site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको कार्यकारी प्रमुख लगातार १५ दिन देश बाहिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार १५ दिन देश बाहिर रहने भएका छन् ।  उनको अनुपस्थितिमा १५ दिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीन भ्रमणका क्रममा लगातार १५ दिन देश बाहिर रहने छन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री प्रचण्ड भदौ ३० गतेदेखि असोज १३ गतेसम्म नेपाल बाहिर रहने भएका हुन् । देशको कार्यकारी प्रमुख यति लामो समय लगातार देश बाहिर कमै मात्र रहन्छन् । 

उनी उक्त समय अमेरिकाको न्यूयोर्क र चीनमा रहने छन् । न्यूयोर्कबाट सीधै चीन भ्रमणमा जाने भएकोले उनी लामो समय देश बाहिर रहनु परेको हो । 

महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गरिसकेका छन् ।  उनले असोज ४ गते राष्ट्रसंघलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाको दौरान आयोजना हुने अन्य उच्चस्तरीय बैठकमा पनि उनी सहभागी हुनेछन् । 

असोज १ र २ गते आयोजना हुने दिगो विकासका लागि उच्च राजनीतिक मञ्चको सम्मेलनमा उनले अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्रको हैसियतमा सम्बोधन गर्नेछन् ।

राष्ट्रसंघको ७८औँ महासभाको साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत विभिन्न राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार प्रतिनिधिसभालाई जानकारी गराएका थिए । 

यसैबीच असोज २ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनलले आयोजना गर्ने जलपान कार्यक्रममा समेत उनी सहभागी हुनेछन् ।

राष्ट्रसंघको महासभामा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणका लागि न्यूयोर्कबाट सिधै हाङजाउ प्रस्थान गर्नेछन् । उनको चीन भ्रमण असोज ६ देखि १३ गतेसम्म रहेको छ । उनले आठ दिन चीनमा बिताउने छन् । 

प्रधानमन्त्री प्रचण्डले  प्रतिनिधिसभामा भनेका थिए, “संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो ।” 

नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डले गर्न लागेको यो तेस्रो चीन भ्रमण हो । हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनी १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । 

त्यस्तै असोज ८ गते बेइजिङमा समकक्षी महामहिम लि छियाङ्सँग प्रधानमन्त्री प्रचण्डको भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।

त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

छोङछिङको भ्रमणपश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम प्रधानमन्त्री प्रचण्डको रहेको छ ।

प्रधानमन्त्रीको छोरी मोह 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका भ्रमणमा छोरी गंगा दाहाललाई सहभागी गराएका छन् । 

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको  न्यूयोर्क जाने नेपाली प्रतिनिधिमण्डल ठूलो भएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा भ्रमण दलका सदस्य घटाइएको थियो । 

सुरुमा न्यूयोर्क जाने नेपाली प्रतिनिधिमण्डलमा करिब ३० जना रहेका थिए । आलोचना भएपछि फजुल खर्च कम गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले दुई पटक गरी न्यूयोर्क जाने प्रतिनिधिमण्डल छाँटेका थिए । उनले यसबारे शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि बोलेका थिए । 

“भ्रमणको लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ,” उनले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भनेका थिए । 

प्रधानमन्त्री प्रचण्डले न्यूयोर्क जाने प्रतिनिधिमण्डलमा रहेका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नाम हटाउन लागेका थिए । अर्याल र वैरागीले न्यूयोर्कमा सम्बोधन गर्ने कार्यक्रम नरहेको भन्दै प्रतिनिधिमण्डलाई सानो र छरितो बनाउन उनीहरूको नाम हटाइएको थियो ।  

तर, प्रधानमन्त्री प्रचण्डले छोरी गंगा दाहालको नाम भने न्यूयोर्क जानेको सूचीबाट हटाएनन् । न्यूयोर्कस्थित नेपाली स्थायी नियोग स्रोतका अनुसार प्रधानमन्त्रीकी छोरी सहभागी हुने कार्यक्रम आइतबार दिउँसोसम्म बनेको थिएन । 

गत जेठमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्दा छोरी गंगा दाहाल पनि सँगै गएकी थिइन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro