
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गर्दै आएको छ ।
दलहरूबीच सहमति नजुटे पनि सचिवालयले भने हरेक दिन पुरानै कार्यसूची निकालेर बैठक बोलाउँदै आएको छ ।
सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
साउन १० गतेपछि बोलाइएको संसद् बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले सूचना टाँसेर स्थगन भएको छ ।
सहमतिको हल्ला चलाएर संसद् स्थगित ! दोषारोपणमै छन् एमाले– माओवादी
साउन २३ गतेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दिएको जवाफ एमालेले चित्त बुझाएको छैन । एमालेको बटमलाइन उच्चस्तरीय छानबिन समिति बन्नु पर्नेछ । यो बीचमा सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल गरेका छन् ।
सदन खुलाउन भन्दै सभामुख देवराज घिमिरेले पनि दलका नेता र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । तर, सहमति निस्किएको छैन ।