site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेलाई नफकाई कोसी नाम संशोधन हुँदैन : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले नेकपा (एमाले)माथि आक्रमण र उपेक्षा गरेर कोसी प्रदेशको पुनः नामकरण असम्भव रहेको बताएका छन् ।

नाम नै फेर्नुपर्दा एमालेको साथ र समर्थनबिना सम्भव नहुने उनले स्पष्ट पारे । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएको तर उनीहरूले बेवास्ता गरेको मन्त्री राजभण्डारीको भनाइ छ ।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले भने, “हामीले समिति बनाएर पहिचानवादीलाई वार्तामा बोलायौँ । तर, उहाँले त्यसलाई बेवास्ता गर्दै उल्टै सांसददेखि नेताहरूलाई आक्रमण गर्ने कार्य गर्नुभयो । सरकार वार्ताद्वारा समस्या समाधान गर्न गम्भीर भएर समिति बनाएको हो ।”

नामकरणका बेला सबै दलले समर्थन जनाई कोसी प्रदेशमा मतदान गरेको उनले स्मरण गरे । अहिले कतिपय दलले दोहोरो चरित्र देखाएको उनको आरोप छ ।

“कोसी कार्यान्वयनमा लैजाने बेला समेत संसद्मा कसैले हुँदैन भन्नु भएन । अहिले कोसी लेखेको साइनबोर्ड मेट्ने र आक्रमण गर्ने काम भएको छ । सरकारले वार्ता टोली बनाएको छ । तर, ढुंगामुढा गरिरहँदा कसरी हुन्छ वार्ता ? वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हुन्छ ? पुनः नामकरण एमाले नभई संशोधन नहोला नि !,” उनले भने, “हामी भन्छौँ– असन्तुष्ट जाहेर गर्ने दुईजिब्रे कुरा नगरौँ । छलफल गरौँ, टुंगो लगाऔँ । यस्तै स्थिति भए वार्तामा टोली बनाएर आउनुहोस् । एमाले नफकाए नाम संशोधन हुँदैन, किनकि पुनः नामकरणका लागि पनि एमालेले मत नदिउन्जेल दुईतिहाइ पुग्दैन ।”

उनले सरकार अल्पमतमा परे पनि विश्वासको मत लिने समयसम्म अविछिन्न काम गर्न पाउने संविधानप्रदत्त अधिकार भएको बताए । आफूहरू संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अघि बढ्ने र ३० दिनभित्र विश्वासको मत लिने उनको भनाइ छ  ।

लामो संघर्षपछि प्राप्त गणतन्त्र र संघीय व्यवस्थाप्रति नै नकारात्मक धारणा बन्ने गरी आन्दोलन नगर्न उनले पहिचानवादीलाई सुझाव दिए ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro