site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ठूलठूला बदमासीहरूलाई सजाय दिने कानुनको अभाव छ : मन्त्री रिजाल
फाइल तस्बिर ।

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रालयसँग ठूलठूला बदमासीहरूलाई सजाय दिने कानुनको अभाव भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले मन्त्रालयलाई तीन लाख बढी सजाय गर्ने अधिकार नभएको जानकारी दिए ।

“हामीसँग कानुनी सजाय दिने अधिकार धेरै छैन । कानुनमा परिमार्जन गर्नुपर्ने जरुरी हामीले देखेका छौँ,” मन्त्री रिजालले भने, “ठूलठूला बदमासहरूले ठूलठूला अपराध गरिरहेका हुन्छन् तर तीन लाखभन्दा बढी सजाय गर्न सकिदैन ।”

उनले सजाय गर्दा पनि त्यसवापत राजस्व उठाउने कानुनी समस्या भएको बताए ।

“उसले आएर पैसा दिए त ठिकै हो तर, दिएन भने पैसा असुल उपर गर्ने मेकानिज पनि विकास भएको छैन,” उनले भने, “कानुनको अभावमा धेरै कुरा हाम्रो नियन्त्रण बाहिर छ ।”

मन्त्री रिजालले उपभोक्ताले पनि भ्याट बिल नलिँदा आफैँ ठगिने गरेको बताए । मन्त्री हुनुपूर्व आफ्नो बानी पनि आम सर्वसाधारण जनताको जस्तै भएको स्मरण गर्दै उनले बिलमार्फत कालोबजारी गर्नेलाई समात्न सकिने जानकारी दिए ।

बैठकमा सांसदहरूले ग्यास सिलिण्डर बजारमा तीन थरी देखिएको भन्दै प्रश्न उठाएका थिए । अन्तर्राष्ट्रिय मापदण्ड पनि २० किलो भन्दा बढीको ग्यास राख्न नपाइने भन्दै सांसदहरूले ४५० किलो सिलिण्डर कहाँबाट आयो भन्दै प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्री रिजालले उद्योग, होटेल र घरेलु प्रयोगमा फरक फरक सिलिण्डर राख्न सके सजिलो हुने कुरा अघि सारे । उनले ग्यासको मूल्य बढाउनु परे उद्योगीहरूलाई बढाएर घरेलु उपभोक्ताहरूलाई सहुलियत दिन सक्ने विषय उठान गरे ।

विस्कुट, चकलेट उद्योगीहरूले ४५० किलोको सिलिण्डर राखे ठाउँ कम पर्ने र लिकेज भए थाहा पाउन सकिन्छ भनेर मन्त्रालयमा र आफूलाई जानकारी गराएको पनि उनले बैठकमा स्पष्ट पारे ।

“यसरी होमवर्क गर भनेर साथीहरूलाई मैले भनेको हो । मैले आयल निगमलाई अध्ययन गर्न भनेको छु । तर, तपाईंहरूले जे आदेश दिनुहुन्छ मलाई कुनै आपत्ति छैन,” मन्त्री रिजालले भने ।

मन्त्री रिजालले चिनीको सस्तो बजार भारत भएपनि त्यहाँ उत्पादन कम भएकाले नेपालमा चिनी अभाव भएको बताए ।

“यसपाली उनीहरूको उत्पादन कम भएर निर्यात रोक्यो । पछि उसले आवश्कता पर्छ भने पत्र लेख्नुहोस् हामी चिनी दिन्छौँ भन्यो । त्यसको आधारमा हामीले चामल कम र चिनी बढी आयात गर्नेगरी पत्र लेख्यौं । ५० हजार टन चिनीका लागि पत्र लेख्यौं,” उनले भने, “अन्तिम समयसम्म आश्वासन दियो । तर, अहिले १० हजार दिने कोसिस गर्छौं तर दिने ग्यारेन्टी छैन भनेको छ ।”

मन्त्री रिजालले चाडपर्वको समयमा चिनी अभाव हुन नदिने प्रतिवद्धता बैठकमा जनाए ।

“अरू हिसाबले कोकाकोला पेप्सीहरूले किनेर राखेका छन् । हामीले पैचौं देउ उत्पादन सुरु भएपछि तिर्छौं भनेका छौँ । बजारमा चिनीको अभाव हुन दिदैनौं,” मन्त्री रिजालले भने ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro