलाई बलात्कार गर्छु भनेर तोकेरै भन्छु ।

म आज धेरै खुसी छु । मलाई कुनै पीडा छैन । जे जति पीडा थियो, सबै बिर्सिसकेँ । तर, ओहो ! विचरा उनलाई के थाहा मैले उनलाई बलात्कार गर्नेछु । र, उनी सोच्दा हुन्– केटीमान्छेले कहिल्यै बलात्कार गर्न सक्दिन ।

तर, म भन्छु– किन गर्न सक्दैनन् ? म गर्छु उनलाई बलात्कार । म उडाउँछु उनको इज्जतको धज्जी । म उनको इज्जत सिध्याउँछु । म उनलाई खोक्रो बनाउँछु । आलुको बोक्रा ताछेझैँ उनको इज्जतको बोक्रा ताछेर फाल्नेछु । उनी रहनेछन् बस् बोक्राविहीन, स्वादहीन आलु ।

मैले उनलाई निम्तो दिएँ । कफी, चिया पिउने निम्तो होइन । खाना खाने निम्तो पनि होइन । मैले उनलाई आँप खाने निम्तो दिएँ । मेरो आँपगाछीमा गछपकु आँप (रुखमै पाकेको आँप) टन्नै झर्छ, जेठ महिनामा । आँपगाछी नभएका मेरा आफन्तहरू त्यहाँ आँप खान टन्नै आइरहेका हुन्छन् ।

तर, मेरा पूर्वप्रेमी थेपा मेरा लागि विशेष नहुँदा नहुँदै पनि विशेष हुन् । विशेष तर मलाई मन नपर्ने मान्छे हुन् ! कुनै बेला मैले जुनसुकै अवस्थामा पनि उनलाई आफ्नो बनाउन मरिहत्ते गरेकी थिएँ । मलाई उनको प्रेमको भूत नै चढेको थियो । म पागलै थिएँ नि उनको प्रेममा ! म उनलाई जसरी’नि प्राप्त गर्न चाहन्थेँ ।

तर, आज मेरो अगाडि आएर म निःशुल्क उपलब्ध छु भने पनि म उनलाई अपनाउन र पाउन तयार छैन । किनकि, उनीप्रतिको मेरो सबै प्रेम मरिसकेको छ । मैले बोलाउँदा सबै छोडछाड गरेर आउनु उनका लागि म विशेष होला, तर उनी मेरा लागि सामान्य ।

मैले पुरानो, ठाउँ–ठाउँमा प्वाल परेको, च्यातिएको तन्ना ओछ्याएँ पलङमा । खोल नलागेको दुइटा तकिया राखेँ शिरानीतिर । अलमारीको माथि पुरानो पंखा छ । घरको भुइँमा पलङकै छेउमा दुइटा काठको पिर्का राखिएको छ । अलमारीको छेउमा भएको ओसघनीमा (लुगा झुन्ड्याउने डोरी) लुगाहरू छन् । माटाका गरा र टायलको छाना भएको मेरो घर सामान्य देखिन्छ ।

उनी आउनेबित्तिकै मैले कफीका लागि सोधिनँ । चिसो, तातो के लिनुहुन्छ, केही पनि सोधिनँ । आँप खान बोलाउनु मेरो बहाना मात्रै थियो । आँप खाऔँ पनि भनिनँ ।

आउनेबित्तिकै मैले उनको कमिज समातेँ । उनको पिठ्युँमा आक्रोशले चिमोटेँ । चिमोटेको दुखेर उनले भने, ‘के गरिहालेको प्यारी तैँले ?’

‘बलात्कार,’ मैले भनेँ ।

उनले भने, ‘धत् ! यो जान सधैँ तेरै त हो । प्रेम गर्, बलात्कार नगर् ।’

‘अहँ ! मलाई प्रेम गर्न आउँदैन । बलात्कार गर्न मात्र आउँछ,’ म भन्छु ।

‘यो के हो त प्यारी ? प्रेम त हो नि !,’ उनले भने ।

उनलाई प्रेम लाग्दो हो । तर, म बलात्कार गर्न तयार हुँदै छु । उनी मेरो स्तन समाउन हात अगाडि बढाउँछन् । म उनको हात अँठ्याउँछु । उनको नितम्ब कोप्रिन्छु । यो देखेर उनी भन्छन्, ‘नियन्त्रण गरिहाल् मायालु आफूलाई ।’

उनको कुरा नसुनेझैँ गर्छु । उनलाई आँगनबाट तानेर घरभित्र ल्याउँछु । पलङमा लडाउँछु । हात अँठ्याएर उनको कमिजको टाँक नखोलेर सिधैँ च्यात्छु । यो देखेर उनी भन्छन्, ‘कमिज च्यातिदिइस् ! विस्तारै गर् ।’

म उनको एक सुन्दिनँ, दुई सुन्दिनँ । उनको कमिज च्यातँे । तर, उनले मेरो के–के च्यातेका थिए, त्यो मलाई मात्र थाहा छ । उनले लगाएको लुंगी म च्यातेर निकाल्छु र पर फालिदिन्छु ।

यो देखेर उनी भन्छन्, ‘होइन, तँलाई के भइहालेछ ?’

म उनलाई खुलेरै भन्छु, ‘म आज बलात्कार गर्छु ।’

मेरो कुरा सुनेर उनी हाँस्छन् । उनलाई सायद मजाक लाग्छ । उनी हाँसेको मलाई पटक्कै मन परेन । मेरो मनभित्र आगो बलिरहेको छ । यतिविधि आगो दन्किरहेको छ कि म कसरी भनूँ ? उनलाई बलात्कार गरेपछि मेरो आगो शान्त हुनेछ ।

उनलाई लुछेपछि मेरो भँडास ठाउँमा आउनेछ । उनी मलाई म्वाइँ खान मेरो अनुहार समाउन हात अगाडि बढाउँछन् । म उनको हात फेरि समात्छु र भन्छु, ‘आज मेरो पालो हो । हजुर केही नगरिहाल्नुस् ।’

मेरो कुरा सुनेर उनी मक्ख पर्छन् । म उनको गालामा लगातार चुम्न थाल्छु । उनको पिठ्युँ कोप्रिन थाल्छु । उनको ओठमा घृणाले चुम्न थाल्छु । ममा हजारौँ टनको ऊर्जा उत्पन्न हुन्छ ।

उनी ‘ऐया ! दुख्यो, विस्तारै गरिहाल्’ भन्छन् ।

तर, म उनको एउटै सुन्दिनँ । उनी मलाई साथ दिन खोज्छन् । म उनको हात फेरि बेस्सरी अँठ्याउँछु । उनलाई तल सुताउँछु र म उनको जिउमाथि खप्टिन्छु । तर, शारीरिक सम्बन्ध गाँस्दिनँ !

मेरो ऊर्जा देखेर उनी मेरो अनुहारमा हेर्छन् । केही बोल्दैनन् । म उनको कालो ओठ आफ्नो ओठले सासै नलिईकन मुखले निचोरेको निचोरै गर्छु ।

उनको घाँटीमा, छातीमा लगालग चुमिरहन्छु । उनको नितम्बमा टोक्छु । तिघ्रामा चिमोट्छु । पिठ्युँमा कोपर्छु । छातीमा, घाँटीमा जताततै मुखले निचोर्दै आक्रोशले चुम्छु । मैले चिमाटेको देखेर उनी भन्छन्, ‘के गरेको ? दाग बसिहाल्छ ।’

मलाई उनीप्रति प्रेम छैन । न कुनै सहानुभूति नै । म चाहन्छु, उनको जिउभरि कालो दाग बसोस् । उनलाई थाहा होस्, मैले उनलाई प्रेम गरेर सम्बन्ध राखेकी होइन । मपछि उनले कसैसँग त्यस्तो सम्बन्धै नराखोस् । राख्न गए उनलाई घृणा अनुभूत होस् ।

उनलाई लगातार छामछुम गर्छु । उनका प्रत्येक अंग हात सारो बनाएर स्पर्श गर्छु । यो देखेर उनी भन्छन्, ‘आ ! कति हतार गरिहालेको ? विस्तारै गर् न यार ! तैँले चुमेर मेरो ओठ पोलिरहेछ भतभत ।’

उनले बोल्नेबित्तिक्कै उनको ओठमा आक्रोशले टोकिदिन्छु ।

‘ऐया ! मरेँ । विस्तारै गरिहाल् न, दुखिरहेछ मलाई ।’

म यही चाहन्छु । म चाहन्छु, मेरो स्पर्शले उनको प्रत्येक अंग पोलोस् । खुर्सानी दलेजसरी पोलोस् । आगोजसरी जलोस् मैले छोएका उनका अंगहरू ।

उनी अनुभव गर्दा हुन् मायाको । तर, म बलात्कारवाला क्रोध पोख्दै छु भन्ने भान उनलाई हुनैपर्छ । मेरो कुमारीत्व लुटेको मान्छेलाई म कसरी त्यसै छाडूँ ? मेरो कलकलाउँदो बैँस लुटेको मान्छेलाई कसरी माफ गरूँ ?

म आक्रोशले लगालग टोकिरहन्छु । उनको ओठबाट रगत बगेको देख्छु । उनी पटक–पटक ओठ चाट्दै मलाई भन्छन्, ‘ओठ नुनिलो लागिरहेछ । हेर् त, ओठबाट रगत निस्किरहेछ कि के ?’

म उनको आठेतिर हेर्छु र झुटो बोल्दै भन्छु, ‘छैन रगत निस्किरहेको । चुमेर अलि सुनिहालेछ ।’

उनको घाँटीमा, छातीमा चुमेको निलो डाम देख्छु । पिठ्युँमा कोपरिएको छ ।

उनी मलाई भन्छन्, ‘प्यारी, पुगिहालेन तँलाई ?’

‘अहँ ! छैन पुगेको,’ म नम्र स्वरमा भन्छु ।

म उनलाई चरमोत्कर्षमा पुर्याएर छोड्न चाहन्छु । उनी मरुभूमिमा फालिएको माछा सरी छट्पटाएको हेर्न चाहन्छु । उनी बहुलाएको हेर्न चाहन्छु । उनी पागल बनेको हेर्न मलाई मज्जा लाग्नेछ !

उनलाई लागोस्, यतिखेर उनी हारेका छन् । मलाई लागोस्, मैले जितेकी छु । उनलाई लागोस्, उनले केही पाएनन्, तर सबै गुमाए । मलाई लागोस्, मैले सबै फिर्ता पाएर जितेकी छु ।

उनलाई लागोस्, मेरो स्पर्शले, भावनाले, संकेतले उनी बलात्कृत भएका छन् र मलाई लागोस्, मैले उनलाई बलात्कार गरेकी छु ।

उनी घर फर्केपछि उनकी स्वास्नीलाई लागोस्, उनी कुनै बलात्कृत केटीबाट बलात्कृत भएर फर्किएका छन् ।

‘अर्को दिनका लागि बाँकी राखिहाल न प्यारी !,’ उनले भने । 

म केही बोल्दिनँ, तर मनमनै भन्छु– मलाई तपाईंमा कुनै रुचि छैन । तैपनि, म नाटक गर्दै भन्छु, ‘वाह ! हजुर त क्या माल रहेछ यार ! यस्तो माल पाएर मलाई छोड्नै मन लागिरहे छैन ।’

उनी खुसीले हाँस्छन् ।

म आक्रोशले हाँस्छु ।

उनको अनुहारमा हेर्छु । उनी कागतीको रस निचोरिए सरी निचोरिएको देख्छु । उनी पल्टिरहेकै हुन्छन् ।

‘अब हजुर घर गइहाल्नुस्’ भनेर म इसारा गर्छु । उनी मतिर हेर्छन् । उनलाई लागिरहेको हुन्छ— गर्नुपर्ने काम गर्न बाँकी नै छ, कसरी जाऊँ ?

उनी च्यातिएको लुंगी र गन्जी हातमा समातेर हेर्दै भन्छन्, ‘किन च्यातिदिइस् ! कसरी लगाएर जाऊँ ? यो के गरिहालेकी तैँले ! खोइ माया गरेकी ? मलाई उतेजित पारेर किन छोडिहालेकी ?’

म अभिनय गर्दै भन्छु, ‘मलाई कस्तो पेट दुखिरहेछ । म सक्दिनँ । म एक्लै आराम गर्न चाहन्छु । हजुर निस्किहाल्नुस् यहाँबाट ।’

‘यस्तो अवस्थामा कहाँ गइहाल्ने म ?,’ उनी थप्छन् ।

‘हो, मलाई मन छैन अब । यहाँबाट गइहाल्नुस् ।’

‘च्यातिएको लुगा लगाएर कसरी गइहाल्ने ? बजारबाट किनेर ल्याई दे अर्को कपडा ।’

‘म बजार जान्नँ । बस्ने भए मेरै घरमा बसिहाल्नुस् । मेरो बाआमा कुखुरा फार्मबाट फर्किने बेला भइहालेछ । देखिहाल्नुभो भने मलाई केही हुने छैन । लाजसरम हजुरलाई लाग्नेछ । मलाई मेरो बाआमाको लाजसरम लाग्दैन । अप्ठ्यारो पनि लाग्दैन ।’

उनी आवेशले मलाई समाउन आउँछन् । म भनेँ मेरो शरीरको सम्पूर्ण ऊर्जा प्रयोग गरेर उनलाई पर हुत्याइदिन्छु । उनी भुइँमा पछारिन्छन् ।

मेरो व्यवहार देखेर उनी भन्छन्, ‘बहुलाइगइस् पागल केटी !’

‘हो, म बहुलाइगएछु ।’

मेरो कुरा सुनेर आफूलाई केही नियन्त्रण गर्न खोज्छन् । सानो ऐना टेबलमा हुन्छ । मेरो कुरा सुनेर सानो ऐना उठाएर अनुहार हेर्छन् । ओठ सुन्निएको हुन्छ । घाउ भइसकेको हुन्छ । मैले टोकेर रगत निस्किरहेको हुन्छ ।

उनले छाती, निधार, गाला, कान, नाक, घाँटीमा पनि कालो दाग देख्छन् । पेट, तिघ्रा, नितम्ब र पिठ्युँ कोप्रेको घाउ आलै देखिन्छ ।

‘साँच्चै, मलाई बलात्कारै गरिहालिस् त तैँले ! अब म कसरी घर गइहाल्ने ? कुन मुखले गइहाल्ने ?,’ उनले भने ।

म खुसी हुँदै हाँस्छु र भन्छु, ‘त्यसो भए नजानुस् । यहीँ बसिहाल्नुस् । मेरा बाआमा फर्किहालेपछि मैले हजुरलाई बलात्कार गरेँ भनिहाल्नुस् । प्रहरी थानामा मविरुद्ध बलात्कारको उजुरी दिइहाल्नुस् । भइहाल्यो नि !’

मेरो कुरा सुनेर ‘खै, दिइहाल् मेरो लुगा, म जान्छु’ भन्दै उनी हतारिएर च्यातिएकै लुगा लगाउँछन् । अनि, बारी हुँदै निस्किन्छन् । 

त्यति बेला उनले मेरो शरीर भोगे, तर मैले अनुभव गरेकी थिएँ प्रेमको । आज मैले उनलाई बलात्कार गर्दै छु, तर उनी अनुभव गरिरहेका छन् प्रेमकै ! उनलाई लाग्छ, म बहुलाएकी छु । ममा बैँस चढेको छ । मलाई रात बिताउन बोलाएकी होली । प्रेम लुटाउन बोलाएकी होली ।

म त्यति बेला बहुलाएकी थिएँ, जति बेला उनले आफ्नी स्वास्नीसँग सुतेर मलाई अविवाहित हुँ भनेर ढाँटेका थिए । मलाई अरूको लोग्नेमा कुनै रुचि छैन ।

म कान्छीकुमारी थारु हो । २२ वर्षकी । मेरा बाआमा कुखुरा व्यापारी हुन् । बाआमाको कुखुरापालन व्यवसाय छ, गाउँछेउको खेतमा । म बेलाबेला कुखुरालाई दानापानी हाल्न कुखुरा फार्म जान्छु । उनी मेरो कुखुरा फार्ममा कुखुरा किन्न मोटरसाइकलमा आउँथे ।

करिब ३० वर्षका थिए । कहिले एउटा कुखुरा किनेर लग्थे, कहिले दुईवटा । एउटा कुखुरा त दैनिक लगेकै हुन्थे । कुखुरा फार्म गएको बेला उनीसित मेरो भेट हुन्थ्यो, अधिकांशतः ।

उनी खासमा त्यति खाइलाग्दो, हेर्नमा राम्रा होइनन् । मध्यम कदका, कालो वर्ण, अलि मोटे, जुँगा र फाटफुट दारी भएका मान्छे थिए । झट्ट हेर्दा कुरूप देखिन्थे, पुड्के, डल्ले, काले, बुच्चो नाक भएको मान्छे !

तर, उनको बोली साह्रै मिठो थियो । सधैँ मलाई सोध्थे, ‘खाना खाइस् ? सबै समाचार ठिक छ नि ? तँ सारै राम्री छेस् ।’

सुरुमा उनले सधैँ मलाई खाना खाइस् कि खाइनस् भनेर सोध्दा झन्झट लाग्थ्यो, जवाफ फर्काउनँ । तर, पछि एक दिन पनि मेरो हालखबर सोधेनन् भने नराम्रो लाग्थ्यो । के उनले मलाई हेरचाह गर्न छोडेका त होइनन् ! कि उनी कुनै समस्यामा छन्, त्यसैले मेरो हालखबर सोध्दैनन् ? यस्तैयस्तै प्रश्नले उथलपुथल हुन्थ्यो मेरो मन ।

मेला लागिरहेको थियो । मेला हेर्न गाउँका सबै केटाकेटीहरू सबेरै निस्किसकेका थिए । बा कुखुरालाई खुवाउने दाना लिन बजार गएका थिए । आमा र म कुखुरा फार्ममा काम गर्न व्यस्त थियौँ । गाउँका सबै युवतीहरू सबेरै मेला भर्न निस्किसकेको हुनाले म एक्लै मेला हेर्न गएकी थिइनँ । त्यही बेला थेपा फार्ममा कुखुरा लिन आएका थिए । कामबाट फुर्सद नपाएर म मेला हेर्न नगएकोमा आमा उदास थिइन् । उनी मलाई मेला हेर्न पठाउन चाहन्थिन् ।

साथीहरू सबै निस्किसकेकाले मसित मेला हेर्न जाने साथीको खोजीमा थिइन्, आमा । त्यसैबखत उनी कुखुरा लिन आएका थिए ।

‘तिम्रो घर कुन गाममे छ बौवा ?,’ आमाले उनलाई सोधिन् ।

‘मेला लागेछ, त्यही गाममा ।’

‘मेरी छोरीलाई मेला दिखाउन लैजान्छौ बौवा ? त्यहाँ मेलामा उसको साथीहरूसित छोडिदिइहाल न ।’

‘हुन्छ । म लिएर जान्छु ।’

मलाई मेलासम्म छोड्न उनी तयार भए । मेला उनको गाउँमै लागेको थियो, त्यसैले । गाउँका साथीहरू मेलामा भेटे उनलाई छोडेर साथीहरूसित घुम्ने भनेर म मेला जान तयार भएँ ।

म घर पुगेँ  । नयाँ कुर्ता सलवार लगाएँ । अनुहारमा क्रिम दलेँ । ओठमा लाली लगाएर निस्केँ । उनी मलाई सडकमा कुरिरहेका थिए । म उनको मोटरसाइकलमा बसेँ ।

उनले मोटरसाइकलमा अगाडि खुट्टा बाँधिएको दुईवटा कुखुरा झुन्ड्याएका थिए । आधा घण्टापछि मेला लागेको गाउँ पुग्यौँ । गाउँबाहिर उनले एकजना केटोलाई देखाउँदै भने, ‘ऊ मेरो भाइ हो ।’

उनले भाइलाई देखेपछि मोटरसाइकल रोके । भाइलाई कुखुरा दिँदै भने, ‘यो लिएर घर गइहाल्, तुरुन्तै ।’

‘हजुर घर आउँदैन ?,’ उनको भाइले सोध्यो ।

‘पछि आउँछु’ भने ।

उनको भाइले मतिर हेर्यो । तर, मोटरसाइकलमा पछाडि बसिरहेकी केटी को हो भनेर सोध्न सकेन । म उनीसित भएर हो कि के हो, उनी घर गएनन् । मलाई मेला घुमाउन लगे ।

मेला घुम्दाघुम्दा भोक लागिसकेको थियो । मेलामा मासु, चिउरा, दही र रसभरी हामीले खायौँ । मेलामा गाउँका साथीहरू कोही भेटिएनन् ।

उनी दिनभर मसितै मेला घुमे । दिनभरि मसित बसेको देखेर मैले अनुमान लगाइसकेकी थिएँ, उनी अविवाहित होलान् सायद । तर, मैले सोध्न सकिनँ ।

रात परिसकेको थियो । बिहे भएको भए आफ्नी स्वास्नीलाई छोडेर मसित किन बस्थे ? त्यो पनि मेलाको दिन !

एकैदिनमा उनी धेरै नै हेरविचार गर्ने मान्छे लागे । उनको व्यवहार मलाई सारै मन पर्यो । मलाई उनीसित प्रेम बसेजस्तो अनुभव हुन थाल्यो । म आतुर हुन थालेकी थिएँ, उनको सामीप्य पाउन ।

लाग्थ्यो, उनी मेरै छेउमा बसिरहून् । मेरै वरिपरि घुमिरहून् । मेरो आँखाअगाडिबाट उनी ओझेल नहून् भन्ने लाग्न थाल्यो । म उनलाई जीवनसाथी बनाउने सपना देख्न थालेँ, एक दिनकै भेटमा ।

मेलाबाट फर्किने बेला धेरै सहास बटुलेर मैले उनको घाँटीमा पछाडिबाट म्वाइँ खाएँ । उनी मलाई मेरो घर पुर्याउन आउँदै थिए । हामीले आधा बाटो कटिसकेका थियौँ ।

मैले चुमेको देखेर उनले मोटरसाइकल रोके । चारैतिर हेरे । लामो सास ताने । जुनेली रातमा गहुँ लागेका खेतहरू उज्यालो देखिएको थियो, गहुँ पाकेर । उनले मलाई भने, ‘गहौम खेतमा गइहाल्ने ?’

मैले लजाउँदै सोधेँ, ‘किन नि ? अनि, हजुर विवाहित कि अविवाहित हो ?’

‘अविवाहित हुँ ।’

‘किन गइहाल्ने गहुँ खेतमा ?,’ मैले बुझेर पनि नबुझेझैँ सोधेँ ।

‘चल्, हिँडिहाल् । मलाई गारो भइरहेछ,’ उनले भने ।

‘के गारो भइरहेछ ?,’ मैले फेरि नबुझेझैँ गरेँ ।

‘धेरै नबुझ् । मैले सबै थाहा पाइरहेछु,’ उनले भने ।

उनी अविवाहित सुनेर म खुसी थिएँ । नाइँ भनेर मैले बहाना बनाएँ । उनले मेरो हात समातेर मलाई मोटरसाइकलबाट ताने । मैले पनि त्यही लाडप्यार खोजेकी थिएँ । उनले मलाई तानेर गहुँ खेतमा लगे ।

हामीबीच शारीरिक सम्बन्ध भयो । त्यही सम्बन्ध, जुन सम्बन्धमा कुनै विरोध थिएन ।

घर फर्किंदा रात पर्यो । उनले मलाई मेरो आँगनसम्मै छोडेर फर्किए ।

म खुसी थिएँ । उनी प्रत्येक दिन मेरो कुखुरा फार्ममा कुखुरा लिन आउँथे । म उनलाई हेर्ने र भेट्ने बहानाले कुखुरा फार्म सधैँ गएको हुन्थेँ । उनी मेरो सास बनिसकेका थिए । उनलाई एक दिन नदेखे मेरो सास कतै अड्किएर निसासिएजस्तो लाग्थ्यो । उनको एक झलक देखे दिनै रमाइलो हुन्थ्यो ।

तर, बाआमा त्यही हुन्थे । त्यही भएर हामीबीच धेरै कुरा हुन पाउँदैनथ्यो ।

मेरो बिहेको चर्चा एक वर्षअगाडिदेखि चल्दै थियो । तर, बाआमाको रोजाइको केटो नपाएर मेरो बिहे भएको थिएन । त्यति बेला मेरो जीवनमा उनी आएका थिएनन् । म उनको प्रेममा परेकी थिइनँ ।

अब फेरि घरमा मेरो बिहेको कुरा चल्दै थियो । यतिखेर म उनको प्रेममा पागल थिएँ भन्ने कुरा बाआमालाई थाहा थिएन । बिहेको कुरा बाआमाले चलाउँदा मैले उहाँहरूलाई भनेँ, ‘हाम्रो फार्ममा कुखुरा लिन आउने थेपाको प्रेममा छु म ।’

‘कति भयो ?’

‘६ मैह्ना ।’

भोलिपल्ट थेपा कुखुरा लिन आउँदा बाले, ‘म भोलि तपाईंको घर आउँछु बौवा, वियाहको कुरा गरिहाल्नुपर्नेछ, तपाईंको बामासँग’ भन्नुभयो ।

उनी हाँसे र भने, ‘अहिले किन हतार गरिहाल्नुभएको ? पछि गरिहाल्छु नि वियाह ।’

त्यस दिनदेखि उनी हराए । कुखुरा लिन आउँदै आएनन् । एक हप्ता भइसकेको थियो, उनी आएका थिएनन् । उनलाई नदेखेर मेरा दिन तनावग्रस्त बितिरहेका थिए ।

कुनै उपाय नदेखेपछि मैले बालाई खुलेरै भने, ‘बाबु, म थेपाबेगर बाँच्न सकिहाल्छु जस्तो लाग्दैन ।’

मेरो कुरा सुनेर बा केही बोलेनन् । भोलिपल्ट बिहानै नयाँ कमिज, सेतो धोती र कमिजमाथि घाँटीमा रातो गम्छा बेरेर निस्किए । मेरो बिहेको कुरा गर्नलाई बा खुसी हुँदै उनको गाउँ गए ।

बाले उनको घर देखेका थिएनन् । सोध्दै उनको घर जान सक्थे । तर, बालाई अप्ठ्यारो लाग्यो । बा सिधैँ उनको घर गएनन् । हाम्रो छिमेकीको आफन्त त्यही गाउँमा थिए । छिमेकीको आफन्तकहाँ गए बा ।

बाले छिमेकीका आफन्तलाई थेपाका बाआमा र थेपालाई बोलाइदिन आग्रह गरे । थेपाका बाआमासित थेपा र आफ्नी छोरीको बिहेको कुरा गर्न आएको समेत उनले बताए ।

बाको कुरा सुनेर आफन्त आश्चर्यचकित भए । आफन्तले थेपाको विवाह दुई वर्षअगाडि नै भइसकेको बताए । तिनका कुरा सुनेर बा निराश भए । अनि, रित्तो हात घर फर्किएँ ।

तर, बाले आफन्तलाई म थेपाको प्रेममा परेको भने बताएनछन् ।

घर फर्केपछि बाले मलाई सबै कुरा बताए । कुरा सुनेर मलाई विश्वास गर्न गारो भयो । म रुन पनि सकिनँ । हाँस्न पनि सकिनँ । उनीसँग शारीरिक सम्बन्ध राखेको बाआमालाई बताउन सकिनँ । मेरो जिउज्यान गल्यो । बाको कुरा सुनेर म ऊर्जाविहीन भएँ ।

तर, हिम्मत भने हारिनँ । यो दुईजनाको सहमतिमा सम्बन्ध स्थापित भएको थियो, जुन मलाई सामान्य लाग्यो । तर, उनले विवाहित भएर पनि अविवाहित हुँ भनेर ढाँटेकाले मलाई उनीदेखि घृणा लाग्यो । उनका स्पर्शहरू मलाई बलाकारझैँ लाग्यो ।

मैले उनलाई प्रेम गरेँ, तर उनले मलाई बलात्कार गरे । उनीबाट बलात्कृत भएको अनुभव गरेँ । अब कसलाई उजुरी गरूँ ? कहाँ जाऊँ ? के गरूँ ? म दोधारमा थिएँ । कसलाई आफ्नो पीडा सुनाऊँ ?

उनको जालोमा फसेर इज्जत गुमाएको अनुभव भयो । मेरो इज्जत उनले बर्बाद गरे । तर, मैले प्रहरी थानामा उनीविरुद्ध उजुरी नदिने सोच बनाएँ । उनले जसरी मलाई स्पर्श गरेका थिए, त्योभन्दा पिपासु, कामुक र घृणाले भरिएको स्पर्शसहित बलात्कार गर्ने सोच बनाएँ । उनलाई लागोस्, म उनलाई प्रेम गर्दै छु भन्ने । तर, मलाई लागोस्, म बलात्कार गर्दै छु ।

म उनको बाटो हेरिरहेकी हुन्थेँ । प्रेमले होइन, कलुषित भावले उनलाई पर्खिरहेकी हुन्थेँ । एक महिनापछि उनी अचानक कुखुरा फार्ममा देखापरे ।

उनलाई देखेर बा आक्रोशित भए, तर आमाबालाई केही नभन्नुस् भनेर इसारा गरेँ । मैले पहिलेजस्तै सामान्य भएर कुरा गरेँ ।

उनलाई भनेँ, ‘काहाँ हराइहाल्नुभएथ्यो ?’

‘म बिमार थिएँ,’ उनले बहाना बनाउँदै भने ।

उनको कुरा सुनेर मैले तलदेखि माथि हेरेँ । उनलाई जस्ताको त्यस्तै हट्टाकट्टा देखेँ ।

‘हजुरलाई भेट्न नपाएर म बहुलाइगएछु,’ मैले भनेँ ।

‘म पनि बहुलाइहालेछु तँलाई नभेटेर !,’ उनले आँखा झिम्काउँदै जवाफ फर्काएँ ।

‘भोलि आँप खान मेरो घर आइहाल्नुस् न, बसेर कुरा गरौँला,’ मैले फकाउँदै भनेँ ।

‘कति बजे ?,’ सोधे ।

‘यस्तै बेलुकी ४ बजे । तर, मोटरसाइकल नलिईकन आइहाल्नुस् ल । मोटरसाइकलको आवाजले मेरो घरमा हजुर आएको छिमेकीहरूले थाहा पाइहाल्छन् ।’

‘म सिटी रिक्सा चढेर आइहाल्छु,’ उनले समय पक्का गर्दै भने ।

आँप खाने बहाना बनाएर आफ्नो घर बोलाएँ । उनलाई कामुक स्पर्शले बलात्कार गरेँ । तर, शारीरिक सम्बन्ध राखिनँ । मलाई अरूको लोग्नेमा कुनै रुचि थिएन । उनका बारेमा अब त सोच्दा पनि घिन मात्रै लाग्छ ।

उनलाई मेरो मनमा नल्याउने, उनका बारेमा नसोच्ने भन्ने कति प्रयास गर्छु । तैपनि, गन्हाएको, सडेगलेको, खिया लागेको उनका यादहरू बेलाबेला मेरो मन, मस्तिष्कमा आइरहन्छ ।

एक महिना बितिसकेको छ । उनी मेरो कुखुरा फार्ममा आएका छैनन् । उनलाई नदेखेर म खुसी छु । जीवनमा कहिले पनि उनको अनुहार देख्न नपरोस् ।

उनको गाउँमा बस्ने छिमेकीका आफन्तले मेरो गाउँ आउँदा सुनाउँदै थिए, ‘मेरो गाउँको केटो थेपा एक महिनाअगाडि ३ बजे दिउँसो नयाँ कमिज र लुंगी लगाएर गाउँबाट निस्केको थियो, त्यसपछि फर्केकै छैन । गाउँको एकजनाले गाउँबाहिरको खेतमा राति नांगै थेपालाई देखेको थियो रे ! कहाँ गयो, के भयो, ऊ कसरी त्यस्तो अवस्थामा पुग्यो, कसैलाई केही थाहा छैन । उसकी स्वास्नीले ऊ हराएको प्रहरीमा उजुरी गरेकी छे, तर केही पत्तो लागेको छैन ।’

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro