site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी नेता दीपशिखाले दक्षिण कोरिया छोड्न नपाउने, भएको के हो ? 

काठमाडौं । दक्षिण कोरियाले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई नेपाल फर्कन रोकेको छ । कोरियाको भन्सार कार्यालयले अर्को निर्णय नहुन्जेसम्मका लागि उनलाई नेपाल फर्कन रोकेको हो । 

कोरीयाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले सिफारिसबिना औषधि लगेको भेटिएपछि भन्सार कार्यालयले उनलाई अनुसन्धानका लागि भन्दै नेपाल फर्कन नदिएको हो । 

“भन्सारको भेरिफिकेसन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केही पनि होइन,” दीपशिखाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

दीपशिखा गत साउन २५ गते (अगस्ट १० तारिख) नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी कोरिया आउने थाहा भएपछि दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि सेवन गरिरहेको औषधि मगाएकी थिइन् । कोरिया जाँदा उनले साथमा राजदूतले मगाएको औषधि लिएर गएका थिए ।

तर, इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन पार गरिसकेपछि उनलाई भन्सारका अधिकारीले औषधिका विषयमा सोधपुछ गरेका थिए । औषधि ल्याउनुको कारण बताउँदै दीपशिखाले चिकित्सकको सिफारिस ल्याउन भुलेको बताएपछि भन्सारका अधिकारीले उनीमाथि अनुसन्धान हुने जनाएका थिए । 

भन्सारका अधिकारीले अनुसन्धान नसकिएसम्म कोरिया छाड्न नपाउने र औषधिसँग सम्बन्धित आवश्यक कागजात बुझाउन भन्दै उनलाई छोडिदिएका थिए । 

“अन्जानमा डाक्टरको प्रेस्क्रिप्सन मसँग नभएकाले कोरियन सरकारको भन्सारले प्रेस्क्रिप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकाले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ,” दीपशिखाले भनेका छन् ।

नियतवश कुनै कमजोरी नगरेकाले चाँडै आफू नेपाल फर्कने उनको विश्वास छ । 

दक्षिण कोरियास्थित नेपाली दूतावासले पनि राजदूतको अनुरोधमा औषधि ल्याउँदा प्रेसक्रिप्सन ल्याउन छुटेकाले दीपशिखा नेपाल फर्कन नपाएको मंगलबार एक प्रेस नोट जारी बताएको छ । 

“भन्सार अधिकारीहरूको मागबमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको बेहोरा जानकारी गराइएको छ,” दूतावासले भनेको छ । 

दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले दीपशिखालाई छिटो नेपाल फर्काउने वातावरण बनाउन कोरियाको परराष्ट्र मन्त्रालयमार्फत पनि अनुरोध गरिएको बाह्रखरीलाई बताए । 

भन्सार कार्यालयको अनुसन्धानले दीपशिखालाई निर्दोष किटान गरेपछि उनी नेपाल फर्कन पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro