site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले भने– टिकट पाइनँ भनेर अन्तर्घात नगरौँ, अबको चुनावमा बहुमत आउँछ

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट नपाएको झोकमा अन्तर्घात गर्न नहुने बताएका छन् । टिकटमा चुनावका आकांक्षी थुप्रै हुने तर एउटाले मात्र पाउने हुँदा टिकट नपाउनेहरूले अन्तर्घात गर्न नहुने बताएका हुन् ।

सोमबार नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले टिकटको आकांक्षीहरू धेरै हुने तर समावेशीसहितका पदहरूमा भाग लगाउँदा आशा गरेका थोरैले मात्रै टिकट पाउने अवस्था हुने बताए । 

उनले अवसर नपाएकालाई अवसर दिने र नीति सिद्धान्तमा रहेर काम गरेकालाई सम्मान गर्ने पनि बताए । देउवाले 'कांग्रेसीहरू इमान्दार भइदिने हो भने अबको निर्वाचनमा नेपाली कांग्रेस करिब बहुमतको नजिक पुग्ने' जिकिर पनि गरे । 

“हामी इमानदार हुँदै आपसी एक भएमा करिब बहुमत आउँछ । आज टिकट नपाएकाहरूले भोलि पाइन्छ । पार्टीभित्र एक हुनुको विकल्प नै छैन,” उनले भने, “टिकट नपाएको विषयमा पार्टीभित्र पछि कुरा गर्ने हो । अहिले त पार्टीलाई मजबुत बनाउनपर्छ ।  पार्टीको हितका लागि पार्टीले दिएको निर्णय मान्नुपर्ने हुन्छ ।”

पार्टीमा टिकट नपाएकाहरूलाई व्यवस्थापन गर्ने अरू धेरै ठाउँ हुने भन्दै उनले आगामी निर्वाचनमा फेरि नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने अवस्था आएको दाबी गरे । 

सम्मेलनमा पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले संविधानमा ‘धर्म निरपेक्ष’ हटाउनुपर्ने बताए ।

“धर्म निरपेक्ष भनेर त लेखियो तर धर्म न निरपेक्ष हुन्छ न त सापेक्ष हुन्छ । यो त स्वतन्त्र हुन्छ । निरपेक्ष हुन्छ भन्नुको अर्थ नकारात्मक हो त्यसैले धर्म निरपेक्ष भन्ने हटाउनुपर्छ,” कोइरालाले भने, “नेपाली कांग्रेस आफैँमा बलियो छ । तर आपसमा मिल्न सकेको छैन । कांग्रेसलाई हराउने कांग्रेसले नै हो अरूमा त्यो शक्ति नै छैन ।”

सम्मेलनमा नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ग्रामीण अर्थतन्त्र चलायमान बनाएर स्वरोजगार बनाउने तथा युवाहरू गाउँमै अडिने वातावरण नबनाए तराईको ओभरलोड खेप्न नसकिने बताए ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सापेक्षित रुपमा अपडेट नभएको बताए ।

“राम नीतिमा चलेका कारण भगवान् भए, अनि हामी नीतिमा नचलेपछि के हुने ? तर नीति अनुसार हुनुपर्छ भन्ने मान्छे खै ? चुनावमा जाँदा पनि विरोध, गठबन्धन गर्दा पनि विरोध अनि यसरी मुलुक बन्छ ?” उनले प्रश्न गरे ।

अर्का केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गठबन्धनको विरोधमा बोल्ने कांग्रेसका कार्यकर्ताहरूप्रति संकेत गर्दै ‘आफ्नो घर भत्किएपछि छिमेकीकोमा जानुपर्ने’ बताए ।

“कांग्रेसले कांग्रेसलाई भोट नहाल्ने अनि फेरि गठबन्धनको विरोध किन गर्ने ? देउवाको रणनीतिका कारण मात्रै हामी अहिलेको अवस्थामा आएका हौँ, आफ्नो घर भत्किसकेपछि छिमेकीको घरमा आश्रय चाहियो त्यसका लागि गठबन्धन भयो । ‘सक्किने कि सच्चिने ?” उनले बताए ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro