site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई समाजवाद चाहिँदैन, माओवाद नछोडेसम्म माओवादीसँग आस गर्न सकिँदैन : भुसाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले आफ्नो पार्टीसँग मात्र देश बनाउने एजेन्डा रहेको जिकिर गरेका छन् ।

एकीकृत समाजवादीको जागरण अभियानका क्रममा मंगलबार दाङमा आयोजित एक कार्यक्रममा उनले नेपालका अरू राजनीतिक पार्टीमा देश बनाउने एजेन्डा नै नरहेको टिप्पणी गरे ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसद् चल्न नदिने र सत्तामा जाने दाउमा मात्र सीमित रहेको आरोप लगाए ।

“कोसँग एजेन्डा छ ? ओलीजी संसद् चल्न नदिने, गडबडी पैदा गरेर फेरि सरकारमा कसरी जान सकिन्छ भनेर दिनरात लागेका छन् । अब त्योभन्दा बढी जिन्दगीमा केही गर्दैनन्,” भुुसालको आरोप छ, “तिनले जहिलेसम्म एमालेको नेतृत्व गर्नेछन्, त्यो नेकपा (एमाले)लाई नरकतर्फ लतार्नेछन् । दक्षिणपन्थतर्फ लतार्नेछन् । सत्तालिप्साको वरिपरि लैजानेछन् ।”

उनले नेपाली कांग्रेसका निम्ति समाजवाद आइसकेको भन्दै कटाक्ष गरे । “कांग्रेसलाई समाजवाद आइसक्यो । उसलाई अब केही चाहिँदैन । १८ वर्षकाले भोट दिने हो, बजारले राज गर्ने हो । विकास उद्योगपति, पुँजीपतिले गर्छ । उसको सिद्धान्त नै त्यही हो,” उनले भने, “त्यसमा इमानदार छ । उसले समाजवाद ल्याएर देखाउँछौँ भनेको छैन । शेरबहादुर देउवाले भनेको सुन्नुभएको छ ? अरू नेताले भनेको सुन्नुभएको छ ?”

नेकपा (माओवादी केन्द्र)ले माओवाद नत्यागेसम्म आस गर्न नसकिने उनको भनाइ छ । “माओवादी क्रान्तिको ठूलै कुरा गरेर आएको हो । उसका विरासतका कारणले, खास गरी सैद्धान्तका कारणले,” उनले भने, “हामीले समृद्ध र समाजवादी नेपाल बनाउनुपर्नेछ । उसले जनवादी क्रान्तिको माओवादी सिद्धान्त बोकेर हिँडेको छ । जहिलेसम्म माओवाद छोड्दैन, तबसम्म माओवादीबाट आस गर्ने ठाउँ पनि छैन ।”

उनले लोकतान्त्रिक गणतन्त्रमा पनि जनताले नयाँ जिन्दगी पाउन नसकेको बताए । जताततै उकुसमुकुुस भइरहेको उनले उल्लेख गरे । यस्तो बेलामा एकीकृत समाजवादी नै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपाली नागरिकका छोराछोरीले काम नपाउँदासम्म उँभो लाग्न नसकिने भुसालले बताए । अबका १० वर्षको वरिपरिमा गरिबी, बेरोजगारी उन्मूलन गर्ने योजनाका साथ एकीकृत समाजवादी अगाडि उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro