site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर कोइरालाको प्रश्न– सबै अधिकार केन्द्रमा राखेर कसरी संघीयताको अनुभुति हुन्छ ?
फाइल तस्बिर ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, समाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए ।

उनले भने, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छौँ तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।”

'देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ ?' भन्ने कुरामा पुग्न नसकेको नेता कोइरालाको भनाइ छ ।

नेता कोइरालाले भने, “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएको भनेका छौँ । संघीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”

संघीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उनको भनाइ छ । संघीयता आयो तर अधिकारविहीन संघीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाइ छ ।

'सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी संघीयताको अनुभुति हुन्छ ?' भनी प्रश्न गर्दै नेता कोइरालाले अधिकारसहितको संघीयता लागू गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताए । विसं २०८४ का लागि लिएको मिसन (लक्ष्य) लाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उनले जोड दिए । विसं २०८४ को निर्वाचना कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले बताए ।

पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro