site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उमेदवारी (सूचीसहित) 

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारी दर्ता गरिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गराइएको हो ।

उन्नाइस पदका लागि ५२ जनाले उमेदवारी दर्ता गराएका छन् । 

कोसी प्रदेश

कोसी प्रदेशमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । यहाँ दुई सिटका लागि चुनाव हुने छ । 

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उमेदवारी दिएका छन् । गठबन्धनबाटै महिलामा नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीले उमेदवारी दिएकी छन् ।

नेकपा (एमाले)को तर्फबाट अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उमेदवारी दिएकी छन् ।

त्यस्तै, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकजना उमेदवार उठाएको छ । पुरुषतर्फ उद्धव पौडेल उमेदवार बनेका हुन् ।

मधेस प्रदेश

मधेस प्रदेशमा पाँचजनाको उमेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनबाट अन्यमा आनन्द ढुंगानाले उमेदवारी दिएका छन् । त्यस्तै, महिलातर्फ जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरीले उमेदवारी दर्ता गराएकी छन् ।

एमालेबाट महिलामा पर्साकी उसादेवी थरुनीले उमेदवारी दर्ता गराइन् । एमालेले अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुतलाई उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनको नाम मतदाता नामावलीमा नभेटिएछि विजेता झालाई उमेदवार बनाएको छ ।

जनमत पार्टीले मधेसमा शंकर महासेठलाई उमेदवार बनाएको छ । सत्ता गठबन्धनमा आबद्ध दलले गठबन्धनमा सिट नपाएपछि छुट्टै उमेदवारी दिएको हो ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा १५ जनाको उमेदवारी दर्ता भएको छ । चार पदका लागि हुन लागेको चुनावमा १६ जनाको उमेदवारी परेको हो ।

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका जीतजंग बस्नेतले उमेदवारी दिएका छन् । त्यस्तै, महिलामा कांग्रेसकै विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराइन् । अपांगता/अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का श्रीराम अधिकारीले उमेदवारी दिएका छन् ।

त्यसैगरी, गठबन्धनकै साझा उमेदवारको रूपमा दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालले उमेदवारी दिएका छन् ।

यहाँ नेकपा (एमाले)ले महिलातर्फ रोचकुमारी चौलागाईं, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल र अपांगता/अल्पसंख्यकतर्फ विवके देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मालाई उमेदवार बनाएको छ ।

राप्रपाले पनि उमेदवारी दिएको छ । राप्रपाले वाग्मती प्रदेशको अपांगतर्फ भरतमणि भट्ट, महिलातर्फ बालकुमारी डल्लाकोटीलाई उमेदवार बनाएको छ । अन्यतर्फ हेमजंग गुरुङको उमेदवारी दर्ता भएको छ ।

वाग्मती प्रदेशमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ ।

जसअन्तर्गत अपांगता/अल्पसंख्यकतर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलिततर्फ संगीता नेपालीलाई उमेदवार बनाएको छ । महिलातर्फ कृष्णलक्ष्मी दुबालको मनोनयन दर्ता भएको छ । 

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आठजनाको उमेदवारी परेको छ । यस प्रदेशमा तीन पदमा हुने चुनावका लागि उमेदवारी परेको हो ।

जसअनुसार सत्ता गठबन्धनको तर्फबाट अन्यमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, अल्पसंख्यक/अपांगतामा पदमबहादुर परियारले उमेदवारी दिएका छन् । महिला समूहतर्फ माओवादी केन्द्रकी मनरूपा शर्माले उमेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

एमालेबाट महिलामा सम्झना देवकोटा अन्यतर्फ चक्रबहादुर पराजुली र अपांगता/अल्पसंख्यकतर्फ हेमचन्द्र शेरचनले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, राप्रपाले पनि यहाँ उमेदवारी दिएको छ । अन्यतर्फ रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा सातजनाको उमेदवारी परेको छ ।  सत्ता गठबन्धनको तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी सापकोटाले उमेदवारी दिएकी छन् । गठबन्धनकै तर्फबाट अन्यमा माओवादीका झक्कु सुवेदीको उमेदवारी दर्ता भएको छ ।

एमालेबाट महिलातर्फ तुलसाकुमारी केसी  र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री उमेदवार बनेका छन् ।

राप्रपाले अन्यमा निरन्जन थापा र महिलामा विजया लक्ष्मी शाहीलाई उमेदवार बनाएको छ । 

यहाँ जनमत पार्टीले उमेदवार उठाएको छ । सत्ता गठबन्धनमा रहेको जनमतले बालगोबिन्द चौधरीलाई उमेदवार बनाएको छ । 

कर्णाली प्रदेश

कर्णालीमा ६ जनाको उमेदवारी परेको छ । 

सत्ता गठबन्धनबाट अन्यमा कांग्रेसका कृष्णबहादुर रोकायाको उमेदवारी परेको छ । महिलामा एकीकृत समाजवादीकी सावित्रा मल्ल दलिततर्फ माओवादीका विष्णु विश्वकर्माले उमेदवारी दिएका छन् । 

एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत बिकलाई उमेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा ६ जनाले उमेदवारी दिएका छन् ।  गठबन्धनको तर्फबाट अन्यमा कांग्रेसका बलदेव बोहोरा, अपांगता/अल्पसंख्यकमा नारायणदत्त भट्टको उमेदवारी परेको छ । महिलातर्फ माओवादीकी रेणु चन्दको उमेदवारी परेको छ ।

त्यस्तै, एमालेबाट सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपांगता/अल्पसंख्यकतर्फ रामचन्द्र जोशी उमेदवार बनेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro