site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमा वैज्ञानिकले पहिले सोचेभन्दा चार करोड वर्ष पुरानो

काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमा पहिले सोचेभन्दा पुरानो भएको नयाँ निष्कर्ष निकालेका छन् ।

आजभन्दा करिब ५० वर्षअघि अपोलो मिसनका बेला मानिसले चन्द्रमाबाट ल्याएको ढुंगा–माटोको अध्ययनबाट वैज्ञानिकले चन्द्रमाको नयाँ उमेर निकालेका हुन् ।

चन्द्रमाबाट ल्याइएका स–साना चट्टान भित्रका क्रिस्टलको विश्लेषण गर्दै वैज्ञानिकले चन्द्रमा पहिलो सोचेभन्दा चार करोड वर्ष पुरानो भएको बताएका हुन् ।

यो विश्लेषणबाट चन्द्रमा चार अर्ब ४६ करोड वर्ष पुरानो देखिएको छ । यस्तै, सौर्य मण्डलको सुरुवात भएको ११ करोड वर्षपछि चन्द्रमाको निमार्ण भएको नयाँ निष्कर्ष वैज्ञानिकले निकालेका हुन् ।

यसअघि चन्द्रमा चार अर्ब ४२ करोड ५० लाख वर्षअघि बनेको वैज्ञानिकहरूको निष्कर्ष थियो ।

सन् १९७२ को डिसेम्बर ११ मा अपोलो अन्तर्गतको अन्तिम मिसनबाट अन्तरिक्षयात्री यूजीन सेर्नन र ह्यारिसन स्मिटले चन्द्रमामा अवतरण गरेका थिए । त्यहाँबाट उनीहरू ११० किलो ढुंगा र माटो लिएर पृथ्वीमा फर्किएका थिए ।

अत्यन्तै सुक्ष्म स्तरमा वस्तुको संरचना हेर्ने एटम प्रोब टोमोग्राफी प्रविधिको प्रयोगबाट जिरकोन क्रिस्टलको विश्लेषण गरेर चन्द्रमाको नयाँ उमेर पत्ता लगाइएको हो ।

निकै कठोर वातावरणीय स्थिति पनि सहनसक्ने हुँदा पृथ्वी र चन्द्रमामा पाइने सबै पुरानो खनिज जिरकोन क्रिस्टल हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro