site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी सरकारमा जान तयार, मन्त्रालयको भागबन्डा मिल्न बाँकी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने तयारी गरेको छ । सत्ता गठबन्धनका दलहरूको निरन्तरको प्रयासपछि एकीकृत समाजवादी सरकारमा जान तयार भएको हो ।

तर, मन्त्रालय भागबन्डाको विषयमा सहमति भइसकेको छैन । त्यसका लागि पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।

आज बसेको सचिवालय बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन आफूहरूले विभिन्न सर्त राखेको दाबी गरे । तर, मूल विषय मन्त्रालयको भागबन्डा नै रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

उनका अनुसार पार्टीले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ ।

खतिवडाले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र र‍ोजगारी सिर्जना गर्ने विषयमा गठबन्धसँग छलफल हुने बताए । यसैगरी, राष्ट्र हितको रक्षा र सम्बर्द्धन गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्ने विषयमा पनि आफूहरूका सर्तहरू रहेको उनको भनाइ छ ।

यस्तै, महँगी नियन्त्रणलगायत जनताको समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने विषयमा सरकार सकारात्मक भए आफूहरू सरकारमा जान तयार रहेको उनको भनाइ छ ।

गएको सोमबार मात्र नयाँ गठबन्धन बनेको थियो । त्यही दिन प्रधानमन्त्री नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । मंगलबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू नेपाललाई भेट्न बालकोट पुगेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro